सबैभन्दा धेरै कर तिर्ने संस्थामा सूर्य नेपाल, व्यक्तिमा विजयकुमार शाह

सबैभन्दा धेरै कर तिर्ने संस्थामा सूर्य नेपाल, व्यक्तिमा विजयकुमार शाह

काठमाडौँ : सरकारले नेपाल टेलिकम र डाबर नेपाल प्रालिलाई सबैभन्दा बढी आयकर तिरेको र सबैभन्दा धेरै निर्यात कारोबार गरेकोमा सम्मान गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन्।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ। अर्थमन्त्री महतले बिहीबार राष्ट्रिय कर दिवस २०८० को समापन गर्दै उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका थिए।

कार्यक्रममा सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, निर्यात कारोबार  गर्ने डाबर नेपाल प्रालि, विशेष उद्योगको रूपमा एसियन पेन्ट्स, कृषि एवम् पशुजन्यमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई सम्मानित भए।

बिमामा  लाइफ इन्स्योरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटनमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट, मध्यस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज, ऊर्जामा भोटेकोसी पावर कम्पनी, रेमिटेन्समा आईएमई लिमिटेड, व्यक्तिगत आयकरमा विजयकुमार शाह र आयकर, मूल्य अभिवृद्धि करसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने भन्दै संस्थागत रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको थियो।

करदाता सम्मान कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्करले उत्कृष्ट करदाताहरूलाई एक वर्षसम्म सिंहदरबार प्रवेशमा विशेष पासको व्यवस्था गरिएको जानकारी समेत दिएका थिए।

मंसिर ७, २०८० बिहीबार १३:५८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।