नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं : चार देश सम्मिलित महिला टी२० सिरिजको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनायो।

नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३८ रन जोड्दा कप्तान इन्दु बर्माले २७, पुजा महतोले १३, सीता राना मगरले ९ रन जोडिन्।

काजल श्रेष्ठ र अस्मिना कर्माचार्यले अविजित रहँदै क्रमशः १५ र १ रन बनाए।

बलिङतर्फ जापानकी इलेना कुसुडा नरिनले दुई तथा मेग ओगावा र आयुमी फुजीकावाले समान एक–एक विकेट लिए।

नेपाल पहिलो र दोस्रो खेलमा पराजित भइसकेको छ। यस्तै जापान पनि समूह चरणका दुई खेलमा पराजित भइसकेको छ।

नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो। यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो।

महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन्।

आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन्। तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन्।

मंसिर २, २०८० शनिबार ०८:४९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।