राज्य व्यवस्था समिति सभापति खतिवडाले 'खास्टोभित्रबाट म्याउँ' गरे

राज्य व्यवस्था समिति सभापति खतिवडाले 'खास्टोभित्रबाट म्याउँ' गरे

काठमाडौँ : प्रशंग प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले हालै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको जन्म मिति विवाद ब्युँताउने निर्णयको हो। तर यसमा प्रवेश गर्नु अगाडि यसका सभापति रामहरि खतिवडाको पृष्ठभूमि हल्का छुन आवश्यक देखियो।

खतिवडा पछिल्लो समय नेतृत्वकारी सांसदको नक्कली छवि निर्माणमा निकै सक्रिय छन्। दुई पटक सांसद भइसकेका उनी पार्टी सभापति शेरबहादुर देउवा रिझाउँदै राज्य व्यवस्था समिति जस्तो प्रभावशाली संसदीय समितिको सभापति हुन सफल भए।

राज्य व्यवस्था समितिमा उनको विशेष चासो हुनुको कारण बलबहादुर राई मन्त्री हुँदाको सहयोगी हुँदादेखिको अनुभव प्रमुख कारण देखिन्छ।

ओखलढुङ्गाबाट सांसद बनेका उनी कांग्रेस नेता, केन्द्रीय सदस्यहुँदै संसदीय समितिको सभापति भए पनि अधिकांश उच्चतहका प्रहरी उनको स्वभावबारे जानकार छन्।

कांग्रेसभित्र दुई पात्र प्रहरी जवानदेखि आइजिपीसम्म सम्बन्ध विस्तारमा बढी नै रुचि राख्ने पात्रका रूपमा परिचित छन्। पहिलो मञ्जु खाँण।

जुनसुकै तहका प्रहरीको बढुवा होस् या सरुवा उनको विशेष रुचि हुन्थ्यो नै। उनको सरुवा वा बढुवाको आग्रहको फोन नआएको उच्चतहका प्रहरी अधिकारी बिरलै छन्।

उनकै श्रीमान् बालकृष्ण खाँण गृहमन्त्री हुँदा ती सङ्गठनका सदस्यको हालत कस्तो भयो त्यो सार्वजनिक भइनै सक्यो। श्रीमान् नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जेलमा छन्।

यो प्रकरणमा मञ्जु पनि जोडिएकी छिन्। दोस्रो चरणमा उनीमाथि अनुसन्धान हुने दाबी सार्वजनिक भएको थियो। तर अनुसन्धान सुस्त छ। हुने सम्भावना न्युन।

अर्को पात्र यिनै रामहरि खतिवडा। उनको स्वभाव मञ्जुको भन्दा फरक नभएको अनुभव सुनाउने प्रहरी अधिकारी टन्नै छन्।

'प्रहरीको तल्लो तहदेखि माथिल्लो तहका प्रहरीको सरुवामा उनले चासो राख्नु, सिफारिस गर्नु सामान्य नै हो' एक प्रहरी अधिकारीले उकेरासँग अनुभव बाँडे' नेता भएपछि केही आफू निकटका अनि आफ्नो क्षेत्रमा सरुवामा चासो राख्नु ठिकै हो। अन्यले नि राख्छन्। तर उनको चासो सामान्य मात्र देखिँदैनथ्यो।'

अर्को रोलेक्स घडी काण्डले उनको स्वभाव सार्वजनिकै गर्यो। पोल खुलेपछि झुक्किएर पकेटमा परेको भन्दै स्पष्टीकरण दिए पनि काण्डले उनको पिछा छाडेको छैन।

उनै खतिवडा राज्य व्यवस्थाको सभापतीहुँदै सुरक्षा संयन्त्रको संसदीय अनुगमन गर्ने संसदीय निकायको प्रमुख भएका छन्।

कांग्रेसको नेतामात्र हुँदा त सरुवा-बढुवामा अधिक चासो राख्ने उनी राज्य व्यवस्था समितिकै सभापति भएपछि चासोको रफ्तार कति होला!

उनले समितिको शक्तिको कतिसम्म आफू अनुकूल दुरुपयोग गर्न सक्छन् भन्ने गतिलो उदाहरण शुक्रवारको निर्णयबाटै देखिन्छ।

प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाको समयमा प्रतिस्पर्धीमध्ये केहीको जन्ममिती विवादमा आयो। अशोक सिंह, श्याम ज्ञवाली, किरण बज्राचार्य लगायत जन्ममिती विवादमा तानिए। अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी पर्यो।

अख्तियार छानबिनमै रहँदा नै सिंह राजीनामा दिएर हिँडे। त्यसपछि अनुसन्धान।के भयो सार्वजनिक भएको छैन।

ज्ञवाली र बज्राचार्य लगायतको नागरिकतामा भएको जन्ममिती कायम हुने निर्णय गर्दै अख्तियारले उजुरीको छानबिन टुङ्ग्यायो।

ज्ञवालीसँगै दीपक थापा, वसन्त कुँवर, किरण बज्राचार्य आइजिपीको प्रतिस्पर्धामा थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्ञवालीको पक्षमा थिए।

गङ्गा दाहालमार्फत सहजीकरण गराउन ज्ञवाली सक्रिय थिए। किरण पहिलो महिला आइजिपी हुन सम्भव भएसम्मको शक्तिकेन्द्र प्रयोगमा सक्रिय थिइन्।

ज्ञवाली र कुँवरमध्ये एक आइजिपी हुने पक्का देखेपछि दीपक थापा ब्याक भए। लगभग ज्ञवाली आइजिपी पक्का भइसकेका थिए। तर कांग्रेस सभापति शेरबहादुर देउवाले अन्तिममा रातो कार्ड देखाएपछि ज्ञवाली आउट भए, कुँवर आइजिपी नियुक्त भए।

यो बिचमा नक्कली शरणार्थी प्रकरण सार्वजनिक भयो। सत्ताशक्तीको इच्छाअनुसार अनुसन्धानको तथ्य मोड्न ज्ञवाली राजी भएनन्।

उनले आफ्नो व्यक्तिगत स्वार्थमा अनुसन्धानमा फेला परेका केही तथ्यलाई म्यानुपुलेट गर्दै सार्वजनिक गराएर कुँवरलाई छानबिनमा तानेर आइजिपी हुने प्रयास नगरेका हैनन्।

तर उनको यो चाल सफल भएन। उनी यो खेलमा थप सक्रिय भए गृह छानबिन समिति गठन गर्न बाध्य हुने सङ्केत पाएपछि आफ्नो खेलबाट ब्याक भए।

एसएसपी डा मनोज केसी, दानबहादुर कार्कीसहितको अनुसन्धानले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान एक हदसम्म सफल भयो। त्यसको पुरस्कार स्वरूप तीनै जनाको सरुवा भयो।

तर केही कांग्रेसीविच अझैँ ज्ञवालीप्रतिको रिस मरेको देखिएन। यसमा थप आगामी आइजिपीको खेल बाँकी छदै छ।

शुक्रवार टुंगिसकेको जन्ममिती विवाद राज्य व्यवस्था समितिले ब्युँताउँदै
गृह मन्त्रालयलाई पत्र पठाउँदै जन्म मितिसम्बन्धी विवादको छानबिन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिए।

प्रहरीको जन्ममिती विवादमा समितिको चासो हो भने राजीनामा दिए पनि अशोक सिंहसहित किरण बज्राचार्य र भीमप्रसाद ढकालको जन्ममिती विवादबारे समेत छानबिन गर्न किन निर्देशन दिएनन्? किनकि ज्ञवाली बाहेक सबै उनलाई राज्य व्यवस्था समितिको सभापति बनाउने शक्तिकेन्द्रका प्रिय हुन्।

मंसिर २, २०८० शनिबार १६:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।