महिला टी-२० को तेस्रो स्थानका लागि नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य
काठमाडौं : हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० सिरिजको तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११५ रन बनायो।
नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन बनाइन्। ५१ बलको सामना गरेकी उनले ३ चौका प्रहार गरिन्।
रोमा थापा २२, रुबिना क्षेत्री २१, कप्तान इन्दु बर्मा १२ र सीता रानामगर ५ रन बनाएर आउट हुँदा काजल श्रेष्ठ र अस्मिना कर्माचार्य क्रमशः ३ र २ रन बनाएर नटआउट रहे।
जापानका अहिल्या चन्डेल, एरिका टोगुची क्विन र आयुमी फुजीकावाले समान एक-एक विकेट लिए।
नेपाल समूह चरणका खेलमा एकमा जित र बाँकी दुईमा हार व्यहोरेको थियो।
शनिबार नेपालले जापानलाई ७६ रनले पराजित गर्दा पहिलो खेलमा तान्जानियासँग २७ रनले हार व्यहोरेको थियो।
यस्तै दोस्रो खेलमा पनि नेपाल हङकङसँग स्तब्ध बन्यो। हङकङले नेपाललाई ९ विकेटले पराजित गरेको थियो।
त्यस्तै हङकङले तीन खेल जितेर अंकतालिकाको शीर्ष स्थानमा रहँदा तान्जानिया दुई जितसहित दोस्रो हुँदै फाइनल पुग्यो।
उपाधिका लागि फाइनलमा आजै हङकङ र तान्जानिया भिड्दैछन्। फाइनल खेल पौने १२ बजेदेखि शुरु हुनेछ।
मंसिर ३, २०८० आइतबार ०८:३९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।