रुकुम पश्चिममा कार्यरत डा. सुशीलको उपचार अनुभव : बच्चा गुमाएकी भूकम्पपीडित महिलालाई जाँच्दा जाँच्दै हल्लाएपछि...
दुर्गम क्षेत्रमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीका आफ्नै कथा र व्यथा हुन्छन्। एक त चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या नै कम हुन्छ। त्यसमाथि पनि विशेषज्ञको संख्या न्यून हुने नै भयो। जसले गर्दा दुर्गमका स्वास्थ्य संस्थामा पुगेका चिकित्सक तथा स्वास्थ्यकर्मीले २४सै घण्टाजसो चनाखो भएर तैनाथी अवस्थामा बस्नुपर्ने हुन्छ।
अर्थोपेडिक सर्जन डा. सुशील पोख्रेल पनि दुर्गममा खटिने मध्येकै एक चिकित्सक हुन्। रुकुम (पश्चिम)को स्वास्थ्य सेवा कार्यालय प्रमुखको भूमिकामा कार्यरत छन् उनी। बिरामीको उपचारमा त खटिन्छन् नै उनी त्यसका अलावा प्रशासनिक काममा समेत व्यस्त हुन्छन्। अस्पतालमा उनी र अर्का एक जनामात्रै विशेषज्ञ चिकित्सक छन्।
हात भाँचिएकी बालिकाको मध्यरातमा गरेको शल्यक्रिया
डा. सुशील अस्पतालकै क्वाटरमा बस्छन्। उनी यति व्यस्त हुन्छन् की मध्यरातसम्म काममा खटिनुपर्ने हुन्छ। उनले थोरै मात्रै सुत्ने तथा आराम गर्ने समय पाउँछन्। यो वर्ष त उनी तिहार मनाउन समेत घर आउन पाएनन्। अस्पतालमा नै खटिए।
शुक्रबार पनि डा. सुशील मध्यरातसम्म अस्पतालमा घाइते बिरामीको उपचार गरेर अस्पतालको क्वाटरमा फर्किएका रहेछन्। उनले त्यहि दिन दुई जना घाइतेको शल्यक्रियासमेत गरेछन्।
शल्यक्रिया गर्ने क्रममा नै रातको करिब दश बजेछ। शुक्रबार राती करिब १२ बजे उकेरासँगको कुराकानीको क्रममा भर्खर शल्यक्रिया सकेर क्वाटरमा आएको डा. सुशीलले सुनाए।
शुक्रबार दिउँसो करिब ३६ वर्षका पुरुषको घाँटीभन्दा तल र कुमबीचको भागकोे शल्यक्रिया गरेपछि वार्डमा सारिएको रहेछ। ती पुरुषको शल्यक्रियापछि तुरुन्त फेरि आकस्मिक रूपमा अर्की बालिकाको शल्यक्रिया गर्नुपरेको उनले बताए।
रुकुमको मैकोट भन्ने ठाउँकी करिब दश वर्षकी बालिकाको लडेर हात भाँचिएछ। ती बालिकालाई शुक्रबार दिउँसो रुकुम पश्चिमको जिल्ला अस्पताल (स्वास्थ्य सेवा कार्यालय) पुर्याइयो। डा. सुशीलले ती बालिकाको हातको अवस्था हेरे।
बालिकाको कुइनो र नाडीको बीच भागको हड्डी भाँचिएर बाहिरै देखिनेगरी हड्डी निस्किएको थियो। हात भाँचिएपछि एक दिन हिँडेर अनि दुई दिन गाडीमा गरेर तीन दिनमा उनलाई अस्पताल ल्याइएको रहेछ।
‘एक दिन हिँडेर अनि दुई दिन गाडी चढेर आइपुगेको भन्नु भएको थियो’, डा. सुशीलले भने।
भाँचिएको तीन दिन भइसकेकाले बालिकाको लडेर घाउ भएको हातमा पाक्दा पिप समेत बग्न थालिसकेको थियो। हातको अवस्था जाँचपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने निष्कर्षमा डा. सुशीलको टिम पुग्यो।
शल्यक्रियाको सबै तयारीपछि साँझ अबेर डा. सुशीलको टिमले ती बालिकाको हातको शल्यक्रिया थाल्यो र सफल पनि भयो। घाइते बालिकालाई वार्डमा सारियो। बालिकाको हातकोे शल्यक्रिया सक्दा रातीको करिब दश बजेको डा. सुशीलले सुनाए।
अन्य प्रक्रिया बाहेक शल्यक्रिया कक्षमा लगिसकेपछि यी दुई व्यक्तिको शल्यक्रिया गर्न मात्रै तीन घण्टा भन्दा बढी समय लागेको उनले सुनाए।
शल्यक्रिया सकिएपछि अस्पतालको क्वाटरमा फर्केर करिब साढे ११ बजे राती डा. सुशीलले खानपान गरे। राती अबेरै भए पनि उकेरासँग कुराकानी गर्ने उनले वचन दिएका थिए।
त्यसैले खानपान गरेपछि शुक्रबार मध्यराति उनले उकेरासँग कुरा गर्दै आफ्ना चिकित्सकीय पेशाका शिलशिलामा देखे भोगेको अनुभव साटे।
विशेषज्ञताको दुष्टिले अर्थोपेडिक सर्जन भएकाले डा. सुशीलले दैनिकजसो घाइतेहरुको शल्यक्रिया गर्नुपर्ने हुन्छ।
पहाडी भेग भएकाले धेरैजसो रुख, भीर वा विभिन्न कारणले लडेर, काम गर्नेक्रममा हतियारले काटेर घाइते भएका बिरामीहरुको शल्यक्रिया गर्नुपर्ने उनले सुनाए।
त्यसैगरी मोटरसाइकल लगायतका सवारीसाधन दुर्घटनामा परेर घाइते भई उपचारका लागि अस्पताल पुग्नेको संख्या पनि बढ्ने क्रममा नै रहेको उनको अनुभव छ।
भूकम्पको त्यो रात मोडिएको यात्रा
अब चर्चा गरौँ भूकम्पको समयको उनको उपचार तथा व्यवस्थापकीय जिम्मेवारीको अनुभव।
त्यसो त डा. सुशीललाई जाजरकोटमा केन्द्रविन्दु बनाएर गएको भूकम्पको समयको क्षण सम्झँदा निक्कै असहज महसुस हुन्छ। जाजरकोटमा केन्द्रविन्दु बनाएर कात्तिक १७ गते शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। यो भूकम्पका कारण रुकुम पश्चिम पनि प्रभावित बन्यो। धनजनको क्षति भयो।
जाजरकोटमा केन्द्रविन्दु बनाएर भूकम्प गएको रात उनी कार्यालयको कामको सिलसिलामा काठमाडौं आएर बुटवलतर्फ घर फर्कँदै थिए। पाँच महिनाकी छोरी अनी घर परिवारसँग भेटघाट गरेर फर्कन्छु भनेर उनी बुटवलतर्फ लागेका थिए। राती धादिङको मलेखुमा पुगेका थिए।
तर, गाडी गुडिरहँदा जाजरकोटमा केन्द्रविन्दू बनाएर भूकम्प गयो। उनलाई साढे एक बजेतिर फोन आयो। त्यसपछि उनी बुटवलतर्फ घर नगई रुकुम पश्चिमतर्फ नै मोडिए।
बाटोमा जाँदै गर्दा फोनमा नै घाइतेको उपचारको व्यवस्थापनका विषयमा समन्वय भइ नै रह्यो। फोनमा समन्वय गर्दै गाडीमा गुड्दै भोलिपल्ट दिउँसो उनी रुकुम पुगे।
डा. सुशील पुग्दा घाइतेहरू अस्पतालमा भरिभराउ भइसकेका थिए। गम्भीर घाइतेहरू भने अन्यत्र रिफर भएका थिए। अस्पतालमा पुगेपछि घाइतेहरूको उपचारमा खटिए उनी।
त्यसैगरी स्वास्थ्य सेवा कार्यालयको प्रमुखको भूमिकामा भएकाले समग्र उपचार व्यवस्थापन लगायतको प्रशासनिक काममा पनि उनको सक्रिय भूमिका हुने नै भयो।
अस्पतालमा पुगेपछि डा. सुशीलले भूकम्पका कारण घाइते भएकी सानीभेरी गाउँपालिकाकी करिब ५६ वर्षकी महिलाको शल्यक्रिया गरे। ती महिलाको दायाँतर्फको खुट्टाको कुरकुच्चा र पञ्जाको बीचको भागका हड्डीहरू फुटेका तथा भाँचिएका थिए।
दोस्रो झट्कामा घाइतेलाई डोहोर्याएर अस्पतालबाट निकाल्दा...
कात्तिक २० गते सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा जाजरकोटलाई नै केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्यूडको भूकम्पको दोस्रो ठूलो झट्का गयो। त्यो बेला भने डा. सुशील घाइते बिरामीको उपचारमा खटिरहेका थिए।
भूकम्पको दोस्रो झट्काको बेला डा. सुशील रुकुम पश्चिमको आठविसकोट नगर अस्पतालमा घाइतेको उपचारमा थिए।
घाइते एक जना महिला नगर अस्पतालमा पुगेकी थिइन्। भूकम्पमा परेर ती महिलाको करिब ४/५ महिनाको बच्चाको मृत्यु भइसकेको रहेछ। घाइते श्रीमानलाई पनि हेलिकप्टरमार्फत बाँकेको कोहलपुरमा रिफर गरिएको थियो।
उनको पनि भूकम्पका कारण हिपको जोर्नीको माथिको भागमा फ्याक्चर भएको हुँदा हिँडडुल गर्न कठिन थियो।
डा. सुशीलले ती महिलाको अवस्थाको स्वास्थ्य परीक्षण गरेपछि शल्यक्रिया गर्न नपर्ने निष्कर्षमा पुगे। त्यसैले शल्यक्रिया गर्नुपर्दैन भनेर परामर्श दिए।
नगर अस्पतालको भवनभित्रको भुइँतलामा ती महिलालाई परामर्श दिइरहँदा पुनः भूकम्प गइहाल्यो। भूकम्प जाँदा डा. सुशील पनि अत्तिए।
अत्तिँदै परामर्श लिइरहेकी ती घाइते महिलालाई पनि समाएर डोहोर्याउँदै डा. सुशील र अर्का एक जना चिकित्सकले अस्पतालको भवन बाहिर निस्किए।
त्यो दास्रो ठूलो झट्काले समेत क्षति भयो। डा. सुशीलले आफूले त्यो दिन ज्यान त बचाए। त्यो भूकम्पपछि घर परिवारबाट टाढा भएर बस्दा उनलाई घर परिवारको निक्कै याद आयो। घर परिवारको चिन्ता लाग्यो। मन आत्तियो। घरमा सम्पर्क गरे।
ठिकठाक नै छ भनेपछि ढुक्क त भए। तर, आफू बसेको ठाउँमा भूकम्पको पराकम्प गइराखेकाले कतै आफैँ कुनै बेला भूकम्पमा परिने पो हो कि भन्न चिन्ताले भने उनलाई अहिले पनि बेला–बेलामा सताइरहन्छ।
चुस्त व्यवस्थापन आवश्यक, पालिकाको सक्रियता
भूकम्पका घाइतेको उपचार व्यवस्थापन गर्नु उनका लागि यो पहिलो अनुभव हो।
उनले यो भूकम्पबाट भूकम्पलगायतको विपद्को समयमा आइपर्ने समस्याको व्यवस्थापनका लागि अझै बलियो र चुस्त तरिकाले स्वास्थ्यतर्फका जनशक्तिलाई तालिम तथा सीप आवश्यक पर्ने रहेछ भन्ने महसुस गरेका छन्।
तर, स्थानीय तहको सक्रियता र पालिकाहरूमा भएका अस्पताल तथा स्वास्थ्यसंस्थाहरुले घाइतेको उपचारको व्यवस्थापन गर्न सकेकाले नै उपचार व्यवस्थापनमा धेरै हदसम्म सहजता भएको उनको अनुभव छ।
पालिकासँगको समन्वयमा उपचार व्यवस्थापन नभएको भए घाइतेको उपचार व्यवस्थापनमा कठिन हुनसक्ने उनको अनुभव छ।
अस्पतालको गेट पुगेपछि बच्चाभन्दा पहिला नाल झरेपछि...
यो त भूकम्पको प्रसंग भयो। अब डा. सुशीलको अन्य चिकित्सकीय अनुभवतर्फ लागौँ।
करिब पाँच वर्षअघि सुत्केरी व्यथाले च्यापेर अस्पताल पुर्याइएकी आमा र बच्चालाई बचाएको अर्को प्रसङ्ग पनि डा. सुशील कहिल्यै भुल्दैनन्। जतिबेला उनी रुकुम पश्चिमको स्वास्थ्य सेवा कार्यालयमा मेडिकल अधिकृतका रूपमा काम गर्थे।
करिब २८ वर्षकी महिलालाई सुत्केरी व्यथाले च्यापेपछि अस्पताल लगियो। तर, अस्पतालको गेटमा पुर्याउँदा नपुर्याउँदै ती महिलाको बच्चा नभएर नाल निस्किएछ।
यसरी बच्चा भन्दा पहिला नै नाल झरेको अवस्थामा बच्चालाई बचाउने सम्भावना न्यून हुने डा. सुशीलले सुनाए।
तर, भाग्यवश अस्पतालकै गेटमा पुगेपछि ती महिलाको नाल बाहिर निस्किएका कारण नाल निस्किएको पाँच मिनेटमै ती गर्भवती महिलालाई शल्यक्रिया कक्षमा लगेर डा. सुशीलको शल्यक्रियाको प्रक्रिया थालिहाल्यो।
मेडिकल अधिकृत डा. आलोकचन्द्र महतोले शल्यक्रियाका क्रममा महिलालाई नदुखोस् भनेर ढाडमा सुईको माध्यमबाट एनेस्थेसिया दिए। त्यसपछि डा. सुशीलले शल्यक्रिया गरी ती महिलाको बच्चा निकाले।
सीमित स्रोत साधनकाबीच महिलाको शल्यक्रिया सफल भयो। आमा र बच्चा दुवैको ज्यान बाँच्यो। केही दिनको अस्पताल बसाइपछि ती महिला आफ्नो बच्चा च्यापेर डिस्चार्ज भइन्।
हिप भाँचिएकी ८० वर्षीय आमै शल्यक्रियाको भोलिपल्टै ठमठम हिँडेपछि...
केही समयअघि करिब ८० वर्षकी घाइते आमैको लडेर हिप भाँचिएको थियो। अस्पताल आएपछि डा. सुशीलको टिमको ती आमैको हिपको शल्यक्रिया गर्नुपर्ने निष्कर्ष निकल्यो र शल्यक्रिया पनि गर्यो।
शल्यक्रियापछि आत्मबल दिनका लागि डा. सुशीलले ख्यालखालमै ती आमैलाई ‘आमा भोलि खुट्टा टेक्न मिल्छ, अनि हिँडेरै घर जान मिल्छ है!’ भनेका थिए।
तर, भोलिपल्ट नै आमै हिँड्न सक्छिन् भन्ने विषयमा उनी विश्वस्त भने थिएनन्। शल्यक्रियापछि आमैलाई वार्डमा भर्ना गरियो।
भोलिल्ट डा. सुशील सहितको चिकित्सकको टिम वार्डमा राउण्डअप गयो। शल्यक्रिया गरेको भोलिपल्ट वार्डमा त ती आमैले डा. सुशीललाई पछाडिबाट बोलाउँदै ‘बाबु म त हिँडन सक्ने भएँ नि!’ भन्दै मुस्कुराउँदै हिँडेरै पो देखाइदिइन्।
शल्यक्रिया गरेको भोलिपल्टै ती पाको उमेरकी आमै हिँडेको देखेर डा. सुशील पनि छक्कै परे। आमै हिँडेको देखेर उनलाई खुसी र आनन्द लाग्ने नै भयो।
जन्म अर्घाखाँची, अध्ययन अर्थोपेडिक सर्जरी
२०४५ मा अर्घाखाँचीको छत्रदेवमा जन्मिएका सुशीलले गुल्मीको अर्जुन उच्च आवासिय माविबाट २०६० मा एसएलसी गरे। त्यसपछि थप अध्ययनक लागि काठमाडौं आए र वर्ल्डलिंक एकेडेमीबाट प्लसटु सके।
डाक्टर बन्ने सपना बोकेका उनले त्यसका लागि तयारी कक्षाहरू गए र परीक्षा पनि दिइरहे। नभन्दै नेपाल सरकारको छात्रवृति कोटामा एमबीबीएस अध्ययनका लागि उनी उत्तीर्ण भए।
सुशीलले काठमाडौं विश्वविद्यालय अन्तर्गतको पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्समा सन् २००९ मा एमबीबीएस अध्ययनका लागि भर्ना भएर अध्ययन सुरू गरे।
सन् २०१४ मा एमबीबीएस अध्ययन पूरा गरे र दुई वर्ष अनिवार्य छात्रवृत्ति करारमा काम गरे। भयो। नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेको विद्यार्थीले दुई वर्ष अनिवार्य सरकारी अस्पतालमा काम गर्नुपर्ने प्रावधान छ।
डा. सुशीलले अर्घाखाँचीको जिल्ला अस्पतालमा एक वर्ष र अर्को एक वर्ष मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेतमा गरी दुई वर्ष छात्रवृति करारमा काम गरे।
छात्रवृति करारमा काम गरेपछि २०७३ मा डा. सुशील लोकसेवा परीक्षामार्फत आठौं तहको मेडिकल अधिकृत चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भए।
सरकारी जागिरे भएपछि डा. सुशील पोष्टिङ भएर रुकुम (पश्चिम)को जिल्ला स्वास्थ्य सेवा कार्यालयमा पुगे। २०७५ बाट २०७६ सम्म उनले जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारीमा रहेर काम गर्ने मौका पाए।
त्यसपछि थप अध्यननका लागि उनी २०७६ मा त्रिभूवन विश्वविद्याल, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको अर्थोपेडिक सर्जरी विषयमा एमएस अध्ययन गर्न थाले। २०७९ मा डा. सुशीलले एमएस अध्ययन पूरा गरे।
एमएस अध्ययन पूरा गरेपछि डा. सुशील पुनः रुकुम (पश्चिम) कै स्वास्थ्य सेवा कार्यालयमा नै काम गर्न पुगे। अहिले उनी यो कार्यालयको प्रमुखको भूमिकामा छन्।
उनी नेपाल सरकारको आठौं तहको चिकित्सकको भूमिकामा भए पनि अध्ययनको विशेषज्ञताको दृष्टिले भने अर्थोपेडिक सर्जन हुन्। यही वर्ष डा. सुशीललाई कर्णाली प्रदेश, निजामती दिवसको उपलक्षमा उत्कृष्ट कर्मचारीको रूपमा प्रदेशले सम्मान समेत गरेको थियो।
दुर्गमको दुःख
दुर्गमका अर्थोपेडिक सर्जन उनी विशेषगरी शल्यक्रियामा नै व्यस्त हुन्छन्।
बिरामीलाई सन्तुलित खानपान तथा स्वास्थ जीवनशैलीका बारेमा ज्ञान दिन्छन् उनी। तर, बिरामीको औषधि उपचार तथा शल्यक्रिया र प्रशासनिक भूमिकामा समेत व्यस्त हुने उनी आफ्नै खानाको भने टुंगो हुँदैन।
दुर्गमका चिकित्सक भएकाले कयौं पटक राती नै उठेर अस्पतालमा बिरामीको उपचारका लागि पुग्नुपर्ने हुन्छ, जसले गर्दा उनी राम्रोसँग निदाउन समेत पाउँदैनन्।
तर, दुर्गममा दुःख पाएका बिरामीको औषधि उपचारमा नै उनी रमाएका छन्। दुःख पीडामा परेको बिरामीलाई उपचार गरेर ठिक बनाउँदा उनलाई आनन्द लाग्छ। सन्तुष्टि मिल्छ।
मंसिर २, २०८० शनिबार १४:२१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।