इन्साइडर ट्रेडिङका आरोपी रिडी पावरका तत्कालिन अध्यक्ष न्यौपाने विरुद्ध बिशेषमा सम्पत्ति शुद्धीकरण मुद्दा

इन्साइडर ट्रेडिङका आरोपी रिडी पावरका तत्कालिन अध्यक्ष न्यौपाने विरुद्ध बिशेषमा सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। विभागले न्यौपानेलाई १ करोड ९९ लाख १० हजार रुपैयाँ बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै, सम्पत्ति शुद्धीकरण ( मनि लाउन्डरिङ) निवारण ऐनको दफा ३ को उपदफा १ को खण्ड (क),(ख) र (ग) अनुसार मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण ऐनको (क) अनुसार ‘सम्पत्तिको गैर कानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्ने र

खण्ड (ख) मा कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निः सर्ग (डिपोजिसन), कारोबार (मुभमेण्ट), स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने वा र खण्ड (ग)मा कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने’ भन्ने व्यवस्था छ।

त्यस्तै, विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २५ को २  ‘प्रचलित कुनै कानुन अन्तर्गतको कसुरमा संलग्न व्यक्तिले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसुर मानिने कार्य गरेको देखिएमा त्यस्तो कसुर अनुसन्धान गर्ने निकाय वा अधिकारीले विभागलाई सोको जानकारी दिनुपर्दछ।’ भनी ऐनमा उल्लेख गरिएको छ।

न्यौपाने रिडी पावर कम्पनी लिमिटेडमा २०७९ चैत्र १९ गतेदेखि २०७८ साउन २४ गतेसम्म कम्पनीको अध्यक्ष पदमा रहेको समयमा भित्री सूचना प्राप्त गरी सेयर खरिद गरेका थिए।

त्यस्तै, धितोपत्र बोर्डले भित्री सूचना प्राप्त गरेर सेयर खरिद गरेको भन्दै उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

मंसिर ६, २०८० बुधबार १६:४३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।