दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा शक्ति प्रदर्शन नगर्ने

दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघर मण्डलामा शक्ति प्रदर्शन नगर्ने

काठमाडौं : मंसिर ७ गते शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त्यसदिन माइतीघर मण्डलामा कुनै कार्यक्रम नगर्ने भएका छन्।

प्रसाईंको निजी सचिवालयका सदस्य विनोद बजगाईंले माइतीघरमा मंसिर ७ गते कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारे।

‘माइतीघर मण्डलामा मंसिर ७ मा दाइ (दुर्गा प्रसाईं)को कुनै पनि कार्यक्रम छैन,’ उनले भने, ‘अन्य कुन स्थानमा कार्यक्रम गर्ने भन्नेबारे परामर्श भइरहेको छ, प्रदर्शन स्थलबारे मंगलबार थाहा दिनेछौँ।’

एमालेको भ्रातृ संगठन युवा संघ र अस्पताल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ का दिन माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने भनेर प्रचारप्रसार गर्दै आएका थिए।

दुवै पक्षले त्यसदिन बिहान ११ बजे माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने निर्णय गरेपछि गृह प्रशासन यसको व्यवस्थापन कसरी गर्ने भनेर परामर्शमा छ।

शान्ति सुरक्षाको व्यवस्थापनलाई ध्यानमा राखेर दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम आयोजना गर्न दिन नहुने पक्षमा गृह प्रशासन छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गृह सचिव, उपत्यकाका अरु दुइ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूसँगको परामर्शपछि माइतीघर मण्डलामा कुनै पनि प्रदर्शन लगायतका कार्यक्रम आयोजना गर्न रोक लगाइने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सुरक्षा निकायका प्रमुखहरूसँग देशको समग्र शान्ति सुरक्षाको अवस्था र मंसिर ७ मा गरिने भनिएको प्रदर्शनको व्यवस्थापनबारेमा परामर्श गरिसकेका छन्।

माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम आयोजना गर्न दिन नहुने निष्कर्षमा पुगेका सुरक्षा अधिकारीहरूले वैकल्पिक स्थानमा कार्यक्रम गर्न सल्लाह दिनुपर्ने सहमति गरेका छन्।

गृह प्रशासनले काठमाडौंका तीनकुने, खुलामञ्च, नारायणचौर, बालाजुको माछापोखरी, कीर्तिपुर र अरु पनि सम्भावित स्थान खोजेर त्यता कार्यक्रमहरु गर्न आयोजकलाई सल्लाह दिनुपर्ने बारेमा छलफल गरेका छन्।

दुर्गा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा प्रदर्शन गर्न लागेको बताउँदै आएका छन्। युवा संघले मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध प्रदर्शन लागेको बताएको छ।

शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्न सकिने सरकारी अधिकारीहरूको भनाइ छ।

मंसिर ४, २०८० सोमबार १०:३४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।