इजरायली सेनाको दावी : हमासले बन्धक बनाएकी ६५ वर्षीया क्यान्सर पीडितको शव भेटियो

इजरायली सेनाको दावी : हमासले बन्धक बनाएकी ६५ वर्षीया क्यान्सर पीडितको शव भेटियो

एजेन्सी : इजरायली सेनाले गाजामा बन्धक बनाएकी एक महिलाको शव आफ्ना सैनिकहरूले फेला पारेको बताएको छ।

गत ७ अक्टोबरमा आक्रमणको क्रममा हमासले ती महिलालाई बन्धक बनाएको थियो।

इजरायल डिफेन्स फोर्सका अनुसार ६५ वर्षीया इजरायली महिला येहुदित वेइसको शव अल शिफा अस्पताल नजिकैको घरबाट फेला परेको हो।

बन्धकहरूलाई रिहा गर्न माग गर्दै आएको संस्था ब्रिङ द देम होमका अनुसार ती महिलालाई स्तन क्यान्सर भएको थियो।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती महिला आफ्नो रोगबाट निको हुँदै थिइन्।

बन्धक बनाएको अवस्थामा उनले औषधि सँगै लैजान पाइनन्।

हमासले आक्रमणको क्रममा २४० आफ्ना नागरिकहरूलाई बन्धक बनाएको इजरायली सेनाको दाबी थियो।

अहिले इजरायली सेनाको टोली गाजामा छ। उनीहरूले गाजाका अस्पताल बाहिर आफ्ना ट्याङ्कहरू राखेको तस्बिर र भिडियोहरू आइरहेका छन्।

मंसिर १, २०८० शुक्रबार ०९:२७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।