हरिबोधिनी एकादशी : विष्णुभक्तिको महान् पर्व
हिन्दू समाजमा एकादशी व्रतको ठूलो महत्त्व छ। भगवान विष्णुको उपासनाका लागि एकादशी तिथि उत्तम मानिएको हुनाले यसको महत्त्व बढेको हो।
प्रत्येक १५ दिनमा पर्ने एकादशीमध्ये आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशी अरू भन्दा अझ विशेष महत्त्वपूर्ण मानिन्छन्। नेपाली समाजमा यी दुई एकादशीलाई ठूली एकादशी भनिन्छ र श्रद्धापूर्वक व्रत उपवास गरिन्छ।
हरिबोधिनी एकादशी
कार्तिक शुक्ल पक्षको एकादशी हरिबोधिनी एकादशी हो। वर्षभरिका २४ र अधिकमास परेका वर्ष पर्ने २६ एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व छ। यो एकादशीमध्येको अन्तिम एकादशी हो। मंसिर कृष्ण पक्षको उत्पत्तिका एकादशीबाट सुरु भएको वार्षिक एकादशी-चक्र हरिबोधिनीमा आउँदा पूरा हुन्छ। यसपछि एकादशीको अर्को वार्षिक चक्र सुरु हुन्छ।
भविष्योत्तरपुराणमा वर्षभरिका सबै एकादशीको महिमा वर्णन गरिएको छ। यसैको एकादशीसम्बन्धी प्रसंगलाई उद्धरण गरेर एकादशी माहात्म्य सम्पादन गरिएको छ र श्रद्धालुहरूमाझ यो लोकप्रिय पनि छ। यसअनुसार आषाढ शुक्लपक्षको हरिशयनी एकादशीबाट भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने र कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशीका दिन विष्णु जागा हुने दिन हो। आषाढ शुक्ल हरिशयनी एकादशीबाट सुरु भएको चतुर्मास व्रत हरिबोधिनी एकादशीमा पूर्ण हुन्छ।
चतुर्मासभरि खासखास किसिमले व्रत गर्ने विधि बताइएको छ। चतुर्मासभरि भगवानलाई उद्देश्य गरेर बत्ती बाल्ने, साग वा फलफूलमात्र खाने, दूधमात्र खाने, केराका पातमा मात्र खाना खाने, टपरीमा मात्र खाने, तेल नलगाउने, नङ-केश नकाट्ने, भान्टा, करेला, गाजर, लौका, परवरजस्ता तरकारी नखाने, पान-सुपारी नखाने, खाटमा नसुत्ने, घर छोडेर बाहिर नजाने, अरूका घरको अन्न नखाने जस्ता व्रतको विधान शास्त्रमा बताइएको छ। यी व्रत पनि हरिबोधिनी एकादशीदेखि पूर्ण हुन्छन्। तर, चान्द्रमास अनुसार पूरा महिना व्रत गर्नेले पूर्णिमामा चतुर्मास व्रत समाप्त गर्ने विधान छ। यसरी चतुर्मासको अन्तिम एकादशी भएकाले पनि हरिबोधिनी एकादशीको महत्त्व बढेको हो।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म तुलसीको सेवा गर्ने अवधि हो। आषाढमा पर्ने हरिशयनी एकादशीमा तुलसीका बिरुवा रोप्ने विधान छ। त्यसबेला रोपेका तुलसी हरिबोधिनी एकादशीसम्ममा वयस्क भइसक्छन्। त्यसैले हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने विधान पनि छ।
तुलसी-विवाह
धार्मिक दृष्टिले तुलसी अत्यन्त पवित्र वनस्पति हो। स्कन्दपुराण, पद्मपुराण, ब्रह्मवैवर्तपुराण आदि पौराणिक ग्रन्थमा तुलसीको महिमा बताइएको छ। ब्रह्मवैवर्तपुराणको आख्यानअनुसार कृष्णकी प्यारी एउटी गोपिनीलाई राधाले अर्को जन्ममा पनि मानवी/नारी भएर नन्मनुपर्ने र सुदामालाई दानव हुनुपर्ने श्राप दिएकी थिइन्। त्यसैअनुसार ती गोपिनी धर्मध्वज राजाकी पुत्री तुलसीका रूपमा र सुदामा शंखचूडका रूपमा जन्मे। उनीहरूको विवाह भयो।
शंखचूडले ब्रह्माको तपस्या गरेर पत्नीको सतीत्व नाश नभएसम्म कसैबाट नमर्ने वर पाए। उनले देवलोकमाथि पनि अधिकार जमाए। देवताहरू ब्रह्मा, विष्णु र शिवका शरणमा गए। उनीहरूको सल्लाहअनुसार विष्णुले शंखचूडको रूप लिएर तुलसीको सतीत्व भंग गर्ने र शिवजीले शंखचूडको वध गर्ने योजना बन्यो।
त्यसैअनुसार कार्यसम्पन्न गरे। पछि तुलसीले विष्णुलाई चिनेर पत्थर हुनुपर्ने श्राप दिइन्। विष्णुले तुलसीलाई लक्ष्मी समानको स्थान दिने, उनको यो शरीर गण्डकी नदी हुने र उनको केशसमूह तुलसी नामको वनस्पति हुने व्यवस्था गरे। यसरी तुलसीको उत्पत्ति भएको हो।
स्कन्दपुराण र पद्मपुराणमा जालन्धर र वृन्दाको आख्यान तुलसीसँग जोडिएको छ। सबै पौराणिक आख्यानले तुलसी विष्णुप्रिया हुन् भन्ने कुरा पुष्टि गरेका छन्।
पद्मपुराणको प्रसंगअनुसार तुलसीका वृक्षमा सबै देवीदेवताको वास हुन्छ। तुलसीका पातको मध्यमा विष्णु, पातका टुप्पामा प्रजापति, डाँठमा शिव रहन्छन्। तुलसीका पुष्पमा लक्ष्मी, सरस्वती, गायत्री, चण्डिका, शची आदि देवपत्नी र हाँगामा इन्द्र, अग्नि, यम, निर्ऋति, वरुण, वायु, कुबेर बस्छन्।
त्यस्तै, सूर्यादि ग्रह, विश्वेदेव, वसु, मनु, देवर्षि, विद्याधर, गन्धर्व, सिद्ध, अप्सराहरू पनि तुलसीका पत्रमा बस्छन्। यसरी सबै देवीदेवताहरूको बास हुने भएकाले तुलसी पवित्र वनस्पति मानिएको हो। तुलसीको दर्शन, स्पर्श र सेवा गर्नाले महापातक पनि नाश हुने, तुलसीको चन्दन लगाउने, माला लगाउने गर्नाले विष्णुको कृपा प्राप्त हुने र तुलसीको सान्निध्यमा तुलसी मुखमा राखेर मृत्यु भयो भने वैकुण्ठपद प्राप्त हुने भन्ने पौराणिक कथन छ। गणेशबाहेक अरू सबै देवी-देवताको पूजामा तुलसीका पत्र र पुष्प पवित्र मानिन्छन्। विष्णुपूजामा तुलसीलाई अझ बढी पवित्र मानिन्छ।
चतुर्मासभरि तुलसीको सेवा गर्नुलाई महान् पुण्यकर्म मानिएको छ। हरिबोधिनी एकादशीमा यिनै तुलसीलाई साजसज्जा गरेर दामोदरसँग विवाह गरिदिने विधान छ। कतै-कतै तुलसी र पीपलको विवाह गरिदिने प्रचलन छ भने प्रायः शालिग्रामसँग तुलसीको विवाह गरिदिइन्छ। तुलसी विष्णुप्रिया र शालिग्राम तथा पीपल विष्णुका रूप भएकाले तिनीहरूको संयोग गराउनुलाई ठुलो पुण्य मानिएको हो। यस्तो पुण्यकर्मको शुभ अवसर हरिबोधिनी एकादशी हो।
कार्तिक महिनामा भीष्मपञ्चकका दिनमा शुभमुहूर्तमा मानिसको विवाहजस्तै बाजागाजासहित धूमधामसँग तुलसीको विवाह गरिदिने विधि हरिभक्तिविलासमा उल्लेख गरिएको छ।
चार नारायणको दर्शन
हिन्दू समाजमा अरू एकादशीमा व्रत गर्न नसक्नेले पनि हरिशयनी र हरिबोधिनी एकादशीको व्रत गर्छन्। हरिबोधिनी एकादशीमा उपवास बस्ने, भगवान् विष्णुको पूजा गर्ने, तुलसीको पूजा गर्ने, नैवेद्यका रूपमा फलफूल र कन्दमूल समर्पण गर्ने र भोकै बन नसक्नेले प्रसादस्वरूप तिनै फलफूल, कन्दमूल खाएर व्रत गर्ने, एकादशी माहात्म्य सुन्ने परम्परा छ। नेपालमा यस दिन सखरकन्द, पिँडालु, तरुल आदि कन्दमूल खाएर व्रत गर्ने चलन छ।
एकादशी व्रत विष्णुभक्तिको व्रत हो। त्यसैले एकादशीलाई हरिवासर पनि भनिएको छ। यस दिन घरघरमा लक्ष्मीनारायणको पूजा-अर्चना हुन्छ भने विष्णु मन्दिरहरूमा पूजा-अर्चना र दर्शन गर्न श्रद्धालुहरूको भीड लाग्छ।
हरिबोधिनी एकादशीका दिन काठमाडौं उपत्यकाका चार दिशामा रहेका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेषनारायण)को दर्शन गर्न ठुलो संख्यामा श्रद्धालुहरू जम्मा हुन्छन्। सक्नेले एकादशीका दिन व्रत गरी एकै दिन चार नारायणको दर्शन गर्ने पनि परम्परा छ। काठमाडौंबाहिर सुनसरीको वराहक्षेत्र, खोटाङको वराहपोखरी, पाल्पा रिडीको ऋषिकेशलगायतका स्थानमा यस दिन मेला लाग्छ।
भीष्मपञ्चक व्रत
हरिबोधिनी एकादशीका दिनदेखि भीष्मपञ्चक प्रारम्भ हुन्छ। पाँच दिनको यो व्रत पूर्णिमाका दिन समाप्त हुन्छ। पौराणिक आख्यानअनुसार महाभारत कालमा युद्धको अन्त्यमा भीष्मपितामह उत्तरायणको प्रतीक्षा गरेर शरशय्यामा सुतेका थिए।
युद्ध सकिएपछि श्रीकृष्णसहित पाण्डवहरू भीष्मपितामहलाई भेट्न गए। भीष्मपितामहको चाहनाअनुसार अर्जुनले बाण हानेर गंगाको उत्पत्ति गरे र भीष्मपितामहको तिर्खा मेटाइदिए। यो दिन हरिबोधिनी एकादशीको दिन थियो। यसै दिनदेखि पाँच दिनसम्म भीष्मपितामहले श्रीकृष्णसहित पाण्डवहरूलाई वर्णाश्रमधर्म, दानधर्म, राजधर्म, मोक्षधर्म, स्त्रीधर्म र भगवद्धर्मको उपदेश दिएका थिए। त्यसैले यी पाँच दिनलाई भीष्मपञ्चक भनिएको हो।
भीष्मपञ्चकमा पाँच दिनको व्रत गर्ने विधान छ। पाँच दिनसम्म व्रत गर्ने, भीष्मपितामहलाई अर्घ्य दिने, तर्पण गर्ने गरी अन्तिम दिन भीष्मलाई अर्घ्य दिने र विष्णुको पूजा गर्ने गरी भीष्मपञ्चकको व्रत समापन गरिन्छ। सन्तानप्राप्तिका लागि भीष्मपञ्चकको व्रत फलदायी हुने कुरा शास्त्रमा बताइएको छ। यो अवधि दीक्षा ग्रहण गर्नका लागि पनि उत्तम मानिएको छ।
पौराणिक कथनअनुसार आफ्नो प्रतिज्ञामा अडिग रहेका भीष्मपितामह शन्तनु र गंगाका पुत्र हुन्। अघिल्लो जन्ममा उनी अष्टवसुहरूमध्ये एक थिए। शापवश उनी शन्तनु र गंगाका पुत्रका रूपमा जन्मेका थिए। उनले इच्छामरण पाएका थिए, चाहेसम्म उनी बाँच्न सक्थे। आजीवन ब्रह्मचर्यमा रहेर उनले पितामातालाई दिएको वचन पूरा गरेका थिए। उनको ज्ञान, क्षमता र त्यागले गर्दा श्रीकृष्णसमेत उनका अगाडि श्रद्धावनत थिए। त्यसैले भीष्मका उपदेश पाँच दिनसम्म श्रीकृष्णले समेत सुनेर बसेका थिए।
भीष्मलाई अर्घ्य दिनाले वंशको कल्याण हुने, सन्तान प्राप्ति हुने र कुलमा नै उदात्त भावनाको विकास हुने शास्त्रीय मान्यता छ। त्यसैले भीष्मपञ्चकमा व्रत गरे पनि नगरे पनि प्रत्येक दिन नित्यकर्मको अन्त्यमा भीष्मपितामहलाई अर्घ्यचाहिँ दिने परम्परा छ। भीष्मलाई अर्घ्य दिने मन्त्र यो हो-
वसूनामवताराय शन्तनोरात्मजाय च ।
अघ्र्यं ददामि भीष्माय ह्याबालब्रह्मचारिणे ।।
एकादशी व्रतको विधि
अरू एकादशीको व्रतमा जस्तै हरिबोधिनी एकादशीको व्रतमा पनि अघिल्लो दिन नित्यकर्म सकेर ‘म हरिबोधिनी एकादशीको व्रत गर्छु, हे भगवान्, यसमा विघ्नबाधा नपरून्’ भनेर संकल्प गरिन्छ। यस दिन नङ-केश काट्ने, शुद्ध आचरण गर्ने, शुद्ध भोजन गर्ने गर्नुपर्छ। विधिवत् व्रत गर्नेले दशमीका दिन दुई छाक नखानू भन्ने विधान छ।
एकादशीका दिन बिहान नित्यकर्म गरेर भगवान् विष्णुलाई जागा गराइन्छ। विष्णुलाई जागा गराउँदा यो मन्त्र भनिन्छ-
उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते ।
त्वया चोत्थीयमानेन प्रोत्थितं भुवनत्रयम् ।।
भगवान्लाई जागा गराएर दामोदर नामले उपलब्ध पूजा-सामग्री समर्पण गरेर पूजा गरेपछि तुलसीको पूजा हुन्छ। तुलसीको मठ लिपपोत गरेर सिँगार्ने, मठनजिकै पताकासहितको लिंगो गाड्ने, फूलमाला, चन्दन आदिले तुलसीलाई सजाउने गरेर तुलसीको पूजा गरिन्छ। ब्रह्मवैवर्तपुराण अनुसार तुलसीलाई यी आठ नाममन्त्रले पूजा गरिन्छ-
वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् ।
पुष्पसारां नन्दिनीं च तुलसीं कृष्णजीवनीम् ।। ॐ तुलस्यै नमः ।
आपूmले रोपेर हुर्काएकी तुलसीको हरिबोधिनी एकादशीमा शालिग्रामसँग विवाह गरिदिनाले कन्यादान गरेभन्दा बढी अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा बताइएको छ।
हरिबोधिनी एकादशीका दिन नदीको पूजा गर्ने, नदी वारपार गरेर तोरण टाँग्ने परम्परा पनि देखिन्छ। यस दिन एकादशी माहात्म्य सुन्ने, हरिकीर्तन गर्ने गरेर जाग्राम बस्नू भन्ने शास्त्रीय विधान छ।
द्वादशीका दिन विष्णुपूजन, तुलसीपूजन, एकादशी देवीको पूजन गरेर हवन गरिन्छ र भगवान्लाई व्रत समर्पण गरिन्छ। व्रत समर्पण गर्दा यो मन्त्र भन्नुपर्छ-
अज्ञानतिमिरान्धस्य व्रतेनानेन केशव ।
प्रसीद सुमुखो नाथ ज्ञानदृष्टिप्रदो भव ।।
अन्त्यमा अर्घ्य दिएर समापन गरिन्छ। वर्षभरि अरू यज्ञयाग गर्न नसके पनि तुलसीको होम हाल्नै पर्छ भन्ने संस्कार नेपाली समाजमा छँदै छ।
एकादशी व्रतबारे शास्त्रीय व्यवस्था
कहिलेकाहीँ एकादशी दुई दिन परेको अवस्थामा अघिल्लो दिन व्रत गर्ने कि पछिल्लो दिन गर्ने भन्नेबारे चर्चा र बहस भएको पाइन्छ।
यसपल्ट पनि मंसिर १० गते र ११ गते एकादशी परेकाले कुन दिन उपवास गर्ने भन्ने चर्चा सुनिएका छन्। यसको सबैभन्दा सजिलो समाधान पञ्चाङ निर्णायक समितिबाट स्वीकृत पञ्चाङको प्रयोग गर्नु नै हो।
एकादशी उपवास गर्दा दशमीयुक्त एकादशी होइन द्वादशीयुक्त एकादशीको व्रत गर्नू भन्ने विधान छ। जुन दिन बिहान अरुणोदय कालमा एकादशी तिथि छ त्यो दिन एकादशी उपवास गरिन्छ। दशमी ५५ घडीभन्दा बढी छ भने त्यस दिन एकादशी उपावास नगरेर अर्को दिन गर्नू भन्ने कुरा गर्गसंहितामा यसरी उल्लेख गरिएको छ-
दशमी पञ्चपञ्चाशद् घटिका चेत् प्रदृश्यते ।
तर्हि चैकादशी त्याज्या द्वादशीं समुपोषयेत् ।।
योलगायत अरू थुप्रै भनाइहरूले द्वादशीयुक्त एकादशीको व्रत गर्नुपर्ने निर्देश गरेका हुनाले यसपल्ट मंसिर ११ गते बिहिबारका दिन हरिबोधिनी एकादशी व्रत परेको छ। यसैअनुसार गर्नु शास्त्रसम्मत छ।
मंसिर ७, २०८० बिहीबार ०७:१०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।