दुई समूहबीचको प्रदर्शनअघि प्रहरीको उच्च निगरानीमा काठमाडौंका धर्मशाला र पार्टी प्यालेस

दुई समूहबीचको प्रदर्शनअघि प्रहरीको उच्च निगरानीमा काठमाडौंका धर्मशाला र पार्टी प्यालेस

काठमाडौं : मंसिर ७ गते दुई वटा समूहले आयोजना गर्ने प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निगरानीलाई तीव्रता दिइएको छ।

एमाले निकट युवा संघ र झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले त्यसदिन काठमाडौंमा ठूलो संख्यामा मानिसहरू भेला गरेर प्रदर्शन गर्ने घोषणा गरेका छन्।

युवा संघका नेता महेश बस्नेत र प्रसाईंबीच केही समयअघि परस्पर शक्ति प्रदर्शनको शैलीमा वादविवाद पनि भएको थियो। त्यसपछि दुई समूहका अगुवाले मंसिर ७ गते काठमाडौंमा ठूलो संख्यामा मानिसहरू उतारेर शक्ति प्रदर्शन गर्ने धम्की दिएका थिए।

उपत्यका बाहिरबाट धेरै मानिसहरू काठमाडौंमा जम्मा भएर दुई समूहको शक्ति प्रदर्शन हुँदा तनाव उत्पन्न हुने र सम्भावित अराजकतालाई समेत ध्यानमा राखेर नेपाल प्रहरीले नियमित सुरक्षा प्रवन्धलाई रणनीतिक तरिकाले फेरबदल गरेर व्यवस्थित गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले एकीकृत सुरक्षा योजना अनुसार उपत्यकाका तीनवटै जिल्लालाई आवश्यक परेका बेला थप मद्दत दिने गरी सुरक्षा प्रबन्ध गरिएको बताए।

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सुरक्षा अवस्थाबारे गरेको विश्लेषण अनुसार विशेष अवस्थामा थप मद्दतको आवश्यकता जनाएमा उपत्यका प्रहरी कार्यालयले सहयोग गर्ने तयारी गरेको प्रवक्ता मैनालीले जानकारी दिए।

प्रदर्शनमा काठमाडौंका पार्टी प्यालेस, धर्मशाला र सार्वजनिक स्थलहरूमा उपत्यका बाहिरबाट आएका मानिसहरूको जमघट हुँदा सम्भावित घुसपेठबाट तनाव उत्पन्न हुनसक्ने प्रहरी अनुमान छ। ती स्थानहरूलाई निगरानीमा राखेर प्रहरीले तैनाथी गरेको बताइएको छ।

राजधानी बाहिरबाट मान्छे ल्याउँदा र त्यहाँ आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरू पनि मिसिने सम्भावनालाई मध्यनजर गदै निगरानी बढाउँदै सुरक्षा बढाएको प्रहरीको भनाइ छ।

प्रसाईं समूहलाई विभिन्न धार्मिक संस्थाहरू र राजसंस्था पुनर्वहालीको माग गरिरहेको समूहले समर्थन छ।

मंसिर ६, २०८० बुधबार १०:२३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।