रुकुम पश्चिममा भएको जिप दुर्घटनामा दुई वर्षीय बालकसहित दुई जनाको मृत्यु

रुकुम पश्चिममा भएको जिप दुर्घटनामा दुई वर्षीय बालकसहित दुई जनाको मृत्यु

सुर्खेत : रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

चौरजहारी-१३ का ४५ वर्षीय मस्तबहादुर वली र सानोभेरी गाउँपालिकाका दुई वर्षीय बालक प्रतिक बुढामगरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।

वलीको चौरजहारी अस्पतालमा उपचारका क्रममा र बालकलाई थप उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गाेपालचन्द्र भट्टराईले जानकारी दिए।

‘दुर्घटनामा घाइतेमध्ये पाँच जनालाई नेपालगन्ज हेलिकप्टरमार्फत लैजाने तयारी भइरहेको छ। बाँकीको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ’, प्रवक्ता भट्टराईले भने।

चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप सोमबार मध्य पहाडी राजमार्ग अन्तर्गत पर्ने चौरजहारी नगरपालिका-८ गैरीज्यूला सडकबाट दुई सय ५० मिटर तल भेरी नदीको किनारमा खसेको थियो।

मंसिर ४, २०८० सोमबार १४:०५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।