ओली बिर्सँदै ज्ञानेन्द्रलाई महेश बस्नेतले भने, ‘एमालेको आर्शिवादले जितेको राजेन्द्र लिङ्देनले पछि लागेर बस’

ओली बिर्सँदै ज्ञानेन्द्रलाई महेश बस्नेतले भने, ‘एमालेको आर्शिवादले जितेको राजेन्द्र लिङ्देनले पछि लागेर बस’

काठमाडौं : एमाले नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईं र एमालेको आर्शिवादले जितेका राजेन्द्र लिङदेनले राजा फर्काउन नसक्ने कुरा बुझ्न आग्रह गरेका छन्।

युवा संघले बिहीबार काठमाडौंको तीनकुनेमा गरेको कार्यक्रममा एमाले नेता बस्नेतले एमालेको आर्शिवादले जितेका राजेन्द्र लिङ्देनको पछि लागेर केही पनि नहुने बताएका हुन्।

‘जुँगा मुठारेर बसेका ज्ञानेन्द्र तिमीलाई निर्मल निवासमा मन छ कि छैन?,’ उनले भने, ‘निर्मल निवासमा बस्न मन छैन भने  दुर्गा प्रसाईंको पछि लाग। एमालेले आर्शीवाद दिएर जिताएको राजेन्द्र लिङदेनले पछि लाग।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन्। उनलाई एमालेले समर्थन गरेको थियो। बिहीबारको कार्यक्रममा बस्नेतले यही प्रसङ्गलाई आफ्नो भाषणमा समेटेका हुन्।

तर यति भन्दै गर्दा बस्नेतले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भने भुले। एमाले अध्यक्ष ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। आफू जित्नका लागि ओलीले झापा–५ मा राप्रपासँग तालमेल गरेका थिए।

युवा संघले तीनकुनेमा प्रदर्शन गर्दा राजावादीहरूलाई समर्थन गर्दै दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन भने बल्खुमा भइरहेको छ।

मंसिर ७, २०८० बिहीबार १४:२०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।