प्रहरीले जामर राखेसँगै बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद

प्रहरीले जामर राखेसँगै बल्खु र तीनकुनेका प्रदर्शनस्थलमा सञ्चार सम्पर्क विच्छेद

काठमाडौं : उपत्यकाका दुई स्थानमा प्रहरीले मोबाइल नेटवर्क नियन्त्रणका लागि जामर भेहिकल सञ्चालन गरेको छ। बल्खु र तीनकुनेमा जामर सञ्चालनमा ल्याएको हो।

बिहीबार बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन छ भने राजधानीको तीनकुनेमा युवा संघको प्रदर्शन छ।

दुवै प्रदर्शनमा आवश्यकताअनुसार सहभागीका मोबाइल फोनको नेटवर्क नियन्त्रणका लागि प्रहरीले जामर भेहिकल तैनाथ गरेको हो। मोबाइलको नेटवर्क विच्छेद गराउन सो प्रविधिको प्रयोग गर्ने गरिन्छ।

मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शन बल्खुमा छ। उता तीनकुनेमा एमाले भ्रातृ संगठन युवा संघको प्रदर्शन छ।

प्रहरीले जामर प्रविधि चलाएसँगै दुवै प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ।

दुई भिन्न समूहले आयोजना गरेको शक्ति प्रदर्शनमा हिंसा भड्किन नदिन प्रहरीले कडा सुरक्षा प्रबन्ध गरेको छ।

तर, कलंकीबाट बल्खु हुँदै तीनकुनेको कार्यक्रम स्थलमा मोटरसाइकल र्याली निकालेर जान लागेको युवा संघको र्यालीलाई प्रसाईं नेतृत्वको समूहले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको छ।

मंसिर ७, २०८० बिहीबार १४:३४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।