सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि गल्फर सद्भावलाई
काठमाडौँ : गल्फर सद्भाव आचार्यले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन्। उनले दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराउँदै उपाधि जितेका हुन्।
सूर्य नेपाल गल्फ टुर अन्तर्गत यो सिजनको पहिलो प्रतियोगिता हो। उनले यसअघि गत सिजनको सूर्य नेपाल च्यालेन्ज जितेका थिए।
प्रतियोगिताको अन्तिम दिन बिहीबार ३-अन्डर ६९ स्कोर गर्दा सद्भावले समग्रमा १७-अन्डर २७१ को उत्कृष्ट नतिजा ल्याएर सहभागी ३३ प्रोफेसनल गल्फरलाई पराजित गरेका हुन्। उनले प्रोफेसनल र एमेच्योर दुवैतर्फको उपाधि जितेका छन्।
इभन-पार ७२ खेल्दै समग्रमा १०-अन्डर २७८ सहित दिनेश प्रजापति दोस्रो भएका थिए। ७-अन्डर २८१ को नतिजामा भुवन नगरकोटी तेस्रो भए। २-ओभर ७४ स्कोर गरेका सञ्जय लामाले समग्रमा इभन-पार २८८ प्रदर्शनमा चौथो भएका थिए।
समग्रमा २-ओभर २९० को स्कोरमा नीरज तामाङ पाँचौँ भए। पहिलो दिनका लिडर टासी छिरिङ एमेच्योरतर्फ दोस्रो भए। बिहीबार ३-ओभर ७५ स्कोर गरेका उनले समग्रमा ३-ओभर २९१ को नतिजामा प्रतियोगिता सकाएर समग्रमा छैटौँ भएका थिए।
समग्रमा ४-ओभर २९२ सहित रबी खड्का सातौँ भए। उनले बिहीबार इभन-पार ७२ मा खेल सकाएका थिए आज ७-ओभर ७९ सहित समग्रमा ५-ओभर २ सय ९३ मा खेल सकाउँदै जयराम श्रेष्ठ आठौँ भए।
समग्रमा ६-ओभर २ सय ९४ सहित धनबहादुर थापा र तोरण विक्रम शाही संयुक्तरुपमा नवौँ भए। धनले ६-ओभर ७८ र तोरणले ३-अन्डर ६९ स्कोर गरेका थिए।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका उपाध्यक्ष (मार्केटिङ) दीप्रा लाहिरी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए।
७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडी सहभागी थिए।
मंसिर ७, २०८० बिहीबार १७:५६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।