नेपाल सहभागी हुने यू-१९ विश्वकप श्रीलंकामा नहुने
काठमाडौं : २०२४ को जनवरीमा हुने पुरुष यू-१९ क्रिकेट विश्वकप श्रीलंकामा नहुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बोर्डको बैठकले मंगलबार नयाँ आयोजक राष्ट्रको नामा घोषणाा गरेको हो।
राजनीतिक र सरकारी हस्तक्षेप बढेको भन्दै आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि विश्वकप आयोजनाको अधिकार पनि आईसीसीले खोसेको हो।
बैठकले श्रीलंका क्रिकेटलाई द्विपक्षीय क्रिकेट र आईसीसी प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न भने अनुमति दिएको छ।
श्रीलंका क्रिकेटको बजेट कोष र आफूले दिने अनुदान पनि आईसीसीले आफ्नो नियन्त्रणमा लिएको छ।
श्रीलंका सरकारले क्रिकेट बोर्डका पदाधिकारीलाई बर्खास्त गर्दै नयाँ पदाधिकारी नियुक्त गरेपछि आईसीसीले नोभेम्बर १० मा श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको थियो।
आगामी यू-१९ विश्वकप १५औं संस्करण हो। २०२२ मा वेस्ट इन्डिजमा भएको अन्तिम प्रतियोगितामा भारतले पाँचौं पटक उपाधि जितेको थियो।
यसपाली क्रिकेटमा नेपालसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन्। सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ।
डिफेन्डिङ च्याम्पियन भारतसँगै समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड र अमेरिका रहेका छन् भने समूह बी मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड छन्।
समूह ‘सी’ मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया छन् भने समूह ‘डी’ मा नेपाल, अफगानिस्तान, पाकिस्तान, न्युजिल्याण्ड र समूह छन्।
जनवरीमा सुरु हुने प्रतियोगितामा ४१ खेल हुनेछन् भने फाइनल फेब्रुअरीमा हुनेछ।
सेमिफाइनलका लागि समूह चरणपछि सुपर सिक्स हुनेछ।
मंसिर ६, २०८० बुधबार ०७:३५:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।