विश्वकप फाइनलमा भारतले टस हार्‍यो

विश्वकप फाइनलमा भारतले टस हार्‍यो

काठमाडौं : भारतमा जारी आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल खेलमा घरेलु टोलीले टस हारेको छ।

अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले गुजरातको अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। खेल दिउँसो सवा २ बजे सुरू हुनेछ।

भारतका कप्तान रोहित शर्माले यदि आफूले टस जितेको अवस्थामा ब्याटिङ रोज्ने भएकाले अष्ट्रेलियाले टस जितेर पनि खासै फरक नपरेको बताए।

फाइनल खेल प्रत्यक्ष हेर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं रङ्गशाला जानेछन्।

समूह चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। सुरूवाती दुई खेलमा भारत र दक्षिण अफ्रिकासँग हारेको अस्ट्रेलियाले त्यसपछि लगातार ८ जितका साथ फाइनलमा स्थान बनाएको हो।

तर, जारी विश्वकपमा लिगका नौ खेल जितेको भारत अपराजित एक्लो टोली हो। आइतबारको फाइनल भारतको चौथो र अष्ट्रेलियाको आठौँ हो।

यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहिन बनेका छन्।

एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो।

हालसम्म विश्वकपका १३ खेल भएका छन्। अस्ट्रेलियाले पाँच पटक विश्वकपको उपाधि जित्दा भारतले दुई पटक मात्रै जितेको छ।

यस्तै वेष्ट इन्डिजले दुई पटक, इंग्ल्याण्ड, श्रीलंका र पाकिस्तानले एक/एक पटक विश्वकपको उपाधि जितेका छन्।

अस्ट्रेलियाले १९८७, १९९९,२००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो। भारतले १९८३ र २०११ को उपाधि जितेको थियो।

विश्वकप क्रिकेटको फाइनल  जित्ने टिमले ४० लाख अमेरिकी डलर अर्थात् ५३ करोड ३० लाख नेपाली रूपैयाँ बराबर नगद पुरस्कार पाउने छ।

उप-विजेता टिमले २० लाख डलर अर्थात  २६ करोड ६५ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार पाउँदा सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाले ८-८ लाख डलर अर्थात् १० करोड ६६ लाख रूपैयाँ नगद पाउने छन्।

समूह चरणबाटै घर फर्केका ६ टिमले भने १-१ लाख डलर अर्थात् १ करोड ३३ लाख नेपाली रूपैयाँ पाउने छन्। लिग चरणमा हरेक टिमले एक जितको ५३ लाख ३० हजार रूपैयाँ पाउने छन्।

मंसिर ३, २०८० आइतबार १३:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।