अझै टिकटक चलिरहेको भए खबर गर्न प्राधिकरणको आग्रह

अझै टिकटक चलिरहेको भए खबर गर्न प्राधिकरणको आग्रह

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक चलिरहेको भए प्राधिकरणलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

आइतबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी दिँदै अझै कहिँ कतै चलेको पाइए जानकारी गराउन भनेको हो।

‘यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणको सार्वजनिक सूचना भनिएको छ।

सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सो निर्णपछि टिकटक कम्पनीले पनि नेपाल सरकारलाई पत्र लेख्दै कारण खोजेको थियो। यसबारे दूरसञ्चार प्राधिकरणले पनि जवाफी पत्र पठाइसकेको छ।

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पनि पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरिएको छ।

टिकटकलाई बन्द गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार नै सर्वोच्च अदालतमा १० वटा रिट परेको छ।

मंसिर ३, २०८० आइतबार ०८:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।