प्रसाईँको प्रदर्शनमा राप्रपाका कार्यकर्ता भएको पार्टीले नै पुष्टि गर्‍यो, कार्यकर्ता पक्राउ परेपछि निकाल्यो विज्ञप्ति

प्रसाईँको प्रदर्शनमा राप्रपाका कार्यकर्ता भएको पार्टीले नै पुष्टि गर्‍यो, कार्यकर्ता पक्राउ परेपछि निकाल्यो विज्ञप्ति

काठमाडौँ : गणतन्त्रको विरोधमा भएको दुर्गा प्रसाईँको आन्दोलनबारे मौन बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्रवार भने बोलेको छ। शुक्रवार स्थानीय प्रशासनले अनुमति नदिएको तीनकुने क्षेत्रमा प्रदर्शन गर्न जाँदा पक्राउ परेकामा आफ्नो पार्टीका समर्थकहरू समेत परेपछि राप्रपाले विज्ञप्ति निकाले उनीहरूको रिहाइको माग गर्यो।

स्थानीय प्रशासनले प्रसाईँलाई स्थानहद बन्देज लगाउँदै घरबाट निस्कन नदिए पनि उनले घोषणा गरे अनुसार शुक्रवार तीनकुनेमा प्रदर्शन गर्न केही व्यक्ति पुगेका थिए। उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।  यसरी पक्राउ पर्नेहरूमा राप्रपा समर्थक व्यक्ति तथा संस्थाका प्रतिनिधिहरू समेत छन्।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले शुक्रवार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि प्रशासनिक दमन, धरपकड भएको उल्लेख गरिएको छ।

कार्यक्रम राप्रपाले आयोजना गरेको हैन। राप्रपाले कार्यक्रममा सहभागिताबारे समेत केही उल्लेख नगरे पनि बिहीबार बल्खुमा भएको आन्दोलनमा राप्रपाका सांसद ज्ञानेन्द्र शाही सहभागी भए। उल्लेख्य संख्यामा राप्रपाका कार्यकर्ताहरू समेत सहभागी भएको प्रहरीको आन्तरिक रिपोर्टमा उल्लेख थियो।

प्रसाईँको आन्दोलनमा पार्टी मौन रहे पनि कार्यकर्ताहरू भने सहभागी भएको श्रेष्ठको विज्ञप्तिले पुष्टि गरेको छ। विज्ञप्तिमा ‘प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु, प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजी खोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण रहेको’ उल्लेख छ।

आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घर बाहिर निस्कन नदिने, प्रदर्शन स्थलमा पुग्नु अगावै सुरक्षाकर्मीले कार्यक्रम स्थलमा कब्जा जमाउने, सडक पेटीमा हिँडिरहेका नागरिकलाई गिरफ्तार गर्ने जस्ता कार्य भएको राप्रपाले विज्ञप्तिमा लेखेको छ ।

विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र सामाजिक न्यायको सिद्धान्त विपरीत सरकारले काम गरेको भन्दै दमन र धरपकड समस्याको समाधान नहुने भन्दै अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न माग गरिएको छ।

विज्ञप्तिमा प्रसाईँलाई घरबाट बाहिर निस्कन नदिएकोबारे भने केही उल्लेख गरिएको छैन।

मंसिर ८, २०८० शुक्रबार १९:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।