कालोमोसो र निजात्मक भिडियोले बढाएको प्रसाईँ- महेशको दुस्मनी, दुवै समूहलाई माइतीघरमा प्रवेश निषेध

कालोमोसो र निजात्मक भिडियोले बढाएको प्रसाईँ- महेशको दुस्मनी, दुवै समूहलाई माइतीघरमा प्रवेश निषेध

काठमाडौँ : राजतन्त्रको पक्षमा उग्र गतिविधिमा सक्रिय दुर्गा प्रसाईँ र एमालेको युवा सङ्घले मङ्सिर ७ गते एकै स्थानमा कार्यक्रम घोषणा गरेपछि सुरक्षा सङ्गठन चनाखो बनेका छन्।

प्रसाईँलाई कालोमोसो दल्ने अनि एमाले नेता महेश बस्नेतको निजात्मक भिडियो सार्वजनिक हुने क्रमसँगै यी दुबैबिच राजनीतिक भन्दा पनि व्यक्तिगत दुस्मनी बढेको छ।

कालोमोसो दल्ने रणनीति बस्नेतले बनाएको प्रसाईँको बुझाई देखिन्छ भने आफ्नो भिडियो सार्वजनिक गराउन प्रसाईँ लागेको बस्नेतको बुझाई देखिन्छ।

बिचमा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीले अवैध रूपमा विदेशको टेलिकममा लगानी गरेको दाबी गरेका थिए। मेडिकल व्यवसायमा विवादित पात्र बनेका प्रसाईँ माओवादी, एमालेहुँदै अहिले आफ्नै अभियान चलाइरहेका छन्।

पछिल्लो समय एकले अर्कालाई बदनाम गराउन सक्रिय पक्षले एकै स्थान माइतीघरमा एकै दिन मङ्सिर ७ मा प्रदर्शन गर्ने घोषणा गरेर तयारी सुरु गरेपछि सुरक्षा व्यवस्थापनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत चासो दिएका छन्।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रमुख वसन्त कुँवर र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए।

बैठकबारे जानकारस्रोतका अनुसार बैठकमा दशैँ, तिहारको सुरक्षा अवस्था र त्यसको नतिजासँगै प्रसाईँ र युवा संघको प्रदर्शनबारे समेत छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री प्रचण्डले दुवै समूहको प्रदर्शन र सुरक्षा प्रबन्धबारे चासो राखेका थिए। दुबैबिच राजनीतिक भन्दा पनि व्यक्तिगत तहमै दुस्मनी देखिएकाले दुवै समूहको भेट नहुनेसरि प्रदर्शन गर्न दिने तयारी भइरहेको सुरक्षा सङ्गठनका प्रमुखहरूले जानकारी गराएका थिए।

पछिल्लो समय देखिएको सामाजिक र धार्मिक सद्भाव खलबल्याउने घटना र अहिले त्यसको अवस्थाबारे समेत बैठकमा छलफल भएको थियो।

विएन्डसीको सम्बन्धसँग जोडिएको राजनीति

बिर्तामोडमा रहेको बिएनसी मेडिकल कलेजले सम्बन्धन नपाएपछि राजनीतिक गतिविधिमा सक्रिय भएका प्रसाईँ आफैँमा विवादित पात्र हुन्। तर बैङ्कको ब्याज मिनाहा लगाएका अजेण्डाहरु उठाएर उनले आफ्नो प्रभाव बढाइरहेका छन्।

माओवादी अध्यक्ष प्रचण्ड अनि एमाले अध्यक्ष केपी ओलीलाई मार्सीको भात खुवाएको तस्बिर सार्वजनिक भएसँगै 'मार्सी प्रसाईँ' को उपनाम पाएका उनी एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि राजनीतिमा सक्रिय हुन थालेका थिए। सार्वजनिक रूपमा उनी पहिला डा गोविन्द केसीको अभियानविरुद्ध केन्द्रित भएका थिए। बैङ्कबाट लिएको ऋण नतिरेका उनी पछिल्लो समय बैङ्कको ऋण मिनाहाको अभियान लागेका थिए।

नेकपा विभाजित भएपछि प्रसाईँ एमालेमै रहेर ओलीको सहयोगी बने। ओलीलाई पार्टी अध्यक्ष बनाउन उनी चितवनमा निकै सक्रिय देखिएका थिए भने उनी एमालेको केन्द्रीय सदस्य समेत भए।

एमालेमा रहँदै उनले राजतन्त्रको पक्षमा वकालत गर्न नयाँ सङ्गठन घोषणा गरेपछि एमालेबाट निकालिए। सामाजिक सञ्जालमार्फत आफ्ना विवादित अभिव्यक्ति सार्वजनिक गर्दै आएका उनले मङ्सिर सात गते ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ को नाममा १० लाख उतार्ने दाबी गर्दै माइतीघरमा शक्ति प्रदर्शनको तयारी गरिरहेका छन्।

उता त्यही दिन युवा संघको नाममा समेत माइतीघरमै प्रदर्शन गर्ने घोषणा भइसकेको छ। प्रसाईँले प्रदर्शनस्थल र मिति घोषणा गरेपछि युवा सङ्घले भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध प्रदर्शन गर्ने घोषणा गर्यो। सङ्घले जे बहाना दिए पनि प्रदर्शन मिति र स्थान एकै पारेर प्रसाईँलाई चुनौती दिन खोजेको प्रस्टै देखिन्छ।

कालोमोसोले बढाएको दुस्मनी

असोज २२ गते कान्तिपथस्थित होटेल एलो प्यागोडाको कार्यक्रममा सहभागी भएका उनीमाथि कालोमोसो दलियो। कालोमोसो दलिएपछि केपी ओली जिन्दाबाद र महेश बस्नेत जिन्दावादको नाराबाजी भयो। प्रसाईँले महेश बस्नेतको निर्देशनमा कालोमोसो दलिएको दाबी गरे।

त्यो घटना लगत्तै बस्नेतले फेसबुकमा लेखे 'बैक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईँलाई युवाहरूले तह लाएछन्। अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ। यस्तालाई सरकारले कारबाही गरोस्’। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाईँ।’

त्यसयता प्रसाईँ र बस्नेतबिच सार्वजनिक मञ्चहरूमा एक अर्काको आलोचना र चेतावनीको शृङ्खला बढिरहेको छ। बिचमा मनोज मानव नामका युट्युबरले बस्नेतको निजात्मक भिडियो फेसबुकमा राखे। महिलाको उजुरीपछि मानव अहिले प्रहरीको हिरासतमा छन्। बस्नेत समूहले सो काम प्रसाइँ समूहले गराएको दाबी गर्ने गरेको छ।

भेट हुन नदिने सुरक्षा रणनीति

दुवै समूहले एकै स्थलमा कार्यक्रम राख्ने घोषणा गरे पनि सुरक्षा निकायहरूले भने दुवै समूहलाई प्रदर्शन गर्न दिने तर जम्काभेट हुन नदिने रणनीति बनाइसकेका छन्।

'दुवै समूहको भेट भयो भने हिंसात्मक घटना हुनसक्छ। प्रदर्शन त रोक्दैनौँ तर उनीहरूलाई माइतीघरमा प्रदर्शन गर्न पनि दिँदैनौँ' एक सुरक्षा अधिकारीले उकेरासँग भने।

कुन समूहलाई कहाँ रोक्ने भन्ने भने एकिन भएको देखिएन। उनीहरूले जहाँ प्रदर्शनको तयारी गरेका छन् त्यहाँ दुवै समूहलाई पुग्न नदिने तयारी भने देखियो।

मंसिर १, २०८० शुक्रबार १९:४०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।