६.५ फिट अग्लो फेन्सिङ नाघेर मैदान प्रवेश गरेका थिए कोहलीलाई अंगालो मार्ने प्यालेस्टाइनी समर्थक, प्रहरीले दियो थप जानकारी
एजेन्सी : भारत र अष्ट्रेलियाबीच आइतबार भएको आईसीसी एकदिवसीय विश्वकपको खेलको बीचमा मैदान प्रवेश गरेका प्यालेस्टाइनी समर्थकबारे प्रहरीले विस्तृतमा जानकारी दिएको छ।
गुजरात प्रहरीका संयुक्त अहमदाबाद प्रहरी आयुक्त नीरज कुमार बडगुजरले समाचार एजेन्सी एएनआईसँग विराट काेहलीलाई अंकमाल गर्ने उक्त व्यक्तिका बारेमा जानकारी गराएको हो।
बडगुजरका अनुसार यी व्यक्तिको नाम भ्यान जोन्सन हो। अष्ट्रेलियाली नागरिक उनको आमा इन्डोनेसिया र बुवा चीनका हुन्।
प्रहरीका अनुसार उसले जति कमाउँछ, त्यो खेल हेर्नकै लागि खर्च गर्न गर्छ। खेल हेर्न उनी विश्वका जुनसुकै कुनामा पनि पुग्ने गर्छन् र खेलमा घुसपैठ गर्छन्।
सन् २०२० मा उनी रग्बी खेलमा मैदान प्रवेश गरेको प्रहरीको भनाइ छ। त्यस क्रममा उनलाई २०० अमेरिकी डलरभन्दा बढी जरिवाना गरिएको थियो।
त्यसपछि पनि उनी सन् २०२३ मा महिला खेलमा प्रवेश गरेका थिए। जसका लागि उनलाई ५ सय अमेरिकी डलर जरिवाना गरिएको थियो।
चर्चामा आउनका लागि उनले यस्तो हर्कत गर्ने गरेकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएको छ।
भारतीय टोलीलाई सपोर्ट गर्दै उनी निलो टिसर्ट लगाएर गेट नम्बर १ बाट रंगशाला प्रवेश गरेका थिए।
त्यसपछि काँडेतारले छोपिएको ६.५ फिट अग्लो फेन्सिङबाट हाम फालेर उनी मैदानमा प्रवेश गरेका थिए। जसकारण उनको हातमा चोट लागेको थियो।
यस सम्बन्धमा एफआईआर दर्ता भएको र अहिले अनुसन्धानको लागि मुद्दा क्राइम ब्रान्चलाई हस्तान्तरण गरिएको छ।
अदालतले उनलाई एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ।
मंसिर ५, २०८० मंगलबार ०७:४२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।