फिफा विश्वकप २०२६ को छनोट खेलमा नेपालले आज यमनको सामना गर्दै

काठमाडौं : फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनोटको दोस्रो चरण आज नेपालले यमनको सामना गर्दैछ।
पहिलो लेगको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सात बजे सुरू हुनेछ।
यसअघि साँझ साढे पाँच बजे सुरू हुँदै आएको खेल सात बजेबाट सुरू हुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले दर्शक फर्कनका लागि गाडीको समेत व्यवस्था गरेको छ।
त्यसका लागि दर्शकले टिकटको अर्धकट्टी भने साथमै राख्नुपर्ने हुन्छ।
फिफा वरीयतामा १५६औं स्थानमा रहेको यमनसँगै नेपालले प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल मुख्य प्रशिक्षक भिन्सेन्जो अर्बटो एनेसको मुख्य प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ।
समूह एचमा रहेको नेपालले समूह चरणको पहिलो खेल युएईसँग ४-० ले पराजित भएको थियो। योसँगै उसले अहिलेसम्म कुनै पनि अङ्क जोड्न सकेको छैन।
पहिलो खेलमा बहराइनसँग २-० ले पराजित भएको यमन पनि अङ्कविहीन छ।
यमनसँगको खेलका लागि साधारण प्याराफिटतर्फ ४ सय र भीआईपी प्याराफिटतर्फ १ हजार टिकट दर कायम गरिएको छ।
टिकटहरू बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ।
एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रूपैयाँ हो।
खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्ने विश्वास व्यक्त गरे।
नेपालमा फुटबलको अवस्था राम्रो नभए पनि सक्दो राम्रो टिम बनाउने प्रयास गरेको उनको भनाइ थियो।
‘नेपालमा फुटबलको अवस्था सबैलाई थाहा छ, त्यसमा पनि हामीले जति सक्दो राम्रो टिम बनाउने प्रयास गरेका छौँ’, उनले भनेका थिए।
नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेको थियो।
सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। कतारमा भएको अवे खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको थियो।
मंसिर ५, २०८० मंगलबार ०७:२८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।