प्रसाईँको प्रदर्शनमा प्रहरीले हान्यो ११ वर्ष अघि म्याद सकिएको विषालु टियर ग्याँस

प्रसाईँको प्रदर्शनमा प्रहरीले हान्यो ११ वर्ष अघि म्याद सकिएको विषालु टियर ग्याँस

काठमाडौँ : स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्न तोकेको क्षेत्र छाडेर दुर्गा प्रसाईँको समूह ‘शहर पस्ने’ प्रयासगर्दा प्रहरीले बल प्रयोग गर्यो। प्रदर्शनकारीहरूलाई भित्री शहरी क्षेत्रमा प्रवेश गराउन प्रसाईँले नै उत्तेजित पारेका थिए।

प्रसाईँले उत्तेजक भाषण गर्दै ‘अब शहर पस्ने’ भनेपछि बल्खुको सडकमा शान्त बसेका प्रदर्शनकारीहरू कालीमाटीतिर जाने प्रयास गरे। प्रहरीले रोक्न खोज्दा सुरक्षा घेरा तोड्ने प्रयास भयो। अनि प्रहरीले वाटर क्याननबाट पानीको फोहोरा हान्यो। प्रहरीले टियर ग्याँस। 

भिडमाथि हस्तक्षेप गर्न प्रहरीले प्रहार गरेको टियर ग्याँस अवैध र विषालु थियो। प्रदर्शनस्थलमा फेला परेको टियर ग्याँसको सेल अनुसार प्रदर्शनकारीमाथि प्रहार भएको टियर ग्याँस एक वा दुई हैन ११ वर्ष अगाडि नै प्रयोग गर्न नमिल्ने भइसकेको थियो।

बल्खुमा प्रयोग भएको टियर ग्याँसको सेलको म्याद २०१२ अगस्तमा नै सकिइसकेको उल्लेख छ। यसबारे नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतसँग जिज्ञासा राख्दा उनले भने ‘यसबारे मलाई केही जानकारी भएन। म भोलि बुझेर भन्छु।’

नेपालले अन्तर्राष्ट्रिय फोरममा गरेको हस्ताक्षर अनुसार भिड नियन्त्रणमा टियर ग्याँसको प्रयोग नै गर्न पाइँदैन। तै पनि भिड नियन्त्रणका लागि पुरानै शैलीको प्रयोग रोकिएको छैन। टियर ग्याँस हान्नु सामान्य समान बनेको छ। त्यसमा पनि म्याद गुज्रिएको टियर ग्याँस प्रयोग गर्नु गैरकानुनी हो।

‘जर्नल अफ इन्भायरोमेन्टल एनालिटिकल केमेस्ट्री’ का अनुसार सन् १९९३ को ‘केमिकल वीपन्स् कन्भेन्सन’ ले सिएन टियर ग्याँसको प्रयोगमा रोक लगाउनुपर्ने निष्कर्ष निकालेको थियो। त्यसको एक वर्षपछि, सन् १९९४ देखि १९९७ सम्ममा अङ्गोला, इजिप्ट, उत्तर कोरिया, सोमालिया बाहेक प्रायः धेरै देशले यो कन्भेन्सनमा हस्ताक्षर गरेका छन्। नेपाल पनि यसको हस्ताक्षरकर्ता हो। तर, पनि यसको प्रयोग रोकिएको छैन।

नेपाल प्रहरीले अहिले पनि सिएन ग्याँस प्रयोग गरिरहेको। प्लास्टिक वा रबरभित्र राखिने हुँदा त्यहाँ भित्र त्यो ‘रियाक्टिभ’ भएको हुन्न, अर्को कुनै पदार्थको संसर्गमा आएपछि नै ‘रियाक्टिभ’ हुने हो।

हानिकारक विष भएकाले त्यसको विषालु गुण यथावत् हुन्छ। म्याद सकिएपछि यो अर्कै विष बन्छ कि बन्दैन भन्नेबारे प्रस्ट छैन, तर टियर ग्याँसको प्रभावकारी भने धेरै राखेपछि स्वतः घट्छ। 

मंसिर ७, २०८० बिहीबार १९:२०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।