प्रधानमन्त्री प्रचण्डले दुर्गा प्रसाईँलाई सङ्केत गर्दै भने, ‘अराजकतालाई छुट दिन सकिँदैन’
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको अर्थतन्त्रमा केही सूचकले गति लिएको भए पनि दबाब मुक्त नरहेको बताएका छन्।
मङ्गलवार सिंहदरबारमा निजी क्षेत्र र सरोकारवाला निकायबीच वर्तमान अर्थतन्त्रको समस्या समाधान बारेको छलफलमा प्रधानमन्त्री दाहालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सङ्केत गर्दै बैङ्क तथा लघुवित्तको ऋण माफीको विषयलाई उठाएर राजनीतिक लाभ उठाउन खोजेको बताएका थिए।
‘अहिलेको समाजमा अराजकता फैलाउने कोसिस भइरहेको छ, भ्रम चिर्न र सरकार र दलहरूले हालको व्यवस्थाको पक्षमा रहेर काम गर्न सबै राजनीतिक दल एक ठाउँमा आउनु पर्छ,’ बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘उनीहरूको समस्या समाधान गर्न एक ठाउँमा छन् भन्ने सन्देश समेत दिनुपर्ने छ। ’
उनले सहकारी,लघुवित्त र बैङ्कको ब्याजका साथै कर्जा नपाउने समस्या रहेको र समस्या समाधानको उपाय छिट्टै खोज्नुपर्ने उनले बताए। उनले भने,‘ ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता फैलाउन खोजेका छन्। उक्त अराजकतालाई छुट दिन सकिँदैन।’
विभिन्न बैंकहरुका पाँच अर्ब बढि ऋण लिएका विवादित मेडिकल व्यवसायी प्रसाईँ अहिले बैंक र लघुवित्तले दिएको ऋण मिनाहाको माग राख्दै राजनीतिमा सक्रिय छन्। उनले राजतन्त्रको पुनःस्थापनासहितको माग राख्दै मंसिर सात गते काठमाडौँमा विरोध प्रदर्शन आयोजना गर्दैछन्।
मंसिर ५, २०८० मंगलबार १६:४३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।