महेश बस्नेत र  प्रसाईंबीच पोल खोल्ने प्रतिस्पर्धा

महेश बस्नेत र  प्रसाईंबीच पोल खोल्ने प्रतिस्पर्धा

काठमाडौं : एमालेको युवा सङ्गठन ‘राष्ट्रिय युवा संघ नेपाल’ले बिहीबार गर्न लागेको आन्दोलनको कारण सरकार देखिन्छ। बढ्दो महँगी लगायतका विषयमा खबरदारी गर्न प्रदर्शन गर्न लागेको युवा सङ्घले दाबी गरिरहे पनि उनीहरूको टार्गेट सरकार हैन दुर्गा प्रसाईं देखिन्छ।

दुर्गा प्रसाईंले मंसिर ७ गते आन्दोलनको घोषणा गरिसकेपछि नै युवा सङ्घले पनि त्यही मितिमा प्रसाईं समूहले नै तोकेको माइतीघर क्षेत्र तोकेर आन्दोलनको घोषणा गरेको थियो।

यो बीचमा प्रसाईं र एमाले नेता महेश बस्नेतबीच एकले अर्काको पोल खोल्ने प्रतिस्पर्धा नै चल्यो। प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा तीस अर्ब लगानी रहेको दाबी गरेपछि ‌‌ओली आफैँ प्रतिरक्षामा उत्रँदै विदेशमा आफ्नो लगानी नभएको भन्दै प्रस्टीकरण दिनु परेको थियो।

यहीबिचमा एमाले नेता महेश बस्नेत र एक युवतिबिचको अन्तरङ्ग दृश्यसहितको भिडियो क्लिप सार्वजनिक भयो। बस्नेत समूहले सो क्लिप दुर्गा प्रसाईंले सार्वजनिक गराएको आरोप लगाएपछि दुर्गाले’ आफैँ कोठामा के-के गर्ने अनि मलाई दोष लगाउने भन्दै प्रतिवाद गरेका थिए।

सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा यी दुवै नेताबीच तल्लोस्तरमा आरोप-प्रत्यारोप चलिरहेकै छ। अहिले सामाजिक सञ्जालमा एक युवतीसँग प्रसाईंको सम्बन्धबारे भएको कुराकानीको अडियो भाइरल भइरहेको छ।

अहिले दुबईमा रहेका रिजवान आलमले दुर्गाको पोल खोलिरहेका छन्। उनले दुबईमा मेडिकल कलेजमा लगानी गर्ने भन्दै नेपालबाट १५ करोड हुन्डी गरेर दुबई लगेको तर सर्त अनुसार दुई अर्बको पैसा ल्याउन नसकेपछि पैसा फिर्ता लगेको दाबी गरेका छन्।

उता रिजवानले प्रसाईंले ठगी गरेको दाबी गरिरहेका छन् भने यता प्रसाईंले  रिजवानले आफूलाई ठगी गरेको दाबी गरिरहेका छन्। यहीबिचमा प्रसाईंले कुनै व्यक्तिसँग एक युवतीले बदनाम गराइदिन्छु भनेर मेसेज गरेर हैरान बनाएको भन्दै अश्लील गाली गरेको अडियो समेत बाहिरिएको छ। दुर्गाले भने सम्पादन गरेर बदनाम गराउन खोजेको दाबी गरेका छन्।

प्राइमटिभीसँगको कुराकानीमा प्रसाईंले आफूले युवतीको शवको बारेमा कुरा गरेको तर कुराकानी काटकुट पारेको दाबी गरेका छन्। उनले भनेका छन्’ केटीको शव पठाउनु भनेको शव काटेर केटी ल्याउनु बनाएछन्’। तर सार्वजनिक भएको अडियो सम्पादन गरेको जस्तो सुनिँदैन।

दुर्गाले यसलाई आफ्नो चरित्रहत्या गर्ने प्रयास गरेको दाबी गर्दै प्राइमटिभीमा भनेका छन् कुनै युवतीसँग सम्बन्ध भए ल्याउन चेतावनी दिँदै सबैलाई एउटा-एउटा घर बनाएर राखिदिने’ बताएका छन्।

‘मेरा बाउले सातवटी ल्याएका हुन्। केटीहरू ल्याउन न घर बनाएर राखिदिन्छु’ उनले भनेका छन्।

मंसिर ६, २०८० बुधबार २०:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।