पशुपति विकास कोषले भन्यो- ‘भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको छैन’

पशुपति विकास कोषले भन्यो- ‘भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको छैन’

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति नदिइएको बताएको छ।

भारतको उत्तराखण्डका विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन सहमति भएको भनेर नेपाल र भारतका केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि कोषले त्यसको खण्डन गरेको हो।

‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित समाचारमा कुनै पनि सत्यता नरहेको र त्यस किसिमका सबै समाचार भ्रामक हुन्’, कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतको उत्तराखण्ड विपिन रावतका गाउँमा पशुपतिनाथ मन्दिर बनाउन पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएकाले भ्रमित नहुन समेत आग्रह गरेको छ।

कोषले त्यस्ता भ्रामक समाचारले तमाम हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिक जनप्रति आघात पुगेको जनाएको छ। उसले यस्ता खालका राष्ट्रिय अस्मितामा आघात पर्ने विषय कोषले कहिल्यै नगर्ने समेत प्रतिबद्धता जनाएको छ।

मंसिर ९, २०८० शनिबार १३:५१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।