बंगलादेशद्वारा न्यूजिल्याण्ड विरुद्धको घरेलु टेष्ट सिरिजको कप्तानी सान्तोलाई

बंगलादेशद्वारा न्यूजिल्याण्ड विरुद्धको घरेलु टेष्ट सिरिजको कप्तानी सान्तोलाई

काठमाडौं : नजमुल शान्तोलाई न्यूजिल्याण्ड विरुद्धको घरेलु टेष्ट सिरिजका लागि बंगलादेशको कप्तान नियुक्त गरिएको छ।

लिटन दास एक महिना बिदामा बसेपछि टोलीको कमान्ड शान्तोलाई दिइएको हो। लिटनलाई जुन महिनामा अफगानिस्तानविरुद्धको एकमात्र टेस्टका लागि कप्तान नियुक्त गरिएको थियो।

बंगलादेश क्रिकेट बोर्डको अपरेशन कमिटीका अध्यक्ष जलाल युनुसले भने, ‘लिटनलाई एक महिनाको बिदा दिइएको छ, उनी दुवै टेस्ट खेलका लागि उपलब्ध हुने छैनन्। उनी आफ्नो नवजात शिशुसँग समय बिताउन चाहन्छन्। हामीले उनलाई कम्तिमा दोस्रो टेस्ट खेल्न अनुरोध गरेका थियौं तर उनी त्यसका लागि तयार थिएनन्, त्यसैले हामीले उनलाई बिदा दियौँ।’

शान्तोले अहिलेसम्म जम्मा २३ टेस्ट खेल खेलेका छन् र २९.८३ को औसतमा चार शतक बनाएका छन्। शान्तोले यसअघि टेस्टमा राष्ट्रिय टोलीको नेतृत्व गरेका छैनन्। यद्यपि उनले बंगलादेशको तीन एकदिवसीय खेलमा कप्तानी गरेका छन्।

न्युजिल्यान्डविरुद्धको आगामी एकदिवसीय शृंखलामा शकिब अल हसनको कप्तानी र उनको अन्तर्राष्ट्रिय करियरको भविष्य निश्चित छैन। विश्वकपका क्रममा शकिबको औंलामा चोट लागेको थियो र उनले विश्वकप सुरु हुनुअघि नै आफ्नो अन्तर्राष्ट्रिय करियरको भविष्यबारे कुरा गरेका थिए।

तमिम इकबालको बारेमा युनिसले भने कि बीसीबीले उनलाई नोभेम्बर २२ मा भेट्ने छ। बंगलादेशको टोलीमा तीन अनक्याप्ड खेलाडी पहिलो पटक टेष्ट टोलीमा परेका छन्। यी खेलाडीमा हसन मुराद, हसन महमूद र शहादत हुसेन दिपु छन्।

मंसिर ३, २०८० आइतबार १४:१९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।