निर्माता किरण चढेको कार सिन्धुलीमा दुर्घटना, ढुङ्गा छल्न खोज्दा खसेको दाबी

निर्माता किरण चढेको कार सिन्धुलीमा दुर्घटना, ढुङ्गा छल्न खोज्दा खसेको दाबी

काठमाडौं : फिल्म निर्माता किरण नेपाली चढेको कार दुर्घटनामा परेको छ।

आइतबार दिउँसो सिन्धुलीबाट काठमाडौं फर्कने क्रममा निर्माता नेपाली चढेको कार सिन्धुलीको च्याकुटारमा दुर्घटनामा परेको हो।

बाटोमा भएको ढुङ्गा छल्न खोज्दा गाडी भीरबाट खसेको निर्देशक राजु गिरीले जानकारी दिए।

‘किरणजी सवार कारले ढुङ्गा छल्न खोज्दा भीरबाट ५० मिटर तल रुखको बुटामा अल्झिएको रहेछ। गाडी त पूरै कच्याककुचुक नै परेछ। उहाँ भाग्यले बाँच्नुभयो।’

उनका अनुसार निर्माता किरणको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको हात, खुट्टा र ढाडको हड्डीमा समस्या देखिएको छ।

निर्माता नेपालीका अनुसार पिच गर्दै गरेको बाटोमा ढुङ्गा छल्न खोज्दा कार सडकबाट ५० मिटर तल झरेको हो। उनी सवार कारलाई उनका साथी राजु थापामगरले चलाएका थिए। थापालाई भने सामान्य चोटपटक लागेको छ।

निर्माता नेपालीले फिल्म ‘पोइ पर्यो काले’, ‘२ नम्बरी’ र ‘हात्तीछाप’ निर्माण गरेका छन् भने पछिल्लो समय आफैँ नयाँ फिल्म ‘सोली डोली’ निर्देशनको तयारीमा छन्।

फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

मंसिर ४, २०८० सोमबार १२:०९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।