नेपाल सुपर लिगमा ललितपुरको विजयी सुरुवात

नेपाल सुपर लिगमा ललितपुरको विजयी सुरुवात

काठमाडौं : नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ।

शनिबार साँझ त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको खेलमा ललितपुरले बुटबल लुम्बिनीलाई २-० ले हराएको हो।

खेलको २६ औं मिनेटमा पापा इबोउ केबेले पोस्टको दायाँ साइडबाट गरेको क्रसमा दिनेश हेन्जनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए।

यससँगै अग्रता बनाएको ललितपुका लागि अर्को गोल कप्तान अनन्त तामाङले गरे। खेलको ३१औं मिनेटमा कर्नर किकको बललाई तामाङले हेडमार्फत उत्कृष्ठ गाेल गरे।

दोस्रो हाफमा दुवै टिमले राम्रा बलहरू निकाले पनि त्यसलाई गोलमा रुपान्तरण गर्न सकेनन्।

त्यसअघि शनिबार दिउँसो एक बजे भएको पहिलो खेलमा पोखरा थन्डर्सले  एफसी चितवन माथि १–० को जित हात पारेको थियो।

लिगमा आज वीरगन्ज युनाइटेडले धनगढी एफसीको सामना गर्नेछ। खेल साँझ साढे ५ बजे हुनेछ।

मंसिर १०, २०८० आइतबार ०७:०१:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।