दृष्टिविहीन निर्मल : स्कुलदेखि कलेजसम्म टपको टप, आयोग दिएर मावि शिक्षकमा फुत्तै नाम निकाले
बुटवल : सफलता त्यतिकै हात लाग्दैन। कडा मिहिनेत अनि धैयर्ताले मात्र सफलता दिलाउँछ। त्यसकै एक नवीन उदाहरण हुन् रुपन्देहीका ३५ वर्षीय निर्मल पौडेल।
जन्मँदा लो भिजन निर्मल २०६४ सालमा पूर्ण दृष्टिविहीन भए। रुपन्देहीको हरैयामा जन्मिएका उनले हालै शिक्षक सेवा आयोगले लिएको माध्यमिक विद्यालय तर्फको परीक्षामा खुलातर्फ तेस्रो नम्बरमा नाम निकाल्न सफल भए।
निर्मलका दिदी, बहिनी र दाइ छन्। दाजु विमल पनि पूर्ण दृष्टिविहिन नै हुन्। दिदी र बहिनीमा भने यो समस्या छैन।
बुवा नरनाथ गाउँमा शिक्षक थिए। त्यहि भएर पढाइमा कमी भएन उनीहरूलाई। दाजु-भाइ नै पढाइमा अब्बल। उनीहरू कक्षामा कहिल्यै पनि दोस्रो भएनन्।
छोराहरू न्यून दृष्टिविहिन भएपछि बाबु नरनाथ र आमा सीतादेवीले उनीहरूलाई दृष्टिविहिनहरूको लागि अध्ययन गराउँदै आएको विशेष विद्यालय शान्ति नमूना माविमा भर्ना गरिदिए। उनीहरू त्यहिँ बसेर पढे।
निर्मलले ०६३ सालमा सोही विद्यालयबाट ७१ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरे। त्यसपछि कक्षा ११ र १२ रुद्रपुरमा रहेको हरैया क्याम्पसमा पढे।
स्नातक र स्नाकोत्तर तह भने बुटवलको बुटवल बहुमुखी क्याम्पसबाट पूरा गरे। पढाइमा अब्बल निर्मलले प्लस टुमा हरैया क्याम्पस टप गरे भने ब्याचलरमा पनि शिक्षा संकायतर्फ क्याम्पस टप भए।
‘पढाइलाई एकसरो सक्ने भनेपछि पढाइमा मात्र ध्यान भयो। त्यहिअनुसार ०७१ सालमा मैले डिग्री सकेँ। नेपालीमा बुटवल बहुमुखी क्याम्पसबाट डिग्री सकेपछि बल्ल अरु के गर्ने भन्ने सोच्न थालेँ’, निर्मलले भने।
निर्मलले स्नाकोत्तर तह(माष्टर डिग्री)मा ६१ प्रतिशत ल्याएर प्रथम श्रेणीमा पास गरे। उनी त्यो बेलामा पनि नेपाली विषयतर्फ क्याम्पस टप गरे।
आयोगमा ध्यान
निर्मललाई पढ्नमा परिवारको साथ थियो। घरपरिवार र श्रीमती गीता घिमिरेले उनलाई राम्रो साथ दिए।
डिग्री सकेपछि जागिरको मेसो समाउनुपर्छ भन्ने उनलाई लाग्यो। संयोगबस ०७१ सालमा डिग्री सकेका निर्मलले ०७२ सालमा राहत कोटामा शिक्षक बने।
‘परिवार र मोटिभेट गर्ने साथीका कारण सरकारी जागिर खानुपर्छ भन्ने थियो। दाजुको पनि उत्तिकै साथ थियो। अनि राहतमा जागिर खाएपछि शिक्षक सेवा तयारी गर्न थालेँ’, उनले भने।
सालझण्डीमा रहेको महेरहवा देवी माविमा राहत शिक्षकमा जागिर खाएका उनले त्यहाँ कम्प्युटर विषय अध्यापन गराए। नेपाली विषयमा डिग्री गरेको भएपनि उनी कम्प्युटरमा अलि बढी लगाव राख्थे।
जागिर चलेकै थियो। तर उनी स्थायी जागिरे भएर भविष्य सुनिश्चित गर्न चाहन्थे। त्यसपछि शिक्षक सेवा तयारी थाले।
पहिलो पटक २०७६ मा उनले प्राथमिक विद्यालय शिक्षक सेवाको लागि परीक्षा दिए। दृष्टिविहिन अपाङ्गता भए पनि उनले खुलाबाटै नाम निकालेर रुपन्देही जिल्लामा २९ नम्बरमा सिफारिस भए।
प्रावि स्थायी भएपछि उनी जन्मस्थल रुद्रपुरमा रहेको रुद्रपुर माविमा अध्यापन गराउन थाले। ४ वर्ष राहत शिक्षकमा सेवा गरेका उनले थप चार वर्ष प्रावि स्थायी शिक्षक भएर काम गरे।
प्रावि स्थायी भएको चार वर्षमा पनि उनले मिहिनेत गर्न छाडेनन्। आफ्नो पढाइ र तयारीलाई निरन्तरता दिइनै रहे। त्यसैले त माध्यमिक विद्यालयतर्फको रुपन्देही जिल्लाको तेस्रो नम्बरमा नाम निकाल्न सफल भए, त्यो पनि खुलातर्फ नै।
लुम्बिनी प्रदेशमा नेपाली विषयको लागि खुला कोटामा चार जना शिक्षक माग भएको थियो। उनले तेस्रो नम्बरमा नाम निकाले। अन्तर्वार्तासमेत भइसकेको छ। केही दिनमा पोस्टिङ हुँदैछ।
मावि स्थायी शिक्षकका लागि नेपाली विषयमा पहिलो चरणमा १ हजार ३८ जनाले परीक्षा दिएका थिए। दोस्रो चरणको लागि ३ सय ५५ जना छनोट भए।
कम्प्युटरबाट नोट
निर्मलको आँखाको कर्नैया गएको हो। कर्नैया आँखाको भित्री पत्र हो। यो फेर्न पाइँदैन। रेटिना, नानीमा समस्या भए फेर्न सकिन्थ्यो। आँखाको ज्योति गुमेका कारण उनलाई पढ्न सहज थिएन।
विद्यालय तह पढ्न ब्रेललिपीकै पुस्तक छापिएका छन् तर माथिल्लो तहमा त्यसको सुविधा छैन। बजारका पुस्तक किनेर रेकर्ड गरेर पढ्नुपर्थ्यो तर त्यो पनि सम्भव भएन। निर्मल कम्प्युटरमा दख्खल थिए।
‘पुस्तक रेकर्ड गर्न सम्भव भएन। हजार पानाका पुस्तक कसले रेकर्ड गरिदिने? त्यहि भएर आयोगको पढ्दा अडियो बनाउन सम्भव भएन। पाठ्यक्रमले दिएका कुरा वेबसाइटबाट टपिक तानेँ अनि फिल्डर गरेर टपिकवाइज नोट बनाएर पढेँ। नोट नै पढेर नाम निकालेँ’, उनले थपे।
दिनभर विद्यालयमा पढाउने निर्मलले पूरा १० महिना साँझ–विहान अध्ययनमै बिताए।
उनी भन्छन्, ‘साँझ ४ देखि १२ बजेसम्म र विहान ६ देखि ९ बजेसम्म पढेँ मैले। १० महिना घरबाट पढ्ने सहज वातावरण भयो। त्यसैले नाम निस्कियो नि!’
०६७ माघमा उनले अर्घाखाँची ठाडाकी गीता घिमिरेसँगसँग विवाह गरे।। उनी पनि लो भिजन दृष्टिविहीन हुन्। उनीहरूको अहिले एक छोरा र एक छोरी छन्।
क्रिकेटको लगाव
निर्मल १७ वर्षदेखि दृष्टिविहीन क्रिकेट संघ लुम्बिनीमा आबद्ध छन्। अहिले उनी दोस्रो पटक अध्यक्ष भएका छन्।
संस्थाका संस्थापक अध्यक्ष विमल पौडेल हुन्। पछि विमल काठमाडौं गएपछि निर्मलले कार्यवाहक अध्यक्ष पाए। अधिवेशनबाट दोस्रो पटक अध्यक्ष भएर उनी नै आएका हुन्।
उनी सुरुमा क्रिकेट पनि खेल्थे। विस्तार क्रिकेट खेल्न छाडेर व्यवस्थापनमा लागे।
‘मभन्दा राम्रो खेल्ने खेलाडी आएपछि म म्यानेजमेन्टमा लागे’, उनले भने।
उनी खेलकै कारण भारत र पाकिस्तानसम्म पुगेका छन्। दृष्टिविहीनहरूले खेल्ने क्रिकेटमा सरकारले लगानी बढाउन नसकेको उनको गुनासो छ।
‘खेल्ने, पढ्न पाउने हाम्रो पनि अधिकार हो। तर सरकारले लगानी बढाउँदैन। पूर्वाधारको अवस्था झन् कहालिलाग्दो छ। यसलाई सरकारले बेलैमा ध्यान दिनुपर्छ। दृष्टिविहीन पनि खेलमा अव्बल छन् भन्ने प्रमाणित गर्न खेलाडी आतुर छन्।’
मंसिर ३, २०८० आइतबार १२:१३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।