मिस युनिभर्स जेन दिपिका, जसले ‘बडी सेमिङ’को मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याइन्

मिस युनिभर्स जेन दिपिका, जसले ‘बडी सेमिङ’को मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याइन्

काठमाडौं : अमेरिकी मुलकी नेपाली नागरिक जेन दिपिका ग्यारेटले मिस युनिभर्स नेपाल २०२३ को टाइटल जित्दा नै उनको तौललाई लिएर विवाद भएको थियो।

गैर आवासीय नेपाली पनि सहभागी हुन पाउने नियममा टेकेर उनी सहभागी भइन्। नेपाली आमा अनि अमेरिकी बुबाकी सन्तान उनी नर्स हुन्। हाल उनी नेपालमै बस्छिन्।

सामान्तया ब्युटी पेजेन्टमा प्लस साइज मोडललाई त्यति रुचाइँदैन। प्लस साइज मोडलका लागि छुट्टै ब्युटी पेजेन्ट आयोजना हुने गरेको छ। उनी विजेता बनेपछि सुन्दरताको मानक र ब्युटी पेजेन्टबारे नेपालमा त्यति बहस भएन।

जब उनी नेपालको प्रतिनिधित्व गर्दै मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइन्, तब उनी अन्तराष्ट्रिय मिडियामै छाइन्।

सीएनएनदेखि लिएर अन्तर्राष्ट्रिय मिडियाले उनलाई मिस युनिभर्समा सहभागी पहिलो प्लस साइज मोडल भन्दै समाचार सम्प्रेषण गरे।

सान साल्भाडोरमा १८ नोभेम्बरबाट शुरू भएको प्रतियोगिताको र्याम्पमा उनी आउँदा दर्शकहरूबाट पक्षमा चर्को हुटिङ हुने गरेको छ। आयोजक देशको मिडियामा उनी एकछत्र छाएकी छन्।

बेस्ट ड्रेस सेसनका लागि उनी चुनिएकी छन्। स्विमवेयर सेसनमा पनि उनले उत्तिकै समर्थन पाइन्।

मिस युनिभर्स नेपाल भएदेखि नै उनले शरीरको साइजका आधारमा सुन्दरताको मापन गर्ने मापदण्डको विपक्षमा आफ्नो मत राख्दै आएकी छन्।

शरीरको हाडको आकारले पनि शरीरको आकार निर्धारण गर्ने भन्दै उनले आफ्नो शरीरको हड्डी नै ठूलो भएकाले शारीरिक आकार ठूलो देखिएको बताउँदै आएकी छन्।

शरीरको आकारको आधारमा सुन्दरताको मापन हुनु ‘बडी सेमिङ’ भएको भन्दै उनी यसको विपक्षमा उभिएकी छन्। अनि अहिले उनको आत्मविश्वासले यो बहस अन्तर्राष्ट्रिय मञ्चमा पुगेको छ।

प्रतियोगितामा उनको चर्चाको कारण प्लस साइज मात्र हैन उनको आत्मविश्वास र प्रतिभा पनि हो।

मंसिर २, २०८० शनिबार १२:५२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।