तीनकुनेको प्रदर्शन संयमित, बल्खुको उग्र

तीनकुनेको प्रदर्शन संयमित, बल्खुको उग्र

काठमाडौँ : युवा सङ्घ नेपालले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शन संयमित छ। प्रदर्शनकारीहरूले न प्रहरी घेरा तोड्ने प्रयास गरेका छन् न त झडप नै भएको छ। उता दुर्गा प्रसाईँ समूहको अगुवाइमा बल्खुमा भइरहेको प्रदर्शन भने अराजक बन्दै गइरहेको छ।

उनीहरूले पटक-पटक स्थानीय प्रशासनले तोकेको प्रदर्शनस्थल नाघेर कालीमाटीतिर आउने प्रयास गरिरहेका छन्। उनीहरू रिङरोडबाट भित्री सहर प्रवेश गर्ने प्रयासमा छन्।

युवा सङ्घको कार्यक्रम व्यवस्थित देखिन्छ। स्वयम् सेवकहरू परिचालन गरिएको छ। प्रदर्शनकारी आयोजकको नियन्त्रणमा देखिएका छन्। उता बल्खुको प्रदर्शनकारीहरू नेतृत्वहीन देखिन्छन्। प्रदर्शनकारीहरू नेतृत्वको नियन्त्रणमा देखिएका छैनन्।

उनीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस अनि पानीको फोहोरा समेत प्रयोग गर्नुपरेको थियो। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरेका थिए।

तीनकुनेमा भन्दा बल्खुमा सुरक्षाकर्मीको सङ्ख्या बाक्लो देखिन्छ। सुरक्षाकर्मीले सो क्षेत्रमा जामरको प्रयोग गरेर मोबाइल नेटवर्क अवरुद्ध बनाएको छ। तह-तहमा सुरक्षाको घेरा बनाइएको छ।

बिहान प्रदर्शनस्थलमा जानेक्रममा मोटरसाइकलमा रहेका युवा सङ्घका समर्थक र बल्खुमा भेला भइरहेका प्रसाईँ समूहका प्रदर्शनकारीबिच झडप भएको थियो। प्रहरीले बल प्रयोग गरेर बेलैमा स्थिति नियन्त्रणमा लिँदा अवस्था थप बिग्रन नपाए पनि प्रसाईँ समूहले बल्खुको प्रदर्शन उग्र बनाउने प्रयास गरिरहेका छन्।

मंसिर ७, २०८० बिहीबार १५:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।