तीनकुनेका पैदल यात्रुसँग परिचय पत्र मागेर सोधपुछ गर्दै प्रहरी

तीनकुनेका पैदल यात्रुसँग परिचय पत्र मागेर सोधपुछ गर्दै प्रहरी
तस्बिर- भोला अधिकारी/उकेरा

काठमाडौं : गणतन्त्रविरोधी अभियन्ताको रुपमा चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्ने भनेको आन्दोलनका कारण तीनकुने भएर हिँड्ने सर्वसाधारणले सास्ती पाएका छन्।

अहिले तीनकुने भएर यात्रा गर्ने पैदल यात्रुलाई प्रहरीले शंकाको दृष्टिले हेरिरहेको छ। प्रहरीले पैदल यात्रुलाई समेत सोधपुछ गर्दै हैरानी र सास्ती दिएको छ। केही सर्वसाधारण सँग त परिचय पत्र नै मागेर केरकार गरेको छ।

प्रहरीले सर्वसाधारणको मोबाइलसमेत चेक गरेको छ।

बिहीबार बल्खुमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेपछि प्रसाईंले पत्रकार सम्मेलन गर्दै शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने र निषेधित क्षेत्र तोड्ने बताएका थिए। बिहीबारको प्रदर्शनमा प्रसाईं पक्षका २६ जना घाइते भएका थिए।.

त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रसाईं नेतृत्वको संस्थाले तीनकुनेमा कार्यक्रमका लागि कुनै अनुमति नलिएकाले कुनै कार्यक्रम गरिए कारबाही गर्ने चेतावनी दिएको थियो।

सोहीअनुसार शुक्रबार तीनकुनेबाट प्रहरीले प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागी हुन आएका २६ जनालाई पक्राउ गरिसकेको छ। अहिले पनि त्यहाँ रहेका प्रसाईं समर्थक तथा शंकास्पदलाई प्रहरीले केरकार गरिरहेको छ।

उता जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रदर्शनमा सहभागी हुन तीनकुने आउन लागेका प्रसाईंलाई भक्तपुरस्थित घरमा नै रोकेको छ।

जिल्ला प्रशासनसँग समन्वय गरेर कार्यक्रम स्थल यकिन गरेपछि मात्र प्रसाईंलाई काठमाडौंमा जान दिने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठको भनाइ छ।

मंसिर ८, २०८० शुक्रबार १३:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।