चितवनमा दुई गैँडा खागविहीन अवस्थामा मृत भेटिए

चितवनमा दुई गैँडा खागविहीन अवस्थामा मृत भेटिए

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन्।

निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण-पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन्।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन्।

दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका तिवारीले बताए।

‘छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ,’ उनले भने, ‘अर्को ठूलो गैँडाको पनि खाग छैन।’

छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडा भेटिएको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए।

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ।

बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए।

मंसिर १, २०८० शुक्रबार ०९:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।