युवा संघ र प्रसाईँको प्रदर्शनको सुरक्षामा १० हजार सुरक्षाकर्मी, डिआइजीको नेतृत्वमा कमान्ड सेन्टर

युवा संघ र प्रसाईँको प्रदर्शनको सुरक्षामा १० हजार सुरक्षाकर्मी, डिआइजीको नेतृत्वमा कमान्ड सेन्टर

काठमाडौँ : एमालेको युवा संघ नेपाल दुर्गा प्रसाईँ समूहको विरोध प्रदर्शनको सुरक्षाका लागि १० हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन्। सुरक्षा सङ्गठनको आङ्कलनमा दुवैतर्फको प्रदर्शनकारीको सङ्ख्या १० हजार हाराहारीकै हुने देखिन्छ।

दुबैपक्षको प्रदर्शन सरकार र व्यवस्थाविरुद्ध देखिए पनि व्यक्तिगत दुस्मनीको तह देखिएकाले सामान्य चुक समेत नहोस् भनेर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको एक उच्च प्रहरी अधिकारीले उकेरालाई बताए।

प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ। नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले ब्याकिङ गर्नेछ। सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकदारी प्रहरी समेत परिचालित भइसकेका छन्।

स्थानीय प्रशासनले युवा सङ्घलाई विरोध प्रदर्शनका लागि तीनकुने तोकेको छ भने प्रसाईँलाई बल्खु। बल्खुको पार्कमा उनीहरूलाई राख्ने प्रयास भएकोमा अस्वीकार गरेपछि सुमो पार्किङ क्षेत्र तोकिएको छ।

दुवै पक्षले भक्तपुरमा शक्ति प्रदर्शन गरेर तोकिएको स्थानसम्म र्याली गरेर भेला हुने तयारी गरेका छन्। र्यालीको रुट बनाउँदा दुवै समूहको प्रदर्शनमा सहभागीहरू भेट नहुने गरी रुट मिलाइएको एक सुरक्षा अधिकारीले बताए।

दुवै समूहले लाख बढी प्रदर्शनकारी प्रदर्शनमा सहभागी हुने दाबी गरे पनि बुधवारसम्मको सुरक्षा सङ्गठनको आङ्कलनमा दुवै समूहमा पाँचदेखि ७ गरेर बढीमा १५ हजार प्रदर्शनकारी सहभागी हुने देखिन्छ। प्रसाईँको प्रदर्शनमा सहभागी हुन काठमाडौँभित्रबाट भन्दा पनि बाहिरबाट प्रदर्शनकारीहरू आइरहेका छन्।

डिआइजीको नेतृत्वमा उपत्यका कमान्ड, ड्रोनको निगरानी

प्रदर्शनमा परिचालित सुरक्षाकर्मीको परिचालन र अनुगमनका लागि उपत्यका प्रहरी कार्यालयमा डिआइजीको नेतृत्वमा कमान्ड सेन्टर राखिने भएको छ। कमान्ड सेन्टरको नेतृत्व डिआइजी लालमणि आचार्यले गर्ने छन्। कमान्ड सेन्टरमा अन्य दुई सङ्गठनका प्रतिनिधिसँगै नेपाली सेनाको प्रतिनिधि समेत रहनेछन्।

जिल्ला तहमा जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको कमान्ड पोस्ट रहनेछ। दुवै स्थानको फिल्ड कमान्डर एसपीतहका प्रहरी अधिकृतले गर्दैछन्। तीनकुने क्षेत्र नो फ्लाई जोन भएकाले क्लोज सर्किट टेलिभिजनबाट निगरानी राख्ने र बल्खुमा ड्रोनबाट समेत सुरक्षा निगरानी राख्ने तयारी भएको छ।

प्रदर्शनस्थलमा घुसपैठ हुन नदिन तथा प्रदर्शन उग्र बन्न नदिन वाटर क्याननसहितको सुरक्षा प्रबन्ध गरिएको एक सुरक्षा अधिकारीले बताए।

प्रदर्शनका कारण सवारी आवागमनमा अवरोध हुनसक्ने भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरिसकेको छ।

बुधवार निकालिएको सूचनामा विभिन्न समूहद्वारा र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यकाभर सवारी आवागमनमा असहजता हुनसक्ने उल्लेख गरेको छ।

‘सुरक्षा प्रबन्ध बलियो छ’

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले विरोध प्रदर्शनलाई व्यवस्थित गर्न सबै सुरक्षा प्रबन्ध मिलाइसकेको जानकारी दिए। सुरक्षा निगरानीमा प्रविधिको प्रयोग गर्ने , अवाञ्छित  घटना हुन नदिन आवश्यक सबै तयारी भइसकेको उनले उकेरासँग बताए।

मंसिर ६, २०८० बुधबार १६:३३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।