अरिजितको कन्सर्टमा धन्न दुर्घटना टर्‍यो ( भिडियो)

काठमाडौँ : भारतीय गायक अरिजित सिंहको पहिलो पटक नेपालमा भएको कन्सर्टमा उनलाई हेर्न हायात होटल बाहिर छपक्कै थिए उनका फ्यान। आयोजकले १५ हजार टिकट विक्री गर्ने दाबी गरेको थियो। तर कार्यक्रम क्षेत्रभित्रै २० हजार बढी प्रवेश गरिसकेका थिए। बाहिर ५ हजार बढी दर्शन थिए।

दिउसै कार्यक्रमस्थल आएर अरिजितले मञ्चको अवलोकन गरे साउन्ड  सिस्टम परीक्षण गरे। मञ्चमा हिँड्दा उनी खुट्टा खोच्याइरहेका थिए। उनको हिँडाइले उनी स्वस्थ छैनन् भन्ने देखाइरहेको थियो।

पाँच बजे कन्सर्ट सुरु भयो। तर टिकट काउन्टर र बाहिर दर्शकको बाक्लो लाइन थियो। टिकट नकाट्ने तर कन्सर्ट हेर्न मन गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका पहुँचवालाहरूको आफन्तको भिड छुट्टै। पाँच बजेका लागि दुई बजेबाटै कार्यक्रमस्थलमा छिराउन थालेका थिए आयोजकले। तर पाँच बज्दा समेत टिकट भएकाहरू समेत भित्र छिर्न पाएका थिएनन्।

हायात होटेलको पश्चिमतिरको खाली चौरमा कार्यक्रम राखिएको थियो। चौर घना आवादीको बिचमा थियो। वरिपरिका घरका छत अनि रेस्टुरेन्टका टेबल बुक भइसकेका थिए। अरिजित सिंहलाई सुन्न त गाह्रो थिएन। सडकमै उभिएर पनि सुन्न सकिन्थ्यो। तर हेर्न चाहनेहरू पनि थिए जो न टिकट काट्न सके न वरिपरिको घर अनि रेस्टुरेन्टमा पुग्न सके।

उनीहरू हायात होटेलको पर्खालमाथि बसेर अरिजित देखिन्छन् कि भनेर चियाउन थाले। भिड बिस्तारै बढ्दै जाँदा पर्खाल वरिपरि पाँच हजार जतिको सङ्ख्या भइसकेको थियो। सडकमा ट्राफिक थिए, नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यक्रम परिसरमै थिए। आयोजकले राखेको सुरक्षा गार्डहरू अधिकांश मुख्य मञ्च वरपर थिए।  

पर्खाल चढ्दाचढ्दै हायाततर्फबाट एक जना फुत्त भित्र हाम फाले। त्यसपछि त एक-दुई गर्दै ह्वारह्वार पर्खाल चढेर कार्यक्रमस्थलभित्र प्रवेश गरे। गरुड सेक्युरिटीका गार्ड अनि प्रहरीले थाहा पाउँदा २ हजार जति भित्र पुगिसकेका थिए। प्रहरी आएर पहिला पर्खालमा चढेकालाई ओराल्यो। भित्र गएको भिड टिकट काटेका दर्शकसँग घुलमिल हुने तयारीमा थिए। प्रहरीले धन्न बल प्रयोग गरेन। बुद्धि लगाएर उनीहरूलाई बिस्तारै घेरा हाल्यो।

उनीहरू कार्यक्रमको सबैभन्दा पछिल्लो भागमा पुग्न सक्थे जहाँ पहिल्यै भरिभराउ देखिन्थ्यो। प्रहरीले घेरा हालेपछि उनीहरू पूर्वबाट पश्चिमतिर लागे जहाँ भिआइपी कोटाका दर्शक थिए।

अनि के भयो? बाँकी भिडियो रिपोर्टमा :

मंसिर १०, २०८० आइतबार ०१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।