भूकम्प प्रभावितको अस्थायी आवास बनाउन पाँच जिल्लालाई डेढ अर्ब, जाजरकोट र रुकुम पश्चिमलाई ५०-५० करोड

काठमाडौँ : भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले एक अर्ब ४१ करोड निकासा गरेको छ। अस्थायी आवास निर्माणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिलो किस्ताको रकम निकासा गरेको हो।
प्राधिकरणले जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी एक अर्ब ४१ करोड निकासा गरेको हो।
भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै सङ्घीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधुरी ५० हजार रूपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए।
सो पैसा स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ। भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रूपैयाँ पाउने प्रबन्ध गरिएको र निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रूपैयाँ निकासा हुने मन्त्रालयले जानकारी दिएको छ।
कहाँ कति क्षति
प्राधिकरणका अनुसार कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट १३ जिल्ला प्रभावित भएको थियो। भूकम्पबाट एक सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ६६ जना घाइते भएका थिए।
२६ हजार पाँच सय ५७ वटा घर पूर्ण रूपमा क्षति भएको थियो भने ३५ हजार ४ ५५ वटामा आंशिक क्षति पुगेको थियो।
सबैभन्दा धेरै भौतिक र मानवीय क्षति जाजरकोट र रुकुम पश्चिममा भएको थियो। जाजरकोटमा एक सय एक जनाको मृत्यु भएको थियो भने एक सय ४५ जना घाइते भएका थिए। मङ्सिर ४ सम्मको तथ्याङ्क अनुसार ९ हजार सात सय ९४ घर पूर्ण क्षति पुगेको थियो। २४ हजार सात सय सात घरमा आंशिक क्षति पुगेको थियो।
रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो। २ सय २ जना घाइते भएका थिए। रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूरै क्षति भएको थियो भने ९ हजार ९ सय ६१ घरमा आंशिक क्षति पुगेको थियो। तेस्रोमा सल्यानमा धेरै क्षति भएको थियो। सल्यानमा एक सय ५१ घर पूर्ण क्षति र ५ सय १२ घरमा आंशिक क्षति पुगेको थियो।
४ मंसिर, २०८०, १७:२३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।