युवा संघको कार्यक्रम सकियो, बल्खुमा प्रसाईँ समूहको उग्रता जारी

युवा संघको कार्यक्रम सकियो, बल्खुमा प्रसाईँ समूहको उग्रता जारी

काठमाडौँ : महँगी र भ्रष्टाचारको विरोधमा युवा संघले तीनकुनेमा आयोजना गरेको विरोध प्रदर्शन सकिएको छ। भक्तपुर लगायतका विभिन्न स्थानबाट आएका प्रदर्शनकारीहरू काठमाडौँको तीनकुनेमा भेला भएर विरोध प्रदर्शन गरेका थिए। सुरक्षाको कसिलो घेरा निर्माण गरिएको थियो। तर प्रदर्शनकारीहरू संयमित भएकाले त्यहाँ कुनै झडप भएन।

सुरक्षाकर्मीले बल प्रयोग गर्नु परेन। कार्यक्रमलाई व्यवस्थित गर्न आयोजकले नै स्वयम् सेवकहरू परिचालन गरेको थियो। विरोध प्रदर्शनमा महेश बस्नेत लगायतकाले सम्बोधन गरेपछि कार्यक्रम सकिएको थियो।

उता व्यवस्था परिवर्तनको माग राख्दै बल्खुमा दुर्गा प्रसाईँ समूहले आयोजना गरेको विरोध प्रदर्शन उग्र बन्दै गएको छ। स्थानीय प्रशासनले बल्खुमा रहेको सुमो पार्कमा प्रदर्शनका लागि स्थान तोकेको थियो। तर प्रदर्शनकारीहरू सडकमै जम्मा भएका थिए।

उनीहरूले रिङरोड पार गरेर भित्री सहरमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीहरूले पानीको फोहोरा अनि अश्रुग्याँस प्रहार गर्नु परेको थियो। झडप बारम्बार भइरहेकाले सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ। उनीहरूले कालीमाटी कलङ्की लगायतका क्षेत्रबाट भित्री सहरी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरिरहेका छन्।

मंसिर ७, २०८० बिहीबार १५:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।