दमौलीमा प्रचण्डको प्रश्न ' नारायणहिटी हत्याकाण्ड कसले मच्चायो?'

दमौलीमा प्रचण्डको प्रश्न ' नारायणहिटी हत्याकाण्ड कसले मच्चायो?'

दमौली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको दाबी गरेका छन्।

शुक्रवार तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै उनले हिजोका सामन्ती तत्त्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेको दाबी गरे।

सामन्ती तथा निरङ्कुश शक्तिले पुरानै सत्ता फर्काउन सकिन्छ कि भन्ने सपना देख्न थालेको बताउँदै भने भने' उनीहरू सङ्घीयताका विरुद्ध, गणतन्त्रका विरुद्ध, समावेशी–समानुपातिक प्रणालीका विरुद्ध जनतामा अफवाह फैलाउन खोजिरहेका छन्। लोकतन्त्रको अर्थ अराजकता होइन, स्वतन्त्रता हो, सुव्यवस्था र जिम्मेवारीबोध हो।'

‘गणतन्त्रअघि सुव्यवस्था, विकास र प्रगति थियो ? जुन शक्तिहरूले अहिले संस्कारको कुरा गरिरहेका छन्, तिनीहरूको संस्कार के हो? कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड कसले मच्चायो ? हजारौँ नेपालीमाथि दमन कसले गर्यो?  जो सबैभन्दा बढी तानासाह छन्, फासिस्ट छन्, विकासविरोधी छन्, उनीहरूले नै स्वतन्त्रताको कुरा गर्ने ? संस्कारको कुरा गर्ने?'  उनले प्रश्न गरे।

उनले भ्रामक प्रचार र व्यवस्थाविरोधी षड्यन्त्र असफल पार्नुपर्ने र जनता न्यायाधीश भएकाले उनीहरूले असफल पार्ने बताए।

प्रधानमन्त्री दाहालले संविधानलाई संस्थागत गर्ने प्रक्रिया चलिरहेको बताउँदै सङ्घीयता जनताको हितमा छ भन्ने प्रमाणित गरिने बताएका थिए।

प्रदेश सरकार बलियो बनाउन प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन आवश्यक भएको बताउँदै उनले यी ऐन भए मात्रै प्रदेश सरकार बलियो हुने बताएका थिए।

मंसिर १, २०८० शुक्रबार १६:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।