पाकिस्तानी अलराउन्डर इमाद वसीमद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

पाकिस्तानी अलराउन्डर इमाद वसीमद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

एजेन्सी : पाकिस्तानका अलराउन्डर इमाद वसीमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा पोस्टमार्फत सन्यासको घोषणा गरेका बायाँ हाते स्पिनर र तल्लो क्रमका ब्याट्सम्यान इमादले ५५ एकदिवसीय र ६६ टी-२० खेल खेलेका छन्।

उनले पछिल्लो पटक यसै वर्ष अप्रिलमा न्यूजिल्याण्डविरुद्धको टी-२० खेलमा पाकिस्तानको प्रतिनिधित्व गरेका थिए।

इमादले एक्समा लेखेका छन्, ‘मैले आफ्नो अन्तर्राष्ट्रिय करियरको बारेमा धेरै सोचेर सन्यास घोषणा गर्ने निष्कर्षमा पुगेको छु। मलाई लाग्छ यो नै सही समय हो।’

३४ वर्षीय इमाद सन् २००६ मा पाकिस्तानको अन्डर-१९ विश्वकप विजेता टोलीको हिस्सा थिए र सन् २००८ मा अर्को संस्करणमा पाकिस्तानको नेतृत्व गरेका थिए।

उनले पाकिस्तानबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न सन् २०१५ सम्म कुर्नुपरेको थियो। उनले आफ्नो पहिलो खेल जिम्बावेविरुद्ध खेलेका थिए।

सन् २०१६ मा भएको टी-२० विश्वकपमा पाकिस्तानको प्रतिनिधित्व गरेका उनले २०१९ मा, नियमित कप्तान घाइते हुँदा दुबईमा अस्ट्रेलिया विरुद्ध दुई एकदिवसीय खेलमा पाकिस्तानको कप्तानी पनि गरेका थिए।

इमादले एकदिवसीय क्रिकेटमा ४४ विकेट लिएका छन् भने ९८६ रन बनाएका छन्। टी-२० मा उनले ६५ विकेट लिएर ४८६ रन बनाएका छन्।

इमाद पीएसएलमा कराँची किंग्सका सदस्य हुन्। यसका साथै उनी हन्ड्रेड, सीपीएल र एलपीएलको पनि हिस्सा भइसकेका छन्। उनले इंग्लिस काउन्टी क्रिकेटमा पनि नियमित खेलेका छन्।

मंसिर १०, २०८० आइतबार १३:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।