चरम भ्रष्टाचार 'पास' भएका पप्पु कन्स्ट्रक्सनका बदनाम ठेकेदार ओलीका नजरमा विकासवादी नेता!

चरम भ्रष्टाचार 'पास' भएका पप्पु कन्स्ट्रक्सनका बदनाम ठेकेदार ओलीका नजरमा विकासवादी नेता!
तस्बिर : अनलाइनखवर

वीरगन्ज : पुल लगायतका सार्वजनिक निर्माणको ठेक्का लिएर भ्रष्टाचार गरेको भन्दै अदालतबाट पटक पटक दोषी ठहरिएका जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारलाई विकासवादी नेता भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टी प्रवेश गराए।

एमाले सचिव योगेश भट्टराइको विशेष पहलमा पप्पु कन्स्ट्रक्सन रौनियार एमालेमा प्रवेश गरेका हुन्। पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हरिनारायणजी विकासवादी मान्छे हो, जनताको सेवक हो। अब पार्टीमा आएर झन् बढी योगदान दिनुहुनेछ’ भन्दै माला लगाएर स्वागत गरे।

पप्पु कन्स्ट्रक्सन निर्माण क्षेत्रमा सबैभन्दा बदनाम र अदालतबाट पटक पटक दण्डित भएको निर्माण कम्पनी हो। बबई पुल निर्माणमा भएको भ्रष्टाचारमा विशेष अदालतबाट उनी दोषी ठहर भएर ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला भएको थियो।

उनी २०७४ मा तत्कालीन जनता समाजवादी पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित भए पनि भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा परेका थिए। भटाभट अदालतले दोषी ठहर गर्न थालेपछि २०७५ मा उनले कम्पनी छाडेको घोषणा गरेर छोरालाई जिम्मा लगाए।

विशेष अदालतले उनको छोरा सुमितलाई काठमाडौँमा टेकु–कालीमाटी जोड्ने विष्णुमती नदीमाथिको पुल गुणस्तरहीन बनाएर भ्रष्टाचार गरेको ठहर गर्दै एक करोड १४ लाख ७६ हजार रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ।

मंसिर ५, २०८० मंगलबार २०:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।