विश्वकप क्वालिफायरमा नेपालको खेल यमनसँग, बजेट ७३ लाख

विश्वकप क्वालिफायरमा नेपालको खेल यमनसँग, बजेट ७३ लाख

काठमाडौँ : विश्वकप २०२६ क्वालिफायर एसियन जोन राउन्ड २ र २०२७ एएफसी एसियन कप छनोट दोस्रो चरणअन्तर्गत नेपाल र यमन बिचको पहिलो लेगको फुटबल खेल दशरथ रंगशालामा हुने भएको छ। मंगलबार साँझ ७ बजे खेल हुँदैछ।

फिफा वरियतामा यमन १५६ औ स्थानमा छ भने नेपाल १७३ औ स्थानमा छ। नेपाल मुख्य प्रशिक्षक भिन्सेन्जो अर्बटो एनेसको मुख्य प्रशिक्षणमा बन्द प्रशिक्षणमा छ।

समूह चरणमा युएईसँगको खेल ४–० ले हारेको नेपालले अहिलेसम्म कुनै अङ्क जोड्न सकेको छैन। पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको यमन पनि अङ्कविहीन छ।

यमनसँगको खेलका लागि साधारण प्याराफिटतर्फ ४ सय र भिआइपी प्याराफिटतर्फ १ हजार टिकट दर कायम गरिएको सोमबार काठमाडौँमा पत्रकार सम्मेलनमा जानकारी दिइयो। टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने जनाइएको छ।

खेलका लागि नेपाल आएका यमनको राष्ट्रिय टोलीलाई प्रशिक्षणको लागि च्यानलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ।

प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको जनाइएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्ने विश्वास व्यक्त गर्दै नेपालमा फुटबलको अवस्था राम्रो नभए पनि सक्दो टिम राम्रो बनाउने प्रया गरेको बताए।

‘नेपालमा फुटबलको अवस्था सबैलाई थाहा छ, त्यसमा पनि हामीले जति सक्दो राम्रो टिम बनाउने प्रयास गरेका छौँ’ उनले भने।

नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेको थियो। सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरीमा टुंगिएको थियो। कतारमा भएको अवे खेलमा नेपाल यमनसँग २–१ ले पराजित भएको थियो।

मंसिर ४, २०८० सोमबार २२:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।