सबैभन्दा धेरै आयकर तिरेर सम्मानित भएका विजयकुमार शाह को हुन्?

सबैभन्दा धेरै आयकर तिरेर सम्मानित भएका विजयकुमार शाह को हुन्?

काठमाडौँ : व्यक्तिगत आयबाट सर्वाधिक आयकर तिरेर सम्मानित हुनेमा उद्योगी विजयकुमार शाहले ह्याट्रिक गरे। उनलाई बिहीबार अर्थमन्त्री डा प्रकाशशरण महतले अन्य १५ संस्थासँगै व्यक्तिगततर्फ आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै आयकर तिरेकोमा सम्मान गरे। उनी तेस्रो पटक सम्मानित भएका हुन्।

बैंकर्स पृथ्वीबहादुर पाँडे सबैभन्दा पहिला सम्मानित भएका थिए। त्यसपछि निरन्तर व्यवसायी सिद्धार्थ शमशेर जबरा सर्वाधिक आयकर तिर्ने व्यवसायी भए।

बिहीबार सम्मानित भएका शाह नेपालको मदिरा उत्पादन क्षेत्रसँग जोडिएका उद्यमी हुन्। उनी जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन ब्रुअरी र विजय डिस्टिलरीमा आबद्ध छन्। उनको कम्पनीले रुस्लान भोड्कादेखि गोल्डेन ओकसम्म उत्पादन गर्छ।

नेपालगन्जमा जन्मिएका शाहको परिवार सन् १९५० देखि नै मदिरा व्यवसायमा संलग्न थियो। उनको परिवार परम्परागत तरिकाबाट मदिरा उत्पादनमा संलग्न थियो। शाह अमेरिका पढ्न गए। उताबाट व्यापार व्यवस्थापनमा स्नातकोत्तर गरेर नेपाल फर्किएका उनले मदिरा उत्पादनमा आधुनिक प्रविधि भित्र्याएका थिए।

उनले सन् १९७० मा आफ्नो स्थायी बसोबास रहेको जावलाखेलकै नामबाट डिस्टिलरी खोले। यो निजी लगानीमा सुरु भएको पहिलो नेपाली डिस्टिलरी पनि हो। उनले सन् १९७३ मा रुस्लान नाम राखेर भोड्का उत्पादन सुरु गरेका थिए। अहिले उनका दर्जनौँ कम्पनीहरू छन्। उनको उत्पादनले नेपालको मदिरा बजारको अधिकांश हिस्सा ओगटेको छ।

मंसिर ७, २०८० बिहीबार १७:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।