कान्तिपुर गाथा : निरन्तर छ देशको कथा
समय छ कोलाहलको। समय छ बैंक र सहकारीको ऋण असुलीको। समय छ पैसा कमाउन विदेश जाने लस्करको। समय छ सुन व्यापारीको। समय छ भूटानबाट आएका शरणार्थीलाई नेपालीमा परिणत गर्न सक्ने भृत्यतन्त्रको।
यस्तो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबद्धता, जिम्मेवारी र उत्तरदायित्वजस्ता शब्दहरूको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ नमानिएला। यी शब्दहरू, त्यसै पनि, कहिल्यै शोभायमान नभएको देखिएन नेपाली समाजको भाषामा।
नेपाली समाजले भीम मल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो। अरू दरवारिया भारदारलाई चिन्दै चिनेन। भीम मल्ल र भीमसेन थापा दरबारको ढोकामा नकाटिएका भए उनीहरू पनि चिनिदैनथे होलान्।
मल्ल राजाका भारदार थिए भीम मल्ल। त्यतिबेला तिब्बतको आर्थिक र व्यापारिक संप्रभूसत्ता काठमाडौँको हातमा थियो। नेपाली जनता ‘भोटे नुन’खान्थे। तिब्बती जनता नेपाली चामल। उठतीपुठतीमा गएका भीम मल्ल तिब्बतबाट फर्किनासाथ दरबारको ढोकैमा काटिए। उनको अपराध के थियो? कसैले थाहा पाएन। अपराध थियो भने पनि त्यसका प्रमाण–प्रमेय थिएनन्। सबै अनुमानको कुरा हो।
नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ। हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्नुहुन्थ्यो : नेपाली इतिहासका प्रायःस्रोतहरुको निर्माण परिकल्पनाका आधारमा भएका छन्। भीम मल्ललाई जनताले आज पनि शानका साथ सम्झिन्छन्। पाँडे र थापाको इतिहास पनि विवादास्पद छ। भीमसेनको ऐतिहासिक कद उनले बनाएको धरहरा जति अग्लो पक्कै छैन। अमरसिंहको कद उनको भन्दा धेरै अग्लो थियो भनिन्छ।
पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जसदिने कुरा लगभग सल्टिसकेको छ। पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन्।
नेपाल राष्ट्रको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारहरूको भद्रगोल खूब चल्यो। जो-जो बलिया भए ती सबैले आ–आफ्नो ‘इतिहास’ लेखाए। भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत विविध थर तर एकै वर्गका व्यक्तिहरू।
नेपालको इतिहासको आकार देशको वास्तविक आकारभन्दा कैयौँ गुना अग्लो र लामो छ। यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र।
जतिबेला माओवादी लडाइँमा थिए त्यतिबेला ती रनबन घुम्थे। देशमा पाइने अपार जरिबूटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे। नेपालगन्जमा सीमित जरिबूटीको व्यापारलाई देशव्यापी प्रचारमा ल्याएका हुन् माओवादीले। मान्नै पर्छ।
देशमा राजनीतिक, आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन। तर, त्यस्तो वार्ता गर्ने प्रयत्न भएको छैन। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि देशका समस्याहरूमाथि छलफल गर्ने चलन ह्वात्तै बढेको थियो छ। त्यो सँगै बढ्यो आसन ग्रहणको चलन।
व्यङ्ग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै मञ्चमा विराजमान भए। भाषण सुन्ने कोही भएनन्। सभाकक्ष आमन्त्रित सहभागीका चालकहरू, सुरक्षाकर्मीहरू र निजी सचिवहरूको भीडले ‘भरिएको’ थियो। मञ्चमा जो विराजमान थिए ती आपसमा मस्त थिए। एकअर्कासंग तीन र तेह्रको सम्बन्ध नहुनेहरू पनि ‘भलाकुसारी’ गर्दै थिए।
सबै आमन्त्रित मञ्च अर्थात् बोल्ने ठाउँमा विराजमान थिए। सबै अतिथि थिए : कोही अतिथि, कोही विशेष अतिथि, कोही प्रमुख अतिथि। सुन्ने ठाउँमा कोही थिएन। भर्खर भर्खर प्रजातन्त्रको पुनर्स्थापना भएको समाजमा अवसर र क्षणहरू रोचक बन्दै थिए। तीस वर्षको मौनतापछि मानिसको मुख खुलेको थियो।
त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने !
त्यति बेलाका सभामा, स्वाभाविक थियो, शहीदहरूको सम्मानमा एक मिनेटको मौन धारणापछि अर्को एक मिनट बीपी र पुष्पलालको सम्मान। श्रद्धेय नेताहरूको नाममा शब्द र पुष्प दुवैको वर्षा हुन्थ्यो।
‘भलाद्मी’ राजा बीरेन्द्रको लोकप्रिय व्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो – उहाँको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो। त्यसको प्रमाण स्वरूप काठमाडौँका सम्भ्रान्त बैठकहरूमा कथाको एक अंश सुनाइन्थ्यो – देशका बुध्दिजीवीहरु सहभागी भएको एउटा महत्त्वपूर्ण सभामा कसरी राजा बीरेन्द्रले रानी ऐश्वर्यलाई संवोधनगर्दा राजकीय भाषामा ‘बडामहारानी’शब्दले संवोधन नगरेर ‘श्रीमती’शब्दले संवोधन गरेका थिए। त्यसै दिनदेखि राजा बीरेन्द्रकाबिरुध्द पुराना र घरानियाँ दरबारियाहरुले षडयन्त्र शुरु गरेको कथा काठमाडौँका सभ्रान्त बैठकहरूमा दोहोरिन, तेहरिन थालेको थियो।
त्यसपछि, स्वाभाविक थियो, बीर गणेशमानको पनि थोरै चर्चा हुन्थ्यो। प्रजातन्त्रको पुनर्स्थापनापछि गणेशमानजीलाई ‘बीर’ त के, ‘अकिञ्चन’नागरिकका रूपमा पनि शान्तिसँग रहन दिएको थिएन उहाँकै पार्टी र पार्टीको सरकारले।
उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो। तर, के उहाँलाई साँच्चै सर्बोच्च रहन दिइयो त? यसको जवाफ आउँदै गर्ला। यस्ता सभाहरूमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्त दिँदै राजनीतिमा इमान–जमानको सम्झना गरेको पनि सुनिन्थ्यो कतै कतै। त्यो दृष्टान्त राजनीतिक समाजकालागि साह्रै गह्रुङ्गो हुन थालेपछि बिस्मृतिको गर्भमा लोप भयो। किशुनजी पनि राजनीतिबाट लगभग लोप हुनुभयो। उहाँको छाता–सुराहीको प्रजाति हरायो। तर, प्रजातन्त्र पुनर्स्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन–मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान–जमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए।
पुनर्स्थापित संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो। यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमतले जित्यो।
प्रजातन्त्र पुनर्स्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनर्स्थापनापछि, अभिमान भन्दा पनि हलक्क बढेको थियो घमन्ड।
पहिलो चुनावको मौसम थियो। आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रूपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो। चुनावकै प्रसंगमा उहाँले लगाएको रातो लिपस्टिकको तुलना ‘मानव रगत’ संगगर्दै पत्रकार रघु पन्तले आफ्नो स्तम्भ लेखेका थिए। पन्त पहिले नेपाल कम्युनिस्ट पार्टी एमाले पक्षका ओली बिरोधी नेता माधव नेपालको गुटमा थिए। अहिले ओलीसँगै टाँसिएका छन्।
दुई वटा पुरा र एउटा मध्यावधि चुनावपछि पुनर्स्थापित प्रजातन्त्रले विश्राम लियो। जनतालाई सन्तुष्टि दिन सकेन। राजा बीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र शाह राजा भए। विडम्बना उनी राजा ज्ञानेन्द्रका रूपमा भन्दा पनि पारस शाहका पिताका रूपमा बढी चिनिए। राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे। उनका चाकरीदारहरूले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो, ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसुस गरिबक्सिएको थियो।’ अप्ठेरो महसुस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सियो त? यो प्रश्नको जवाफ ती कीर्तिकारहरू कसैसँग पनि छैन होला।
अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन्। उनी राजनीति, समाजसेवा र व्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेको देखिन्छन्। राजा बेलायतको होस कि नेपालको, धनी होस् कि गरिब, मूर्ख होस् कि बुद्धिमान : सन्की नै हुन्छन्। बेलायतका महाराजा आफ्नी आमाको अत्यन्त सामयिक मृत्युपछि राजा भए।
गणतान्त्रिक राष्ट्रका रूपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए। मल्लकालीन नेपालमा भारदारहरूको बृत्तको बिस्तार भएको थियो नेपालको शासन–प्रशासनमा। पृथ्वीनारायणका आफ्नाभन्ने मानिस थिएनन्। मल्ल राजाहरूको पतनपछि अलमल्ल परेका उपत्यकाका भारदारहरू शरणार्थीका रूपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’लम्पसार परे। मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो। शाह राजतन्त्रले शासन चलाउन नसकेपछि राणातन्त्रको उदय भयो। १०४ वर्ष शाहहरूलाई छायाँमा पारेर राणातन्त्रले शासन गर्यो। सात सालमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालमा प्रजातन्त्रको उदय गराउन मद्दत गरे। तर, राजनीतिक शक्तिहरू र राजतन्त्रकाबीच मेलजोल भएन।
राजा बीरेन्द्रको बंशनासका सबै प्रसंगहरु उदांगो भई सकेका छैनन्। राजा बीरेन्द्रको बंशनासको पृष्ठभूमिमा नेपालमा सङ्घीय गणतान्त्रिक शासन ब्यबस्थाको प्रारम्भ भएको थियो। गिरिजा, प्रचण्ड र परिवर्तनका अन्य महत्त्वपूर्ण नेताहरूले निर्धारित समयमा एउटा संविधानसम्म लेख्न सकेनन्। संविधान सभाको पहिलो कार्यकाल गफैगफमा सकियो।
दोस्रो कार्यकालमा परिवर्तनका नेताहरूले सर्बोच्च अदालतको खोपाबाट मुख्य न्यायाधीशलाई ल्याएर देशको प्रधानमन्त्री बनाए। त्यसपछि ती न्यायाधीशले जुन चुनाव गराए त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो।
तै पनि, संविधान बन्यो। संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लाग्दैन। नेताहरू कुनै पनि मूल्यमा नेपाली राष्ट्रवादमा बरु पाकिस्तानको छायाँ परोस्, बेलायत, अमेरिका भारत र चीनको मिस्कट नपरोस् भनेर सतर्क थिए।
नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताहरूले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भएको थियो।
अहिले जमाना बदलिएको छ। दश वर्ष लगाएर बडो कष्टका साथ ठसठसी कनीकनी लेखिएको थियो संविधान। भारतका हालका बिदेशमन्त्री जयशंकर प्रसादले काठमाडौँ आएर थर्काउँदा पनि हामी थर्किएनौ भनेर नेपाली नेताहरू आफ्नो गुनगान अझै गाउँदैछन्। उता संविधान निष्क्रियताको बाटोमा लागेको अनुभव गर्न थालेका छन् मानिसहरू।
संविधानको महत्वपूर्ण पाटो संघीय संरचनालाई कांग्रेस, माओवादी, एमाले सबैले झन्झट मान्न थालेका छन्। देशमा द्वन्द्वको अवस्था अहिले पनि सक्रिय छ। संविधानले एकै झमटमा गाउँलाई नगरपालिका बनाएको छ। तर, मानिसका सामान्य आबश्यकताको पहिचान गर्ने चेष्टासम्म गरेको छैन। समावेशी शब्दको अर्थ र तात्पर्य दुबैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा।
जनयुद्धमा सत्र हजार जनता मारिएकोमा माओवादीको सत्तो–सराप गर्नेहरू शाही सेनाबाट मारिएका जनताको हिसाब–किताब गर्न अलिकति पनि उत्सुक देखिँदैनन्। युद्धको समयमा भेरी, कर्णाली, तीला र पूर्व पश्चिमका ठूलासाना नदीहरू र देशका अरू नदीहरूको भेलमा कतिलाई जवर्जस्ती हेलिएको थियो ? त्यो न माओवादीलाई थाह छ, न अरू कसैले त्यसको अभिलेख राखेको छ।
एकताका एमालेका बरिष्ठ नेता खड्गप्रसाद ओलीको भनाइ ‘नेपालमा गणतन्त्र आउनु भनेको गोरुगाडा चढेर अमेरिका पुग्न खोजेजस्तै हो’ निकै चर्चित थियो। उखान टुक्का र कथा कहानीमा रुचिराख्ने चाखलाग्दो ब्यक्तित्व छ ओलीको। उनी प्रधानमन्त्री भएको समयमा नेपालले आफ्नो विदेश नीतिका प्राथमिकता बदलेको थियो। अहिले भारतसँगको खुला सीमाना बन्द गर्नुपर्ने बिचार जागृत हुँदैछन्।
उसो त, चीनसँग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेको छ। चीन चिढिएला भनेर राजाहरू समेत सतर्क रहन्थे। नेपालको सरकारले तिब्बत चीनमा गाभिँदा पनि केही बोलेन।
सन १९८९ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको माग गर्दै बेइजिङको तियानमेन स्क्वायरमा ‘चार जूनको आन्दोलन गर्ने’ युवा बिद्यार्थीहरुको दमन र हत्याका समाचार नेपालका भारदार वर्गले पढेकै छैन जस्तो पो छ!
अहिले एकथरि वामपन्थीहरू रन्थनिएका छन् नेपालमा एमसीसीको उपस्थितिले। शीतयुध्दकालमा युरोप अमेरिकाका मानिसहरू जे कुरामा पनि फाँसीवादको संलग्नता देख्थे रे। नेपालमा अहिले भारतको बाटो एमसीसी आएको छ। एमसीसी चीनकै बाटो पनि आउन सक्छ। आज नआए भोलि आउँछ। नबिर्सौँ, चीनसँग मूठभेड नगरेर उसलाई आर्थिक विकासमा संलग्न गराउने नीति लिएका थिए अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले। उनलाई सघाएका थिए हेनरी किसिंजरले।
यसकालागि निक्सनले चीनको भ्रमण गरेका थिए सन् १९७२ मा। कम्युनिष्टहरुकाबीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ। सोभियत संघसंगको सीमा युद्धले माओ उद्विग्न बनेका थिए। त्यही रन्कोमा उनले अमेरिकासँग मित्रताको हात बढाएका थिए।
माओत्से तुंगमा ब्यबहारवाद प्रचुर मात्रामा थियो। उनको राजनीति र कूटनीति नैतिक र सैद्धान्तिक आधारमा होइन, तत्कालीन परिस्थितिका आधारमा निर्भर हुन्थ्यो। उनी भन्थे, ‘थोरै क्रान्ति, धेरै आवश्यकताका आधारमा कूटनीति।’ माओको यो नीतिको अवलम्बन अहिलेसम्म भएको छ। नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेको छ। यो सत्य हो,
बितेको पचास वर्षमा आर्थिक विकासमा चीनले छलांग मारेको छ। चीनका जनताले अनेकौँ दुःख कष्ट सहेर अदम्य साहसका साथ विकास गरेका छन्। चीनले एक्लै विकास गरेको होइन। चीनको यो छलाङमा अमेरिका र युरोपका देशहरूले साथ दिएका छन्।
यो होइन कि, चीन अहिलेसम्म राजनीतिमा लागेका नेपाली नेताहरूको ‘मौलिक’ चरित्रसँग अनभिज्ञ छ। त्यो मामिलामा चिनियाँहरू माहिर छन्। चीनका नेताहरूले नेपाली नेताहरूको नाडी छामी सकेका छन्। नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन्। त्यसबाट आकर्षित भएका छन्। त्यसैले, चीनका नेताहरू बेलाबेलामा नेपालमा राजदूत भै सकेका ब्यक्तित्वहरुलाई भाषण गर्न काठमाडौँ पठाएर नेपाली जनतालाई उनीहरूको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन्।
हामीले जानेका छौँ गफ गर्न। हाम्रा सरकारहरूले जानेका छन् छड्के हान्न। आफ्ना कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा सक्रिय गराएर विरोधीको मान–मर्दन गर्न जानेका छन्।
नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा नेपालको नक्सामा देखाइएको लिम्पियाधुरा र लिपुलेकको नक्सा हेरेर दङ्ग परेको जनता चीनले अरुणाचललाई आफ्नो भूमिमा समावेश गरेर बनाएको नक्सामा लिम्पियाधुरा र लिपुलेख नपरेपछि रन्थनिएका छन्।
तै पनि, रैथाने र पुरानिया भारदारहरूले काउकुती लगाइदिएकाले उनीहरू खुसी छन्। हामी नेपाली सारमामात्रै सबै कुरा बुझ्छौ– जस्तो गीतासार। श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको सार आठ पंक्तिमा।
एकताका शहरका पुस्तक पसलहरूमा एउटा पोस्टर पाइन्थ्यो– कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन्? आजकाल त्यस्तो पोस्टर कसैले बेच्दैन। किनभने, अहिले स्वर्ग–नर्ककाबिच कुनै भेद छैन। भेदहरू मेटिएका छन्। तै पनि केही मानिसहरू ज्ञानेन्द्र महाराजको पुनर्स्थापनाको लडाइँमा लाग्न तातिएका छन्।
मंसिर ८, २०८० शुक्रबार १९:३०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।