टिकटकमाथि प्रतिबन्धविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा, सात नम्बरमा पालो

टिकटकमाथि प्रतिबन्धविरुद्धको रिट न्यायाधीश चुडालको इजलासमा, सात नम्बरमा पालो

काठमाडौं : सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुने भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १० जनाले दायर गरेको १० वटा रिटमा न्यायाधीश चुडालको इजलासमा आज सुनुवाइ हुन लागेको हो।

रिटको सुनुवाइ सातौं नम्बरमा छ। बाँकी छ वटाको सुनुवाइ भएपछि मात्र यसको सुनुवाइ हुनेछ। त्यसकारण आज नभ्याइनेमा पर्नसक्ने सम्भावना पनि देखिन्छ।

सरकारले सामाजिक सद्‌भावमा खलल पुगेको, ​टिकटकबाट हुने अपराध न्यूनीकरणमा (टिकटक कम्पनीले) सहयोग नगरेको लगायत कारण देखाउँदै गत कात्तिक २७ गतेको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सरकारको यो निर्णयपछि नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाइसकेका छन्।

रिट निवदेन वरिष्ठ अधिवक्ता त्रिपाठीका साथै पर्शुराम पाण्डे तथा अधिवक्ताहरू अनन्तराज लुईटेल, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, डा. सुनिलरञ्जन सिंह, भद्रप्रसाद (स्वागत) नेपाल, अञ्जन धिताल, रामकृष्ण बन्जरा र यज्ञमणि न्यौपानेले दायर गरेका हुन्।

मंसिर ४, २०८० सोमबार ११:१४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।