‘नेपाल मण्डल साँच्चै खतरामा छ’
खोइ नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसेको? अहिलेसम्म नेपालीले त्यही एउटा जग मजबुतीका साथ खडा गर्न सकेका छैनौँ। बीपी कोइराला प्रधानमन्त्री भएका बेलामा पनि भन्नुहुन्थ्यो- नेपाल राष्ट्र भइसकेको छैन। राष्ट्र बनाउने प्रयत्नमा नै उहाँले इजरायललाई मान्यता दिनुभएको हुनुपर्दछ।
‘नेपाल प्रशासनिक इकाइ मात्र हो’ बीपीको यो भनाइको विपक्षमा जवाफ दिन कोही तयार थिएनन्। स्पष्टतः सबै बीपीको यो प्रश्नसँग सहमत थिए। उनीहरूलाई यसको जवाफ थाहा थियो। बीपीले साँचो बोल्नु भएको थियो।
‘राष्ट्र निर्माता’ पृथ्वी नारायण शाहले राज्यको विस्तार गरे पनि जितेका भूमिको उचित व्यवस्थापन गर्न सकेनन्। ती, जो आजसम्म नेपालको हैसियत प्रशासनिक इकाइ मात्र हो भन्ने मान्न तयार थिएनन्, अहिलेसम्म पनि कांग्रेस र कम्युनिष्ट दुवैतिरको सक्रिय राजनीतिको मोठमा दर्ता भएको देखिएका छैनन्।
त्यतिबेलाको एउटा अनौठो कुरा, महाराजा पृथ्वीनारायण शाहले प्रजाहरूको मनमा आफ्नो गोर्खा राज्यको विस्तार गर्न युद्ध शुरू गरेको भन्ने आभाश नै पर्न दिएका थिएनन्। त्यस्तो आभाश पाएको भए अहिलेको गोर्खा बजार बृहत्तर गोर्खा राज्यको शक्तिशाली राजधानी शहरका रूपमा चिनिने थियो होला।
कांग्रेस, कम्युनिष्ट र माओवादीको चरित्रमा अहिले आएको आकस्मिक परिवर्तनलाई हेर्दा लाग्दछः संघीय लोकतान्त्रिक गणतन्त्रको समेत ‘निर्दलीय पन्चायतीकरण’ भै सकेको छ।
भर्खरै कोशी प्रदेशमा नेपाली कांग्रेसका ‘प्रभावशाली’ नेता शेखर कोइरालाले नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई बक्साएर ‘आफ्ना’ मानिस केदार कार्कीलाइ प्रदेशको मुख्यमन्त्री बनाए। त्यसले नेपाली कांग्रेस र माओवादी नेतृत्वको गठबन्धनको राजनीतिक अवस्था बिद्रूप देखियो।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर मेलमिलापका लागि तयार भए। यो प्रचण्ड, देउवा र कोइराला तीनै जनाको प्रतिष्ठामाथिको प्रहार थियो। जसोतसो शेखरको अहंकारले तुष्टि पायो होला। हाललाई समस्या सामसुम भएको देखियो।
तर, संघीय राजनीति सुहाउँदो समाधान निस्किएन। कोशीका नाममा छुट्याइएको भूमिको राजनीतिक, सामाजिक र सांस्कृतिक विविधताको पहिचान नगरीकनै राज्यको नाम र सीमा निर्धारण भयो। कुरा त त्यति नै हो। तर अहिले त्यति नै कुरा संग्रालिन थालेको छ।
यतिबेलाको राजनीतिक प्रसङ्ग अलि चर्केको जस्तो देखिएको छ। त्यसैले पनि अहिलेको राजनीतिक प्रसङ्गमा मिल्दोजुल्दो हुनेगरि यहाँनिर अलिकति राजनीतिक चर्चा गर्नु समीचिन हुनेछ। इतिहासको पूर्वसन्ध्यादेखि नै नेपाल मण्डल र मध्यवर्ती मधेश प्रदेशको पहिचान निकै चमक-दमकपूर्ण रहँदै आएका हुन्। आज ती चमक-दमक हराए जस्ता छन्।
सामान्य नेपालीका लागि काठमाडौं ‘मण्डल’ थियो: सुख र समृद्धिको उपत्यका। मध्यवर्ती मधेश प्रदेशको हैसियत पनि सुविधा सम्पन्न थियो। गोर्खाली राजा पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका र मधेशमाथि खण्डित विजय प्राप्त गरेपछि काठमाडौं मण्डला पूर्ण रूपले नेपाल मण्डलामा परिणत भएको थियो।
त्यतिबेलाको एउटा अनौठो कुरा, महाराजा पृथ्वीनारायण शाहले प्रजाहरूको मनमा आफ्नो गोर्खा राज्यको विस्तार गर्न युद्ध शुरू गरेको भन्ने आभाश नै पर्न दिएका थिएनन्।
२००७ साल फागुन ७ गते राणा शासन समाप्त भएन। पृथ्वी नारायणपछि नेपाल अधिराज्यको नियन्त्रण राणाहरूको हातमा गयो। पृथ्वीनारायण शाहका सन्तानहरूले राणा भारदारको इच्छा अनुसारको जीवन बिताए।
त्यस्तो आभाश पाएको भए अहिलेको गोर्खा बजार बृहत्तर गोर्खा राज्यको शक्तिशाली राजधानी शहरका रूपमा चिनिने थियो होला। विकासका सम्पूर्ण उपक्रमहरूको प्रारम्भ गोर्खा बजारबाट शुरू हुने थिए। पालुङ्गटार नाम पाएको गोर्खाकोे सानो विमानस्थलले अन्तर्राष्ट्रिय आकार ग्रहण गरिसकेको हुने थियो।
अहिले पनि काष्ठमण्डप, कान्तिपुर वा काठमाडौंको अस्तित्व प्राचीन मन्दिर र दरबारहरूले भरिएको एउटा सुन्दर पौराणिक शहरका रूपमा खुम्चिने थियो। यिनका वैशिष्ठ्यताहरूको महिमा मण्डित त हुने नै थिए।
समृध्दिको शहर काठमाडौंमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहले खासै मेहनत गर्नु परेको थिएन। नुवाकोट र कीर्तिपुरको युद्ध कठिन भए पनि अन्यत्र गोर्खाली फौजले सजिलै विजय प्राप्त गरेको थियो।
इन्द्रजात्राको आनन्द मनाउँदै बसन्तपुर डबलीमा हाँसी खेली रमाइ रहेका काठमाडौंका जनताले उपत्यकाका तीनवटै मल्ल राज्यका सिपाहीले कतिबेला गोर्खाली सेना समक्ष आत्मसमर्पण गरे? त्यसको पत्तै पाएनन्। काठमाडौं विजय गरेपछि पृथ्वीनारायण शाहले काठमाडौंलाई नै राजधानी बनाए।
आफ्ना गोर्खाली भाइ-भारदार, गुरु-पुरोहित र चाकरीदारलाई गोर्खाबाट काठमाडौं बोलाए। गोर्खा राज्यको नाम र निसाना दुवै मेटियो। राज्यमा रहेको गुरु गोरखनाथको प्रसिद्ध मठ भारत, उत्तर प्रदेशको गोरखपुर शहरमा सर्यो।
सूर्यवंश र चन्द्रवंशमा विभाजित भएका तथा विभिन्न राजा-रजौटाले कुनै न कुनै अवतारमा काठमाडौं भन्ने गरेका राजा-महाराजाले यो सानो र हरित उपत्यकाको पर्याप्त सुखभोग गरिसकेका छन्। यो उपत्यकाले ओगटेका छेउछाउका भू-भाग, बगर र टारीहरू एवं खोंच र कछाडहरू, गह्रा र पाखाहरूमा भर्खरै दशैं सकिएको छ भने समवर्ती मधेश प्रदेशमा कंकालिनी, छिन्नमस्ता, बिन्ध्यवासिनी, राजदेवी र गढीमाईको पूजा-अर्चनाको लहर अझै रोकिएको छैन। तिहार सकिएको छ र छठको तयारी छ।
देशका मुख्य भागमा दशैं, तिहार र छठ पर्व लगातार आउँछन्। यसको अर्थ देशका अन्य भागहरूमा चाडबाड नै मनाइँदैन भन्ने होइन। पूर्व ओलाङचुङदेखि पश्चिम कालापानीसम्म लमतन्न तानिएको हाम्रो यो देशका ‘भूगोल’ हरूको आ-आफनै अवशिष्ट चरित्र रहेका छन्। त्यही अवशिष्ट चरित्रको अभिव्यक्ति सबैतिर हुने गरेको छ।
देशमा विद्यमान रहेको गरिवीको अन्त्य गर्न सात सालको क्रान्तिदेखि २०६२ सालको बृहत्त शान्ति सम्झौतासम्मका सबै संघर्षहरू निरन्तर भए। तर, ती संघर्षका नतिजामा देशले के पायो र हामीले के पायौं? कति गुमायौं?
बुद्धको ‘ओम मणिपद्मे हूँ’ र सामा-चखेवादेखि गौरापर्वसम्म संस्कृतिका संकेतहरू सँधै सदभावपूर्ण रहेका छन्। तर, देशको रूपमा नेपालको अवस्था भने दिनदिनै खस्किँदो छ। मानिस मानिसबीचको सम्वाद खस्किँदै गएको छ।
यस्तो किन भै रहेको छ? किन हामी दिन-प्रतिदिन जसो पछाडि पर्दै गएका छौँ? इतिहासविद् राजेश गौतम भन्दछन्- नेपालको ऐतिहासिक घटनाक्रममा कुनै संगति नै छैन। संकुचनले गाँजिएको छ इतिहास।
हामीले २००७ सालको फागुन ७ गतेलाई मुक्ति दिवस मान्यौं। राणा शासन समाप्त भएको दिन थियो त्यो। तर, त्यसले विधिवत मान्यता पाउने अवसर नै फेला पारेन। २००७ साल फागुन ७ गते राणा शासन समाप्त भएन। पृथ्वी नारायणपछि नेपाल अधिराज्यको नियन्त्रण राणाहरूको हातमा गयो। पृथ्वीनारायण शाहका सन्तानहरूले राणा भारदारको इच्छा अनुसारको जीवन बिताए।
२००७ सालमा प्रजातन्त्रको स्थापना भए पनि २०४६ सालको राष्ट्रिय जन-आन्दोलनको सफलतापछि मात्र नेपालमा प्रजातन्त्र दिवस मनाउने उपयुक्त परिस्थितिको निर्माण भएको हो। अहिले देशमा संघीय गणतान्त्रिक व्यवस्थाको स्थापना भएको छ। तर पनि, देश र जनताको परिस्थितिमा अलिकति पनि सुधाार आएको छैन। सामान्य मानिसको जीवनमा अलिकति पनि तात्विक फरक परेको छैन।
नेपालका बुद्धिजीवी र राजनीतिक भाष्यकारहरूले राजनीतिका सन्दर्भमा अहिलेसम्म पनि आफ्नो खास भूमिका बुझ्न सकेका छैनन्। नेपाली समाजको प्रतिनिधित्व अहिलेसम्म पनि पुरोहित वृत्तिले नै गरेको छ। प्रतीकात्मक ढंगले ‘टपरी टकटक्याउने कला’ ले सम्पूर्ण देशको बौद्धिक जीवनको हुर्मत लिने गरेको छ।
समाजले मान्दै र पछ्याउँदै आएका व्यक्तित्वहरूको जीवन ‘सत्ताको कृपापात्र’ बन्ने महत्वाकांक्षा पालेर ओइलाएको छ। अहिले हामी अत्यन्त कारुणिक अवस्थामा छौँ। पुरानो अवस्था भत्किएर नयाँ गणतान्त्रिक संरचना नबनेसम्म परिवर्तन आउन सक्दैन। यो सार्वकालीक सत्य हो।
सामान्य जनताले हजार कमाउन लाख गुमाएका छन्। गाउँतिर जाऔं भने गाउँको अस्तित्व नै मेटिइ सकेको छ। शहरमा गुजारा कठिन छ। नेपाल मण्डल साँच्चै खतरामा छ।
देशमा विद्यमान रहेको गरिवीको अन्त्य गर्न सात सालको क्रान्तिदेखि २०६२ सालको बृहत्त शान्ति सम्झौतासम्मका सबै संघर्षहरू निरन्तर भए। तर, ती संघर्षका नतिजामा देशले के पायो र हामीले के पायौं? कति गुमायौं? के नयाँ वा पुराना कुनै पनि दलका नेताहरूमा हिम्मतका साथ यसको व्याख्या गर्ने शक्ति छ?
नेपालमा शक्तिको संरचना कहिले सिंहदरबारलाई फैल्याएर, कहिले गाउँलाई खुम्च्याएर हुने गरेको छ। नेपालका जनप्रतिनिधिहरूले, नेताहरूले शक्तिको दुरुपयोग गरेकै छन्। अहिले त नेताहरूमा पनि गजबको जागृति आएको छ। हरेक नेताका हात-हातमा क्यामेरा छन्, सामाजिक सञ्जालका प्रतिनिधि पनि छन् र लिंक पनि छन्।
राजनीति, व्यापार र समाजसेवामा लागेका मानिसहरूले सामान्य जनताका अभिव्यक्तिका माध्यमहरूलाई सम्पूर्ण रूपमा आफनो कब्जामा लिएका छन्। मानिसको वैयक्तिक स्वतन्त्रता छिन्नभिन्न भएको छ। देशको हावामा प्राणवायुको कमी बढ्दो छ। सामान्य जनता आत्तिएका छन्। सामान्य जनता अलमलिएका छन्।
सामान्य जनताले हजार कमाउन लाख गुमाएका छन्। गाउँतिर जाऔं भने गाउँको अस्तित्व नै मेटिइ सकेको छ। शहरमा गुजारा कठिन छ। नेपाल मण्डल साँच्चै खतरामा छ। कुनै दिन यस्तो कथा पनि बन्न सक्दछ- नेपाल भन्ने एउटा सुन्दर देश थियो। त्यो देशको कुनै एउटा गाउँमा एउटी मुना बस्थिन्, अर्का मदन बस्थे। मुना चौंरी र च्यांग्रा चराएर बेशीमा बस्थिन, मदन नूनको ढाकर बोकेर तिब्बततिर उक्लिन्थे।
यतिबेला हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको सिर्जना मुना-मदनलाई सम्झेर बसेका छौँ। हामी मुना र मदनलाई पर्खेर बस्न अभिशप्त छौँ। किनभने हामीले तिनलाई हाम्रा सृष्टिका सुगन्ध मानेका छौँ।
मंसिर १, २०८० शुक्रबार १४:०८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।