कैलाशले विश्वमा प्रतिस्पर्धा गर्न सक्छन् : चन्द्र भण्डारी
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले कमेडियन कैलाश कार्कीको अभिनयको प्रशंसा गरेका छन्।
‘आईडीएस पडकास्ट’मा कुराकानी गर्दै भण्डारीले आफूलाई कैलाशको प्रस्तुति एकदमै मनपर्ने र उनले अन्य भाषामा पनि आफूलाई पोख्त बनाए विश्वमा प्रतिस्पर्धा गर्नसक्ने बताए।
‘मलाई सप्पैभन्दा मनपर्ने नेपाली कमेडीका कैलाश हुन्,’ उनले भने, ‘तिनको मलाई बहुत् मनपर्छ। तिनले विश्वमा प्रतिस्पर्धा गर्नसक्छन् भन्ने मलाई विश्वास छ, अरु ल्याङ्ग्वेजमा पनि यसलाई डेभलप गरे भने।’
उनले आफूलाई बच्चाहरूको दोहोरी गीत असाध्यै मनपर्ने भन्दै अमेरिकाको राष्ट्रपति बन्नुभन्दा दोहोरी गाउन गाह्रो भएको टिप्पणी गरे।
‘अमेरिकाको राष्ट्रपति बन्नुभन्दा त्यो दोहोरी गाउन गाह्रो छ, तुरुन्तै जवाफ दिनुपर्यो कि परेन?’, उनले थपे, ‘त्यो दोहोरी देख्दा हाम्रा बच्चा संसारको कुनै पनि देशका प्रधानमन्त्री र राष्ट्रपति हुनसक्छन् भन्ने मलाई लाग्छ, त्यति तिक्ष्ण बुद्धिका छन् उनीहरू।’
सांसद भण्डारीले डिप्रेसन लगायतका बिरामी भएका र थाकेका मानिसले टिकटक हेरेर आनन्द लिइरहेकाले आफूले यसलाई एकदमै सकारात्मक रुपमा हेरेको बताए।
‘मैले टिकटकलाई एकदमै पोजेटिभ रूपले हेर्छु र मलाई अत्यन्तै आनन्द पनि लाग्छ,’ उनले थपे, ‘तर यहि टिकटकले खान हुँदैन, त्यहि कुरा हो।’
मंसिर १, २०८० शुक्रबार ०९:५५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।