उपाधि दाबेदार मानिएको नेपाल महिला टी-२० सिरिजमा तेस्रो, जापानमाथि ४५ रनको जित

उपाधि दाबेदार मानिएको नेपाल महिला टी-२० सिरिजमा तेस्रो, जापानमाथि ४५ रनको जित

काठमाडौं : हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपाल तेस्रो भएको छ।

जापानलाई ४५ रनले पराजित गर्दै उपाधि दाबेदार मानिएको नेपालले तेस्रो स्थानमा चित्त बुझाएको हो।

नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो।

जापानकी अकारी निसीमुराले ५१ बल खेल्दै ३ चौकाको मद्दतले सर्वाधिक २९ रन जोडिन्।

हिनासे गोटो १६ र अहिल्या चन्डेलले ११ रन जोड्नुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका संगीता राई, इन्दु बर्मा, सीता राना मगर, खुसी डंगोल र सोनी पाख्रिनले समान एक-एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रन बनायो।

नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन बनाइन्। ५१ बलको सामना गरेकी उनले ३ चौका प्रहार गरिन्।

रोमा थापा २२, रुबिना क्षेत्री २१, कप्तान इन्दु बर्मा १२ र सीता रानामगर ५ रन बनाएर आउट हुँदा काजल श्रेष्ठ र अस्मिना कर्माचार्य क्रमशः ३ र २ रन बनाएर नटआउट रहे।

जापानका अहिल्या चन्डेल, एरिका टोगुची क्विन र आयुमी फुजीकावाले समान एक-एक विकेट लिए।

नेपाल समूह चरणका खेलमा एकमा जित र बाँकी दुईमा हार व्यहोरेको थियो।

शनिबार नेपालले जापानलाई ७६ रनले पराजित गर्दा पहिलो खेलमा तान्जानियासँग २७ रनले हार व्यहोरेको थियो।

यस्तै दोस्रो खेलमा पनि नेपाल हङकङसँग स्तब्ध बन्यो। हङकङले नेपाललाई ९ विकेटले पराजित गरेको थियो।

त्यस्तै हङकङले तीन खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहँदा तान्जानिया दुई जितसहित दोस्रो हुँदै फाइनल पुग्यो।

उपाधिका लागि फाइनलमा आजै हङकङ र तान्जानिया भिड्दैछन्। फाइनल खेल पौने १२ बजेदेखि शुरु हुनेछ।

मंसिर ३, २०८० आइतबार १०:०५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।