सुन तस्करीको रुट बुझ्न रसुवा पुग्यो आयोग

सुन तस्करीको रुट बुझ्न रसुवा पुग्यो आयोग

काठमाडौं : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरूको स्थलगत अध्ययन भ्रमण गरेको छ।

ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरूको अनौपचारिक भ्रमण गरेको हो।

दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको रसुवास्थित एक विश्वस्त सूत्रले नेपाल न्यूज बैंकलाई जानकारी दिएको छ।

तर आयोगले भने यसको पुष्टि गरेको छैन।

चीनको राजधानी बेइजिङ्गबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो।

रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराइएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरूले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलव्ध गराइएको सूत्रले बताएको छ।

आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरी नै पाँच किलो अवैध सुन समातेको थियो।

यता आयोगले सुनको अवैध पैठारी (तस्करी) सम्बन्धमा विभिन्न सरोकारवाला संस्था र व्यापारिक समूहसँग बुझ्ने कार्यलाई निरन्तरता दिइरहेको छ।

नेपाल पारवहन केन्द्र, उद्योग वाणिज्य संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल आभूषण संघ लगायतका संस्थासँग बुझ्ने कार्य भैसकेको आयोग सूत्रले जानकारी दिएको छ।

आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्यले चाड पर्वको बिदा सकिएलगत्तै आयोग आफ्नो कार्यमा सक्रिय रहेको बताए।

उनले स्थलगत अध्ययन भ्रमण गरेको विषयमा ‘बुझ्न आवश्यक परेका ठाउँमा आयोग सम्पर्कमा रहन्छ’ भन्ने संक्षिप्त प्रतिक्रिया मात्र दिए।

सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछि ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग-२०८०’ गरेको थियो।

‘सुन आयोग’ भनी चर्चामा रहेको आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायीक अर्धन्यायिक विषयहरूबाट प्रवेश गरेर, सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रूपमा लिँदै घटनाक्रमहरूलाई आफ्नै ढङ्गले अनुन्धान गरिरहेको जनाएको छ।

आयोगले यसअघि विदेशबाट इलेक्ट्रोनिक सिगरेट (भेप) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको र साउन २ गते ब्रेकशुमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको लगायतका पटक पटक भइरहेको सुन तस्करीजन्य कसुरको प्रकृति तथा यसबाट पर्ने बहुपक्षीय असरका सम्बन्धमा सुझाव एवम् जानकारी लिएको छ।

सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक-पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना आयोगले लिने भएको छ।

सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ।

गृह मन्त्रालयको पुरानो भवन परिसरमा आयोगको कार्यालयसमेत स्थापना भएको छ।
नेपाल न्यूज बैंक

मंसिर १, २०८० शुक्रबार १२:२३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।