महिलामाथि संविधानबाटै भएको हिंसाको उपचार किन नखोज्ने?

महिलामाथि संविधानबाटै भएको हिंसाको उपचार किन नखोज्ने?

जन्मिएर सुन्दर संसारको परिकल्पना नहुँदै त्यो संसार नै भताभुङ्ग भएका कैयौँ स-साना छोरी, बहिनी अनि अवोध बालिकाहरूको दर्दनाक पीडाका घटना साथै ७ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि भएको हत्याको घटना, दाइजो नल्याएको भन्दै ससुराद्वारा बुहारीलाई जिउँदै जलाइएका घटना, कलेज पढ्ने युवतीमाथि एसिड प्रहारका घटना र लगातार छोरीहरू मात्रै जन्माएको भन्दै सासुद्वारा बुहारीप्रति अवहेलना इत्यादि हेडलाइन आजकल दैनिक समाचारमा भेटिरहँदा म मेरो देशलाई सम्झन्छु।

मेरो देश संस्कृति र फरक-फरक परिवेश अनि सुसज्जित संस्कार भएको र मानवीय भावनाले पुलकित स्थान भनेर विश्वमाझ चिनिन्छ, सगरमाथाको देश भन्दा मेरो आत्मा गौरवले ढक्क फुल्छ, साथै संसारमा गौतम बुद्ध जन्मिएको ठाउँ लुम्बिनीले परिचित छ। साथै न्याय र अन्याय छुट्याएर हेर्ने स्वयम्भूका दुई आँखाहरू यस देशको प्रतीक मानिन्छ। यिनै सभ्यता र संस्कृतिसँग रमाएका सारा नेपालीहरू आज सानी छोरीको सुरक्षा गर्न नसक्ने अवस्थामा पुगेको देख्दा अनौठो लाग्छ।

वास्तवमा नारी असल शील-स्वभाव र सिर्जनाकी खानी, ममताकी प्रतिमूर्ति अनि सहनशिलतामा भरिपूर्ण र संसारको सृष्टि थेग्ने देवी सरस्वती, दुर्गा, काली र लक्ष्मीको स्वरूप हुन् अनि हाम्रै आमा, दिदीबहिनी, श्रीमती, बुहारी, काकी, छोरी, नातिनी र प्रेमीका जातकी मान्छे हुन्।

भौगोलिक, सांस्कृतिक र सामाजिक आर्थिक सिमानाहरू पार गरी यिनै नारीमाथि गरिने हत्या, हिंसा, बलात्कार, बोक्सी प्रथा, दाइजो प्रथा, चेलीबेटी बेचबिखन, छाउपडी प्रथा, बाल विवाह, बहुविवाह, घरेलु हिंसा र रङ विभेद जस्ता अमानवीय व्यवहार नै महिला हिंसा हो। आज कतै बाबु दोषी छन् त कतै काका, मावली गएकी भान्जी मामाद्वारा, स्कुल गएकी छात्रा शिक्षकद्वारा, घरमा एक्लै छोडिएकी बालिका आफ्नै दाजुद्वारा बलात्कृत भएकै छन्।

यसो भन्दै गर्दा सबै बुवाहरू र सबै नातेदारहरू गलत हुन्छन् भन्नु दोषपूर्ण रहनेछ। तर समाजबाट अहिले निस्किएका घटनाहरूलाई केलाउँदा विश्वासको आधार भत्किएको पाइन्छ। असमानताको चक्रलाई निरन्तरता दिँदै गर्दा महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पर्दछ।

महिला हिंसाका प्रकार
महिला हिंसाले घरेलु हिंसा र यौन दुर्व्यवहारदेखि लिएर उत्पीडन र मानव बेचबिखनसम्मका दुर्व्यवहारलाई समेट्छ।

महिनावारी हँदादेखि प्रसूति हुँदासम्म छाउपडी गोठमा बस्नुपर्ने वाध्यता, महिलाहरूलाई केवल बच्चा जन्माउने उपकरणका रूपमा लिई उनीहरूको जीवन चुलो र चौकोमा मात्रै सीमित पारिने प्रवृत्ति, गर्भमा स्त्री जातकी भ्रूण भए तुहाइदिने र पुरुष जातको सन्तानको लागि मरिमेट्ने हाम्रो समाज अनि मरणपश्चात गरिने काजक्रियामा समेत नारीलाई समावेश नगराइने प्रचलन इत्यादिले नारी जातिका जीवनका हरेक पाटोमा हुने विभेदलाई दर्साउँछ।

यी हरेक प्रकृतिका हिंसा अनि विभेदले महिलाको सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको हनन् भएको छ। आधा आकाश ढाक्ने महिला यौन हिंसामा प्रताडित छन्।

हिंसाका मूल कारण
हिंसाविरुद्धको प्रभावकारी रोकथामका उपायहरू अवलम्बन गर्न महिला विरुद्ध हुने हिंसाका मूल कारणहरू बुझ्न जरुरी रहन्छ।

नेपाली समाजमा गहिरो रूपमा भित्रिएको लैङ्गिक असमानता, पितृसत्तात्मक सामाजिक संरचना, अन्धविश्वास, बढ्दो सामाजिक विकृति, रूढिवादी सोच अनि कुसँस्कारले यस्तो हिंसा फस्टाइरहेको छ।

समाजमा महिलाप्रति हेरिने फरक दृष्टिकोण, आर्थिक असमानता र शिक्षाको अभावले महिला हिंसालाई अझ विकराल रूप दिइरहेको छ। कहिले गुटको बहानामा, कहिले केही न केही बहानामा महिलामाथि राजनीतिक रूपमा पनि अन्याय गर्न छाडिएको छैन।

महिलामाथि परेका असर
पछिल्लो तथ्याङ्कअनुसार नेपालमा दिनहुँ ७ महिलाहरू बलात्कृत हुनुपरेको छ। प्रहरीका अनुसार बलात्कार र बलात्कार प्रयाससम्बन्धी घटना ८२ प्रतिशतभन्दा बढी अपराध, नातेदार, छिमेकी तथा चिनजानकै मान्छेबाट हुने गरेको छ।

नवजात शिशुदेखि लिएर वृद्ध आमाहरू कसैले पनि आफू सुरक्षित महसुस गर्न सकेका छैनन्। यस्तो जघन्य महिला हिंसाको नतिजा तत्कालै हुने शारीरिक हानीभन्दा धेरै टाढासम्म फैलिएको छ।

उत्पीडनबाट बाँचेकाहरू प्रायः दीर्घकालीन मनोवैज्ञानिक आघातको सामना गर्छन्, जसले उनीहरूको आत्म-सम्मान, मानसिक स्वास्थ्य र समग्र जीवनलाई असर गर्छ। हिंसाको व्यापक डरले स-साना घटनामा पनि विगतका घटनाको सम्झनाले तर्साउन सक्छ र व्यक्तिगत विकासको लागि महिलाहरूलाई अवसरबाट वञ्चित गराउँछ।

कानुनी र सामाजिक प्रतिक्रिया
नेपालको संविधानले राज्यको हरेक निकायमा महिलाको समानुपातिक, समावेशी, प्रतिनिधित्वको व्यवस्था गरेको छ। तर त्यहीअनुसारको महिलाहरू प्रतिनिधित्व हुन सकेको छैन।

संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखमध्ये एक महिलाको व्यवस्थापन गरेको छ तर प्रधानमन्त्री र उपप्रधानमन्त्रीमध्ये एक महिला भनेर किन लेखिएन? केवल सेरेमोनियलमा मात्र सीमित गराउने र कार्यकारी पदमा नपुर्याउने सोच पनि महिलामाथि हिंसा हो। यसको अर्थ संविधानले नै महिलामाथि हिंसा गरेको छ। तसर्थ उक्त हिंसाको पनि सही उपचार गर्नुपर्दछ।

साथ-साथै घरेलु हिंसा, यौन दुर्व्यवहार र उत्पीडनविरुद्ध कडा कानुनको निर्माण गरी उक्त कानुनको उचित कार्यान्वयनमा पनि ध्यान पुर्याउनुपर्दछ। थप रूपमा, रूढिवादी सोच अनि पितृसत्तात्मक संरचना हटाएर लैङ्गिक समानतालाई अँगालेर समाजमा सचेतना फैलाउनुपर्दछ।

साथ-साथै सरकारले पहुँचयोग्य परामर्श सेवाहरू, आश्रयहरू र हेल्पलाइनहरूद्वारा हिंसाको अनुभव गरेका महिलाहरूलाई सहयोग गर्नुपर्दछ।

परिवर्तनको उत्प्रेरकको रूपमा शिक्षा
शिक्षा एक शक्तिशाली औजार हो जसले मनोवृत्ति र विश्वासलाई चुनौती दिन्छ। व्यापक यौन शिक्षा, स्वस्थकर सम्बन्ध र कुनै पनि कदम चाल्नु अगाडि नजिकको मान्छेसँग अनुमति लिनुपर्छ भन्ने व्यवहारको प्रवर्द्धनले सामाजिक मान्यताहरू परिवर्तन गर्न मद्दत गर्न सक्छ।

शिक्षाको माध्यमबाट महिला सशक्तीकरणले उनीहरूलाई अपमानजनक परिस्थितिहरु पहिचान गर्न र प्रतिरोध गर्ने उपकरणहरू पनि प्रदान गर्छ। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’, अर्थात् जहाँ नारीहरूको पूजा हुन्छ त्यहाँ देवताहरू रमाउँछन् भन्ने मनु स्मृतिको वचनलाई अनुशरण गर्नुपर्दछ।

विश्वव्यापी परिप्रेक्ष्य र सहयोग
महिला विरुद्धको हिंसा एक विश्वव्यापी मुद्दा हो जसले अन्तर्राष्ट्रिय सहयोगको माग गर्दछ।

महिलाहरू शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाजमा विश्वस्तरका आफ्नो नाम चम्काएका नारीको गुनगान गुन्गुनाउने मात्रै होइन असल आचरणको प्रवर्द्धन गर्नुपर्दछ।

असल सँस्कारलाई प्रवर्द्धन गर्न उचित कदमहरू चाल्नु, विश्वव्यापी स्तरमा चेतना जगाउनु र हिंसाका मूल कारणहरूलाई सम्बोधन गर्ने पहलहरूलाई समर्थन गर्नु इत्यादि महिलाहरूको लागि सुरक्षित संसार सिर्जना गर्न आवश्यक कदमहरू हुन्।

अत: महिला हिंसाको उन्मूलन गर्न कानुनी, सामाजिक र शैक्षिक प्रयासहरू संयोजन गर्नुपर्छ। ल्याटिन अमेरिकाको डोमेनिकन गणराज्यका मिरावल परिवारका ३ दिदीबहिनी (पेक्ट्रियार, मिनर्मी र मारिया) को तत्कालीन निरङ्कुश तानाशाही सरकारले गरेको निर्मम हत्या विरुद्ध त्यहाँका जनताले नोभेम्बरको २५ को दिनलाई लिङ्गको आधारमा महिलाविरुद्ध गरिएको राजनीतिक हिंसाको विरोध गर्ने दिवसका रूपमा मनाउन थालेका हुन्।

तत्पश्चात् सन् १९९९ डिसेम्बर १७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसाको दिवसका रूपमा मनाउने प्रस्ताव सर्वसहमतिले पारित गरेको हो। यस दिवसलाई नेपालमा पनि १६ दिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ।

हिंसाको अन्त्य गरी समानता र सम्मानको संस्कृतिलाई बढावा दिएमा मात्रै समाज यस्तो भविष्यतर्फ अघि बढ्न सक्छ जहाँ हरेक महिला आफ्नो अस्तित्वमाथि गर्व गर्न सक्छन्।

र अन्त्यमा “यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानमधर्मस्य तदात्मानम सृज्याहम।।”

मंसिर १०, २०८० आइतबार १३:५०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।