डा. पुनेश्वरको उपचार अनुभव : ग्याष्ट्रिकले थला परेका शिक्षक एकै पटकको आयुर्वेदिक औषधिले ठिक भएपछि...
डा. पुनेश्वर केशरी आयुर्वेद चिकित्सक हुन्। २० वर्षीय चिकित्सकीय पेशाको सिलसिलामा दुर्गमका जिल्लादेखि विभागसम्मको अनुभव उनले बटुलिसकेका छन्। उनले आफ्ना चिकित्सकीय पेशाका सुख-दुःख उकेराको नियमित स्तम्भ डाक्टरका सुख-दुःखमा साटेका छन्।
थलापरेका शिक्षकको ग्याष्ट्रिक आयुर्वेदिक औषधिले चैट
डा. पुनेश्वर करिब २० वर्षअघि उनी बीएएमएस अध्ययन सकेर आयुर्वेद चिकित्सकको रूपमा अधिकृत कविराज पदमा स्थायी जागिर भएर दैलेख पुगेका थिए। एक जना करिब २७ वर्षका पुरुष दैलेख जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रमा पुगे। ती सरकारी विद्यालयका शिक्षक रहेछन्।
शिक्षकलाई पेट दुख्ने, खान रुचि नहुने, वाकवाकी आउने पेट ढाडिने, खाना नपच्ने जस्ता समस्या थिए। अस्वस्थताका कारण पढाउन जानसमेत निक्कै कठिन भएको रहेछ। शिक्षक थला नै परिसकेका थिए। कक्षामा समेत ऐया ऐया र हँ हँ भन्दै पढाउने जाने गर्दा रहेछन् उनी।जसकारण उनी शारीरिक मात्रै नभएर मानसिक रूपमा समेत तनावमा थिए।
डा. पुनेश्वरले ती शिक्षकको लक्षण र शारीरिक परीक्षणको आधारमा उनमा अम्लपित्तको समस्या भएको थाहा पाए। ग्याष्ट्रिकको समस्यालाई आयुर्वेदिक चिकित्सकीय भाषामा अम्लपित्त भनिन्छ। लामो समयदेखि अम्लपित्त भएका उनको आन्द्रामा घाउ अर्थात अल्सर हुने अवस्था निम्तिसकेको थियो।
समस्या खुट्याएपछि ती शिक्षकलाई डा. पुनेश्वरले अम्लपित्तको समस्या ठिक गर्ने अविपत्तिकर चुर्ण, शंख भष्म, कामदुधा रस लगायत विभिन्न भष्म मिसाएर उनले औषधि दिए। केही दिनपछि उनले फलोअपका लागि बोलाए।
केही दिन औषधि सेवन गरेपछि ती शिक्षकको अम्लपित्तको समस्या त चैट भएछ। समस्या ठिक भएपछि फलोअपमा आउँदा ती शिक्षक डा. पुनेश्वरप्रति निक्कै कृतज्ञ भएका थिए। अहिले पनि ती शिक्षकले बेला–बेलामा फोन गर्ने गरेको उनले सुनाए।
मलद्वारबाट रगत निस्किएका ४० वर्षीय शिक्षकको उपचार गर्दा
दैलेखमै काम गर्दाको अर्का शिक्षकको उपचार गरेको प्रसङ्ग पनि डा. पुनेश्वर कहिल्यै भुल्दैनन्। करिब ४० वर्षका ती शिक्षकलाई पाचनसम्बन्धी समस्याका कारण मलद्वारबाट रक्तस्राव हुने समस्या थियो। उनको मलद्वारमा घाउ नै भइसकेको थियो। आयुर्वेदिक चिकित्सकीय भाषामा गुद्वविकार सम्बन्धी समस्या भन्ने यसलाई आधुनिक चिकित्सकीय विधामा पायल्स भनिन्छ।
समस्या पहिचान गरेपछि डा. पुनेश्वरले ती शिक्षकको स्वास्थ्य समस्याको उपचारका लागि आयुर्वेदको छारकर्म उपचार विधि अपनाए। औषधि दिए। नभन्दै केही दिनको औषधि उपचारपछि ती पुरुषको पायल्सको समस्या ठिक भयो। समस्या ठिक भएपछि डा. पुनेश्वरप्रति ती शिक्षक निक्कै किर्तज्ञ भए।
२० वर्षीय युवकको गोलीगाँठोको त्यो समस्या...
जनकपुरमा काम गर्दा करिब २० वर्षका युवालाई गोलीगाँठोमा चिलाउने लगायतका समस्याले सताएको रहेछ।
छालाजन्य समस्याका कारण चिलाउने र कन्याउँदा कत्लाजस्तो निस्कने अनि छाला नै बाक्लो भएको अवस्था थियो ती युवाको। यस्तो समस्यालाई आधुनिक चिकित्सकीय भाषामा एक्जिमा भनिन्छ।
उपचारका लागि विभिन्न अस्पताल धाएका उनी केही उपाय नलागेपछि निराश भएर डा. पुनेश्वरकहाँ पुगेका थिए। समस्याको बारेमा बुझेपछि डा. पुनेश्वरले उनलाई एउटा आयुर्वेदिक औषधि प्रयो गर्न सुझाए।
सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गरेको हरियो मलम नाम गरेको एउटा आयुर्वेदिक औषधि दिए। आजकाल यो मलम वैद्यखानाले बनाउँदैन।
त्यसैगरी टंकण भस्म नाम गरेको औषधि मनताता पानीमा घोलेर केही बेर खुट्टा डुबाउन सुझाव दिए। टंक भस्म घोलिएको पानीमा केहीबेर खुट्टा डुबाएर निकालि खुट्टा ओबाएपछि त्यो हरियो मलम लगाउन सुझाव दिए।
डा. पुनेश्वरको सुझाव अनुसार नै ती युवाले खुट्टामा औषधि लगाए। उपचार विधि अपनाए। केही दिनको उपचारपछि ती युवा फलोअपका लागि डा. पुनेश्वरकहाँ पुगे।
उपचार थालेको केहीमा दिनमै ती युवाको खुट्टाको त्यो समस्या ठिक भयो।
जता बुवा उतै पढाइ
पुनेश्वर २०३१ मा रौतहट जिल्लाको हालको दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मा जन्मिएका हुन्। उनका बुवा सरकारी जागिरे थिए। सुरुमा ओभरसियर हुँदै इन्जिनियर भएका थिए।
बुवा सरकारी जागिरे भएकाले पुनेश्वरको हुर्काइ र पढाइ पनि एकै ठाउँमा भएन। उनले अध्ययनको सुरुवात तनहुँको दिव्यज्योति व्यास बोर्डिङ स्कुलबाट भयो।
बाराको रामपुरस्थित श्री जनता माविबाट २०४६ मा एसएलसी गरेका पुनेश्वर आईएस्सी अध्ययनका लागि भारतको बिहार इन्टरमिडियट एजुकेशन काउन्सिल पुगे।
आयुर्वेदको रस
आईएस्सीपछि उनलाई आयुर्वेद विषय अध्ययन गर्ने इच्छा भयो। त्यसैले उनले यो विषयको अध्ययनको लागि खोजी गरे।
पुनेश्वरले काठमाडौंको आयुर्वेद क्याम्पस कीर्तिपुरमा स्नातक तहको आयुर्वेद विषयको बीएएमएस अध्ययनका लागि २०५३ मा भर्ना भए। अध्ययन थालेपछि आयुर्वेदबारे उनलाई झन् चासो लाग्न थाल्यो।
उनको स्नातक तहको ‘ब्याचलर अफ आयुर्वेद मेडिसिन एण्ड सर्जरी (बीएएमएस)’ विषयको अध्ययन २०५९ मा सकियो।
दैलेखको त्यो अनुभव
बीएएमएस अध्ययन सकिएपछि डा. पुनेश्वर सरकारी जागिरमा प्रवेश गरे। २०६० मा उनी सातौं तहको अधिकृत कविराज पदमा सरकारी स्थायी आयुर्वेदक चिकित्सकका रुपमा सरकारी जागिरमा प्रवेश गरेका हुन्।
सरकारी जागिरमा प्रवेश गरेपछि डा. पुनेश्वर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेखमा पोष्टिङ भए। त्यो बेला आयुर्वेदका संस्थाहरूको स्थिति दयनीय अवस्थामा भएको उनको अनुभव छ।
आयुर्वेदका संस्थामा बजेट पनि अत्यन्तै न्यून भएकले कार्यालयमा बस्ने कुर्सी र टेबल समेत नभएको अवस्था रहेको उनले बताए। आफ्नै भवन नभएकाले भाडाको भवनमा बस्नुपर्थ्यो।
सरकार र तत्कालीन विद्रोही माओवादीवीच सशस्त्र द्वन्द्व चर्किएको अवस्था थियो। तर, स्रोत साधनको अभावका बावजुत आफूले जाने बुझेको ज्ञान तथा सिप प्रयोग गरेर बिरामीको औषधि उपचार गरेको उनले सुनाए।
त्यसो त दैलेखमा काम गर्दा त्यो बेला स्थानीय जटीबुटीको औषधि बनाएर समेत बिरामीको औषधि उपचार गरेको डा. पुनेश्वर सम्झन्छन्।
त्यो बेला दैलेखमा राम्रो काम गरेकैले हुनुपर्छ डा. पुनेश्वरलाई त्यहाँ काम गरेको २० वर्षपछि समेत अहिले त्यहाँका स्थानीयले फोन गर्छन्। सम्झन्छन्। अनि यसरी स्थानीयले सम्झँदा डा. पुनेश्वरको पनि मन आनन्दित हुन्छ नै।
दुर्गमको त्यो अनुभव बटुलेर विभागमा काम
दैलेखपछि २०६३ चैतमा उनी धनुषाको तत्कालीन जनकपुर अञ्चल आयुर्वेद औषधालयमा काम गर्न पुगे। त्यहीँ काम गर्दा उनी २०६४ मा आठौं तहमा बढुवा भए। २०६८ को माघसम्म उनले धनुषामा नै काम गरे।
धनुषापछि २०६८ माघमा डा. पुनेश्वर सरुवा भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मुगुमा पुगे। मुगुमा उनले २०७० सम्म काम गरे। मुगुपछि उनी सरुवा भएर २०७० सम्म काठमाडौंको टेकुस्थित तत्कालिन आयुर्वेद विभागमा काम गरे।
डा. पुनेश्वरलाई थप अध्ययनको भोक मरेकै थिएन। डा. पुनेश्वरले भारतको आयुष छात्रवृति कोटामा स्नातकोत्तर तहको आयुर्वेद विषयमा अध्ययन गर्ने मौका पाए। त्यसैले उनी आयुर्वेद विषयमा अध्ययनका लागि सन् २०१५ मा भारत पुगे।
त्यहाँ उनले द्रव्य गुण विज्ञानमा स्नातकोत्तर तहको एमडी अध्ययन थाले। सामान्य भाषामा बुझ्नुपर्दा यो आयुर्वेदको औषधि विज्ञान हो। भारतको राजिव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स अन्तर्गतको एसडीएम कलेजबाट उनले एमडी अध्ययन गरेका हुन्। सन् २०१८ मा एमडी अध्ययन सकेर उनी नेपाल फर्के।
एमडी अध्ययन सकेर नेपाल फर्किएपछि डा. पुनेश्वर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, कालिकोटमा पुगे। उनी त्यहाँ काम गरिरहेको बेला कर्णाली प्रदेश सरकारले आयुर्वेद स्वास्थ्य केन्द्र, जनस्वाथ्य तथा जिल्ला अस्पताल एकीकृत भएर जिल्ला स्वास्थ्य सेवा कार्यालयमा रुपान्तरण गर्यो।
एकीकृत भएपछि उनी स्वास्थ्य सेवा कार्यालय (तीन वटै एकीकृत संस्था), कालिकोटको निमित्त स्वास्थ्य सेवा व्यवस्थापकको जिम्मेवारी पाएर काम गर्न थाले।
कालिकोटपछि डा. पुनेश्वर २०७६ फागुनमा समायोजन भएर काठमाडौंको टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा आए। हाल डा. पुनेश्वर विभागको जडीबुटी औषधि व्यवस्था शाखा र थप जिम्मेवारीको रुपमा प्राकृतिक तथा अकुपञ्चर चिकित्सा शाखा प्रमुखको रूपमा कार्यरत छन्।
उनी दुर्गम तथा उपत्यका बाहिर काम गरेको अनुभव बटुल्दै विभागमा आएका हुन्। आफूले सिकेका ज्ञान तथा सीपको प्रयोग गरेर विभागमा नीति निर्माण लगायतका विषयमा उनले सक्रिय भूमिका खेलिरहेको छन्।
आयुर्वेदका स्वास्थ्य संस्थाहरुको लागि न्यूनतम सेवा मापदण्ड र कोभिडको पहिलो लहरको समयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट कोभिडको व्यवस्थापन गर्ने सम्बन्धी प्रोटोकल बनाउने सम्बन्धि काममा पनि आफूले इमानदारीताका साथ सक्रिय भूमिका निभाएको उनले सुनाए।
जीवन विज्ञान नै आयुर्वेद
डा. पुनेश्वर अहिले पनि बिहान बेलुका तथा छुट्टीको समयमा बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि उपचारमा नै खटिन्छन्। सामान्य किसिमका आयुर्वेदिक औषधिले समेत कयौं जटिल किसिमका रोग समेत निको हुने उनी सुनाउँछन्।
त्यसो त चाहे आयुर्वेद होस् वा आधुनिक चिकित्सा विज्ञान नै किन नहोस्, बिरामीको शतप्रतिशत उपचार सम्भव छैन। कतिपय यस्तो रोग हुन्छन्, जुन ठिक नहुन सक्छन्।
डा. पुनेश्वर पनि आयुर्वेदिक चिकित्सा विधाले ठिक नहुने स्वास्थ्य समस्याका लागि बिरामी रिफर गर्छन्। कतिपय आधुनिक चिकित्सा उपचार विधिका लागि रिफर गर्नुपर्ने हुन्छ।
तर, समग्र रूपमा जीवन विज्ञान नै आयुर्वेद हो, भन्छन् उनी। खानपान तथा व्यायाम जस्ता जीवनशैली सन्तुलित र व्यवस्थित नभए सही तरिकाले जीवनशैली अपनाउन उनको सुझाव छ।
मंसिर १०, २०८० आइतबार १०:५४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।